यी हुन् फागुनमा म्याद सकिने राष्ट्रिय सभाका २० सांसद
आगामी फागुनमा म्याद सकिने राष्ट्रिय सभाका २० जना सांसदको स्थानमा चुनाव गर्न निर्वाचन आयोगले तयारी थालेको छ।
आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस विषयमा पनि छलफल गरेका छन्। चार वर्षे कार्यकाल रहेका २० जना राष्ट्रिय सभाका सदस्यको आगामी २१ फागुनबाट पद रिक्त रहने भएको छ।
राष्ट्रिय सभा निर्वाचित सदस्यको ४ असार २०७५ मा गोला प्रथाबाट कार्यकाल तोकिएको थियो। जसमा २० जना सांसदको कार्यकाल चार वर्ष निर्धारण भएको थियो। उनीहरूको कार्यकालय २० फागुनसम्म मात्रै छ।
नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेपाली कांग्रेसका तीन, नेकपा (माओवादी केन्द्र)का चार र एक जना मनोनीत सांसदको कार्यकाल सकिन लागेको हो।
चार वर्षे कार्यकाल सकिन लागेका राष्ट्रिय सभा सांसदमा नेकपा (एमाले)का अगमप्रसाद बान्तावा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन्।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का उदया शर्मा पौडेल, ठगेन्द्र प्रसाद पुरी, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवरको कार्यकाल पनि चार महीनापछि सकिन लागेको हो। नेपाली कांग्रेसका दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारीको कार्यकाल पनि २१ फागुनमा सकिनेछ।
कांग्रेसका पाण्डेय १७ जेठ २०७८ मा भएको निर्वाचनमा विजयी भएका थिए। यसअघि निर्वाचित चन्द्रबहादुर खड्काको पद रिक्त भएपछि उपनिर्वाचन भएको थियो। गोला प्रथा गर्दा खड्काको कार्यकालय चार वर्ष रहेको थियो। त्यसैले पाण्डेयको कार्यकाल पनि २१ फागुनमा सकिन लागेको आयोगले जनाएको छ।
नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशिकला दाहालको कार्यकाल पनि फागुनमा सकिनेछ। यससँगै सरकारले मनोनयन गरेका रामनारायण बिडारीको कार्यकाल पनि २१ फागुनमा सकिन लागेको आयोगले जनाएको छ।