स्याउबारीमा रमाएका सांसद
सांसद पोल्देन छोपाङ गुरुङको ७३५ रोपनी स्याउबारी मनाङ जाने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।
राजनीतिमा लागेका अधिकांश नेताको बसाइ काठमाडौंमा हुन्छ। पार्टीका ठूला नेताहरूसँगको भेटघाट, भनसुन लगायत काममा व्यस्त हुनु नेताहरूको दैनिकी जस्तै हो। तर, मनाङका निर्वाचित प्रतिनिधि सभाका सांसद पोल्देन छोपाङ गुरुङ (६१) काठमाडौंमा होइन, मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ भ्राताङस्थित स्याउबारीमा भेटिन्छन्।
प्रतिनिधि सभा सञ्चालन भएका वेला मात्र काठमाडौं पुग्छन्। नत्र भने उनी प्रायःजसो गाउँमै भेटिन्छन्। “म जनताको प्रतिनिधि हुँ। काठमाडौंमै बस्नुपर्छ भन्ने छैन। जिल्लामा बसेर जनताको काम गर्न सकिन्छ,” उनी भन्छन्, “जिल्लामा बसेर जनताको कामका साथै बचत भएको समय आफ्नै स्याउबारीको काम गरेर बिताउँछु।”
गत १ असारमा मनाङमा गएको बाढीपहिरोले धनजनको क्षति गर्यो। बाढीले सडक बगाएपछि लामो समयसम्म यातायात अवरुद्ध भयो। बाढीपछि विभिन्न ठाउँमा फसेकाहरूलाई उनले हेलिकप्टरमा पुगेर उद्धार गरे भने बाढीले सडक बगाएका ठाउँमा सडक बनाउन आफैं खटिए।
मनाङका नेकपा (एमाले) अध्यक्ष समेत रहेका उनी आफूलाई प्रतिनिधि सभाका सांसदभन्दा पनि स्याउ किसान भन्न रुचाउँछन्। यसको कारण हो, उनले मनाङको भ्राताङमा ६ वर्षअघि ७३५ रोपनी जग्गामा शुरू गरेको स्याउबारी।
सांसद गुरुङ आफ्ना बाबु पेमा छिरिङ गुरुङकै कारण गाउँमा गएर कृषिमा लागेको बताउँछन्। पेमा छिरिङ पनि पञ्चायतकालमा मनाङबाट सांसद र स्थानीय विकास सहायक मन्त्री समेत भएका थिए।
“मेरो बुबा मैले सुखदुःख गरेर तिमीहरूलाई हुर्काएँ, समाजमा एउटा व्यक्ति मात्र सम्पन्न भएर हुँदैन, तिमीहरूले आफ्नो गाउँलाई माया नमार्नू। मैले जति सकें गरें, अब तिमीहरू गाउँमा गएर केही न केही गर्नुपर्दछ भन्नुहुन्थ्यो,” उनी गाउँ फर्कनुको कारण बताउँछन्, “मैले गाउँमा बुबाले शुरू गर्नुभएकै स्याउबारीलाई व्यावसायिक रूप दिएको हुँ।”
उनका अनुसार, भ्राताङको स्याउबारी ४५ वर्षअघि पेमा छिरिङले स्थापना गरेका थिए। यो जग्गा सात गाउँको सामूहिक स्वामित्वमा छ। सात गाउँका मानिसले काम गर्ने र त्यसबाट भएको नाफा वितरण गरिन्थ्यो। सामूहिक रूपमा गरिएको कामबाट राम्रो प्रतिफल प्राप्त नभएपछि उक्त जग्गालाई भाडामा लगाउने निर्णय भयो।
६ वर्षअघि खुला प्रतिस्पर्धामा सांसद पोल्देन छोपाङ गुरुङको मनाङ एग्रो कम्पनीले वार्षिक ५७ लाख ७७ हजार भाडा तिर्ने गरी उक्त जग्गा पायो। उक्त जग्गामा अहिले लटरम्म फलेका स्याउका बोट छन्। ती बिरुवाहरू इटाली र सर्वियाबाट ल्याइएका हुन्।
वार्षिक १७ लाख किलो स्याउ उत्पादन गर्ने लक्ष्य लिएकामा यस वर्ष वार्षिक ६ लाख उत्पादन हुने अनुमान गरिएको छ। “तीन वर्षमा वार्षिक १७ लाख किलो फलाउने लक्ष्य छ। यस वर्ष १२ लाख किलो फल्नेमा आधा जति कम हुने अनुमान छ,” उनी भन्छन्।
स्याउ उत्पादन गर्न सके बजारको अभाव नरहेको उनी बताउँछन्। नेपालमा वार्षिक करीब रु.१३ अर्बको स्याउ आयात हुन्छ। त्यसकारण पनि बजारको समस्या नरहेको उनको बुझाइ छ। उनी भन्छन्, “स्याउका दाना बिक्री नहुँदा पनि समस्या हुँदैन।, जुस, वाइन लगायत अन्य उत्पादन गर्छौं।”
उनले मनाङमा उन्नत जातका बिरुवा ल्याएर स्याउ उत्पादन शुरू गरेपछि अन्य हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु लगायतमा पनि बिरुवाको माग बढेको छ।