स्थानीय तहको चुनाव ५ चैतभित्र गर्न आयोगको सुझाव
आगामी ५ चैतभित्र स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आयोगका पदाधिकारीले स्थानीय तहको चुनावका विषयमा जानकारी गराएका छन्। उनीहरूले ५ चैतभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव दिएका हुन्।
यसअघि स्थानीय तहको निर्वाचन २०७४ वैशाख, असार र असोजमा भएको थियो। तीन चरणमा चुनाव भए पनि सबैको म्याद एउटै मानिने आयोगले जनाएको छ।
त्यस अनुसार, अहिलेका स्थानीय तहका जनप्रतिनिधिको म्याद ५ जेठ २०७९ सम्म रहेको छ। निर्वाचनको नतीजा आएर आयोगले घोषणा गरेको मितिबाट पदावधि गणना हुने गर्छ।
२०७४ वैशाखमा चुनाव भए पनि त्यसको कानूनी प्रक्रिया पूरा गर्दा ५ जेठसम्म पुगेको थियो। त्यसैले आयोगले ५ जेठबाट सबै स्थानीय तहको कार्यकाल गणना गरेको हो।
कानून अनुसार, स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनुभन्दा दुई महीनाअघि चुनाव गर्नुपर्छ। यस अनुसार, आयोगका पदाधिकारीले ५ चैतसम्म चुनाव गर्नुपर्ने प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन्।