जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत अरुण नदीमा १ हजार ५५१ मेगावाटका दुई आयोजना
सरकारले अरुण नदीमा पहिचान भएको ४९०.२ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको लाइसेन्स प्राधिकरणलाई दिने निर्णय गरेको हो।
विद्युत् विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ। प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विद्युत् विभागमा गत २९ भदौमा आवेदन दिएको थियो। प्राधिकरणले आयोजनाको लाइसेन्स सोमबार प्राप्त गरेको हो।
अरुण–४ प्राधिकरणले यसअघि नै निर्माण गर्न लागेको १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा तल्लो भागमा पर्छ। अरुण–४ को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले १ हजार ५५१ मेगावाटका दुई वटा आयोजना एकसाथ अगाडि बढाउनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र अरुण–४ गरी १ हजार ५५१ मेगावाटका आयोजनाको निर्माण समानान्तर रूपमा ‘जनताको जलविद्युत् कायक्रम’ अन्तर्गत अगाडि बढाइने बताए।
“माथिल्लो अरुण र अरुण–४ आयोजनालाई उच्च प्राथमिकतामा राखी एक/डेढ वर्षभित्रमा निर्माण मोडालिटी टुङ्ग्याएर अगाडि बढाउँछौं,’ घिसिङले भने। उनले सर्वसाधारणका लागि शेयर जारी गरिने बताए।
विभागले अरुण–४ लाई नदीको बहावमा आधारित आयोजनाका रूपमा पहिचान गरेको थियो। तर, माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरुण–४ लाई पनि अर्धजलाशययुक्त बनाउन लागिएको हो।
अरुण–४ को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करीब १३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्छ। बाँधले अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङ मार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) मा लग्नेछ।
डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङ मार्फत मकालु गाउँपालिका–३ स्थित सजुवाबेसीमा भूमिगत विद्युत्गृह मार्फत विद्युत् उत्पादन गरिनेछ। विद्युत्गृहबाट विद्युत् उत्पादन गरी ४७३.४ मिटर टेलरेस सुरुङ मार्फत पानीलाई पुनः अरुण नदीमा खसालिनेछ।
आयोजना मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ। संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युत्गृह र बाँध क्षेत्र क्रमश: करीब ६२ र ७७ किलोमिटर टाढा छन्।
कोशी राजमार्ग अन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ। बाँध क्षेत्र कोशी राजमार्गमा नै पर्दछ। विद्युत्गृह क्षेत्र पुग्ने करीब २ किलोमटर ग्रामीण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ। विभागले गरेको अध्ययन अनुसार, आयोजनाको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (करीब ६५ अर्ब रुपैयाँ) छ। आयोजनाबाट वार्षिक २ अर्ब ९ करोड युनिट ऊर्जा उत्पादन हुनेछ।