आगामी चुनावबारे प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल
आगामी चुनावका विषयमा प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत आयोगका पदाधिकारीबीच छलफल भएको हो। चुनावबारे छलफल गर्न थपलिया सहित आयोग पदाधिकारी बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच आगामी निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। “आगामी चुनाव सहितका सात वटा विषयमा छलफल भएको छ,” स्रोतले हिमालखबरलाई भन्यो, “त्यसमा स्थानीय तहदेखि प्रतिनिधि सभाका चुनावका विषय छन्।”
पछिल्लो समय कांग्रेसभित्र मध्यावधि चुनावका विषयमा चर्चा हुन थालेको छ। कांग्रेसका केही नेताहरूले मध्यावधि चुनावमा जानुपर्ने बताउँदै आएका छन्।
५ कात्तिकमा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले पनि मध्यावधि चुनावका विषयमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताएका थिए। पत्रकारले सोधेको प्रश्नमा अलमलिंदै देउवाले भनेका थिए, “अब चाइने..., वैशाखमा त..., यसमा हेर्नुस् गठबन्धन सरकार छ। गठबन्धनको सल्लाह अनुसार हुन्छ, एक्लै गर्ने कुरा भएन।”
आजको भएको प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीचको भेटमा राष्ट्रिय सभाको रिक्त स्थानमा चुनाव गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
त्यस्तै, स्थानीय तह र प्रदेश सभाका पनि केही स्थान रिक्त छन्। त्यस विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।