‘बीपी कोइरालाले सोमदत्तमाथि अन्याय गर्नुभयो’
सुम्निमा बीपीका पात्रहरूमध्ये सर्वाधिक स्वाभाविक, सहज र जीवन्त छ। सुम्निमाको व्यक्तित्व एक उपलब्धि छ। सुम्निमा स्त्री-पुरुषको आदिम एवं अनिवार्य आकर्षणको उत्फुल्ल उदाहरण हो।
सामान्यतः हामी बीपी कोइराला एउटा प्रभावशाली राजनीतिक नेता र समाजवादी विचारकका रूपमा चिन्दछौं। राजनीतिक सङ्घर्षका ती दिनहरू उहाँले ज्यादातर निर्वासन र जेलमा बिताउनुपर्यो। जेलका समयमा लगातार आठ वर्षको लामो कारावासमा सुन्दरीजल जेलमा उहाँसँग फुर्सद थियो। त्यस्तो वेलामा उहाँले केही श्रेष्ठ साहित्यिक कृतिहरूको सिर्जना गर्नुभयो। त्यस्ता विधाहरूमध्ये सुम्निमाको विशेष स्थान छ।
बीपीले आफ्ना साहित्यिक कृतिहरू विशेष उपन्यासलाई आफ्नो विचार र चिन्तनको वाहन बनाउनुभएको छ। उहाँका उपन्यासहरूमा एउटा स्पष्ट दृष्टिकोणको प्रतिपादन छ। तीन घुम्तीमा नारीको जीवनको भवितव्यको व्याख्या छ।
हिटलर र यहुदी र मोदीआइनमा गीता दर्शनको विमर्श छ। उपन्यासहरूको यस हारमा नरेन्द्र दाइ मुख्यतः एक जोडी स्त्री-पुरुषको प्रेमाकूल सम्बन्धको दु:खान्तिका हो। सुम्निमा भन्ने कृति चाहिं यी चारवटैभन्दा भिन्न प्रकृतिको छ।
विचारधारामा आधारित उपन्यासहरू हत्तपत्त श्रेष्ठ हुँदैनन्। विश्वस्तरका साहित्यकारमा शेक्सपियर अथवा टाल्सटायको विचारधारा के थियो त भनेर खोज्ने हो भने उनीहरूको कृतिमा लेखकको मान्यता भने यही रहेछ भनेर औंल्याउन साह्रै गाह्रो पर्छ। लेखकले सबै पात्रसँग सहानुभूति देखाउँछन्। ती पात्रहरूको सिर्जना गर्दा तिनीहरूको नकारात्मक पक्षलाई औंल्याइएको छ। तर, नकारात्मक पात्रहरूका हकमा पनि उनीहरूको मानवीयताको सम्मान गरिएको छ।
शेक्सपियरको शायलकका प्रति पाठक र खास गरी दर्शकले सहानुभूति व्यक्त नगरी नाटक पूरा हेर्न-पढ्न सक्दैन। लिओ टाल्सटायकी अन्ना क्यारिनीना पात्र तत्कालीन समाजका मान्यताका दृष्टिकोणले चरित्रहीन मानिने खालको छ। तर, टाल्सटायले बडो संवेदनापूर्वक चित्रण गरेका छन्। पाठकले उसलाई माया मात्र गर्छ।
बीपीले आफ्ना पात्रहरूबारे यस कोटिको निसंगता पालन गर्नुभएको छैन। आफ्ना पात्र विशेषलाई विचारको वाहन बनाउने क्रममा बीपी उनीहरूको मानवीय पक्षलाई अक्सर बिर्सनुहुन्छ। तीन घुम्तीकी इन्द्रमाया वास्तविक लाग्दिनन्। नरेन्द्र दाइकी गौरी अथवा मुनरियासँग पनि पाठकले झट्ट तादात्म्य स्थापित गर्न सक्दैनन्।
सुम्निमा मुख्यतः दुई पृथक संस्कृतिको द्वन्द्वको पृष्ठभूमिमा खडा गरिएको आख्यान हो। यो धेरै पहिलेको कथा हो, वर्तमानमा हाम्रो कानमा यो वृत्तान्त पुराण जस्तो ध्वनित हुन्छ- स्वयं लेखकले भन्नुभएको छ। पुराणजन्य पात्रहरूको सृष्टिले लेखकलाई देश र कालको बन्धनबाट मुक्त गरेको छ। फलस्वरूप उपन्यासकी नायिका सुम्निमा बीपीका पात्रहरूमध्ये सर्वाधिक स्वाभाविक, सहज र जीवन्त भएको छ। सुम्निमाको व्यक्तित्व एक उपलब्धि छ। लेखकको सुम्निमा स्त्री-पुरुषको आदिम एवं अनिवार्य आकर्षणको उत्फुल्ल उदाहरण हो।
सुम्निमा उपन्यासलाई गहिरिएर केलाउँदा त्यसमा कतिपय पृथक् तर संघटित तत्त्व पाइन्छ। कथाको प्रारम्भ दुई संस्कृतिको आस्था, विश्वास, पूजापाठ र खानपिनको द्वन्द्वबाट शुरू हुन्छ। ब्राह्मण संस्कृतिका पक्षधरका निमित्त गाई माता हो, देवी हो र अवध्य हो। उता, किरात-भिल्ल भने गाईलाई वध्य र भोज्य मान्दछन्।
ब्राह्मण संस्कृति शरीरभन्दा ज्यादा आत्मालाई महत्त्व दिन्छ। शरीर त एउटा साधन मात्र हो। आत्मा भने प्राप्य र उपास्य हो। भिल्ल-किरात संस्कृति भने शरीरलाई नै आदि र अन्त्य मान्दछन् भन्ने लेखकको प्रस्थापना छ। वैदिक संस्कृति र चारवाक् दर्शनमा यस्ता तर्क–वितर्क गहन स्तरमा छन्। तर, औपन्यासिक आवश्यकताका कारणले होला, लेखकले यी दुवै संस्कृतिको परिचय दिंदा सरलीकृत तर नाटकीय वृत्तान्तबाट काम चलाउनुभएको छ।
शरीर नै आदि र अन्त्य हो भन्ने मान्यता राख्ने लोकायत दर्शनको प्राञ्जल बौद्धिक परम्परा छ। ठीक त्यस्तै वैदिक दर्शनले पनि शरीरलाई धर्मको साधन भन्दाभन्दैमा शरीरलाई दुःख दिनैपर्ने प्रवृत्तिको घोर विरोध गरेको छ। तर, कथा प्रवाहमा लेखकले यस मान्यतालाई उपयोगसम्म गर्नुभएको हो। दार्शनिक विवेचना लेखकको अभीष्ट होइन, हुनुपर्ने पनि होइन। शुद्ध उपन्यासले दार्शनिकताको बोझ बोक्न सक्दैन।
शास्त्र शुष्क हुन्छ। जीवन हरियो-भरिलो हुन्छ। सुम्निमाको पुष्टिंदै र उक्सिंदै गएको उत्फुल्ल यौवनको वर्णन मनोहारी छ। बीपीले सुम्निमाको प्रणय याचना साक्षात् र सङ्क्रामक बनाउनुभएको छ। सुम्निमा र सोमदत्तको आकर्षण-विकर्षणको चर्यामा संस्कृतको प्रसिद्ध कविता शुक-रम्भा संवादको सम्झना गरिएको छ।
सुम्निमामा साँच्चै नै शुक-रम्भा संवादको सम्झना रमाइएको छ। सुम्निमा साँच्चै नै रम्भा झैं चपल, वाचाल र मोहक छे। तर, सोमदत्तमा शुकदेवको कुनै झझल्को छैन। सोमदत्तका रूपमा बीपीले निरीह, अर्धशिक्षित तर दुराग्रही ब्राह्मण पुत्रको सिर्जना गर्नुभएको छ। लेखकले पात्र सोमदत्तसँग अन्याय गर्नुभएको छ।
तर, कथा अगाडि बढ्छ। अघिल्ला चरणहरूमा स्त्री-पुरुषको अनिवार्य र आदिम आकर्षणको हेतु प्रकट हुन्छ। सुम्निमा र सोमदत्त दुवैले आफ्नो जातीय संस्कार अनुरूप विवाह गर्छन्। गृहस्थी जमाउँछन्। दुवैको दाम्पत्य जीवनको अनुभूति विपरीत प्रकृतिको छ। दुवैको दाम्पत्यमा स्वाभाविक र सरल प्रेम छैन। सोमदत्तको जीवनमा त अत्यन्त शुष्क र दुर्वह कर्तव्यबोध बाहेक केही पनि छैन।
फलस्वरूप ऊ निराशामा बाँच्छ। निराशामा नै मर्छ। सुम्निमाको जीवनमा पनि आह्लाद त छैन जस्तो छ। तर, उसले आफ्नो कर्तव्य सम्पादन गरेको सन्तोष प्राप्त गर्छे। उपन्यासले यस चरणमा आएर प्रेम र गृहस्थीको विविध स्वरूप र सम्भावनाका तर्फ सङ्केतसम्म गरेको छ।
सामान्यतः उपन्यासहरू उपसंहार भन्नका लागि अन्तिम अध्याय रोज्दछन्। बीपीले आफूले सोच्न र सोध्न खोजेको कुरा दोस्रो अध्यायमा उठाउनुभएको छ। मात्र दुई पृष्ठको दोस्रो अध्याय यस उपन्यासको सर्वाधिक महत्त्वपूर्ण प्रश्नैप्रश्नले भरिएको छ। ती प्रश्नहरू नै यस उपन्यासका गुदी हुन्। अन्तिम अध्यायमा सोमदत्तको छोरा र सुम्निमाको छोरीले गान्धर्व विवाह गर्छन्। थोरै शब्दमा भन्दा प्रकृति र संस्कृतिको अनवरत द्वन्द्वमा एउटा नौलो संस्कृतिको जन्म हुन्छ।
बीपीले आजीवन समाजवादको स्वरूप र सन्देशका उपर चिन्तन मनन गर्नुभयो। तर, समाजवादबारे कुनै स्वतन्त्र पुस्तक लेख्नुभएको भेटिंदैन। भ्याउनुभएन भन्न मिल्दैन। जेलका आठ वर्षमा यस्ता सुन्दर उपन्यास लेख्न भ्याउँदा उहाँले समाजवादबारे नलेख्ने कुरा थिएन। किन लेख्नुभएन? के भन्न चाहनुहुन्थ्यो? के लेख्नुपर्ने थियो भन्ने कुराको अध्ययन एउटा अलग विषय छ।
तर, उहाँका उपन्यासहरूले यस अभावको पूर्ति गरेका छन्। प्रस्तुत पुस्तकका अनुवादक वृषेशचन्द्र लाल स्वयं एक कर्मठ राजनीतिज्ञ हुनुहुन्छ। अहिले उहाँ नेपाली कांग्रेसभन्दा बाहिर रहेर क्रियाशील हुनुहुन्छ। तर, बीपी विचारबाट कहिल्यै विमुख हुनुहुन्न। यो सुन्दर अनुवाद त्यसको एउटा सबूत हो।
स्त्री र पुरुषको सम्बन्धबाट परिवारको सूत्रपात हुन्छ र परिवारहरू मिलेर समाज बनाउँछन्। व्यक्ति, समाज र परिवारको अन्तर्सम्बन्ध मानव इतिहासको अझै नफुकेको ग्रन्थि हो।
पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण भएको दिनदेखि सानो समूह, जाति र वर्ग विशेषले राज्यको प्रत्येक अङ्ग र उपाङ्गमाथि अड्डा जमाएर बसेको छ। अनुहार फेरिएका छन्, तर राज्य प्रणालीको अन्तरप्रणाली उस्तै छ। संघीय राज्यको घोषणा भइसक्दा पनि शासक समूहले जुक्ति-शक्ति र भक्तिको भरमा सरकार चलाएको छ। नेपाल भनेको के हो? र, कसको हो भन्ने प्रश्न वेलाबखतमा उठिरहन्छन्।
हाम्रा पुर्खाले सानो दुःखले आर्जेको मुलुक होइन भन्ने भावना अझै विद्यमान छ। यस्ता भावनाको निरन्तरताको सांस्कृतिक र समाजशास्त्रीय विश्लेषण हुन बाँकी नै छ।
त्यस्तै व्यक्ति को हो? परिवार के हो? समाज के हो भन्ने प्रसङ्ग पनि आउँछ। स्त्री र पुरुषको सम्बन्धबाट परिवारको सूत्रपात हुन्छ र परिवारहरू मिलेर समाज बनाउँछन्। व्यक्ति, समाज र परिवारको अन्तर्सम्बन्ध मानव इतिहासको अझै नफुकेको ग्रन्थि हो। बीसौं शताब्दीदेखि यता आएर अहिले राष्ट्रिय-राज्य भनिने सर्वाधिक शक्तिशाली संस्था र केन्द्रको निर्माण गरेको छ।
अहिले नेपाल पनि अरू सबै कुरा बिर्सिएर राष्ट्र र राज्य जनजीवनका मुख्य एकाइ भएको छ। राष्ट्रका परिभाषाका हकमा जातीयताको कुरा पनि यत्रतत्र संसारभरि उठिरहन्छ। उपन्यासको आखिरी पानामा बीपी लेख्नुहुन्छ, ‘किरातीहरूको जातिको रक्तको महासमुद्रमा एउटा थोपाको कुनै अस्तित्व रहेन। कोशीको अबाध गति प्रकृतिको विराट् शान्तिलाई चिर्दै बगिरह्यो।’
~~~ ~~~ ~~~
राजा महेन्द्रले कुनै समय टोपी र दौरा-सुरुवाललाई राष्ट्रियताको अनिवार्य प्रतीकका रूपमा लिएका थिए। अझै एक कदम अगाडि बढेर राष्ट्रियताको परिभाषा गर्ने क्रममा उनले 'एक राजा एक देश, एक भाषा एक भेष' भन्ने नारा लगाए। यो नारा अब रहेन। तर, नाराले प्रतिपादन गरेको राष्ट्रियताको विकल्प अझै बनेको छैन। राष्ट्रियताको वैकल्पिक भाष्य आजको हाम्रो ऐतिहासिक कार्यभार भएको छ।
बीपीले लेख्नुभएका प्रत्येक उपन्यासमा साहित्यिक पारामा तर बडो सशक्त ढङ्गले राष्ट्रिय मनको परिचय दिनुभएको छ। काठमाडौंकी इन्द्रमाया, दरभङ्गाकी मोदीआइन, वराहक्षेत्रकी सुम्निमा र टेढी (भागलपुर)की मुनरिया र फगुनी सबै हेक्का राख्नुपर्ने खालका पात्र छन्। मधेशी मूलका एक राजनीतिज्ञले मैथिली भाषामा अनुवाद गर्ने क्रममा सुम्निमाको छनोट गर्नु बडो अर्थपूर्ण छ। यसका लागि वृषेशजीलाई म अतिरिक्त धन्यवाद दिन चाहन्छु।
~~~ ~~~ ~~~
आत्मनिर्भर अर्थतन्त्र नभएको कुनै पनि राष्ट्र बलियो हुन सक्दैन। एकातिर, लाखौं तरुण पाखुरा विदेशिएका छन्। अर्कातिर, हामी दैनिक उपभोग्य सामग्रीका निमित्त पनि विदेशीसँग निर्भर छौं। निर्यातका निमित्त हामीसँग मानव श्रम बाहेक केही छैन जस्तो देखिन्छ।
राष्ट्रियताका प्रखर व्याख्याता राजा महेन्द्रको शरीरमा मिथिली रगतको थोपा पनि मिसिएको थियो, सुम्निमाको उपसंहारमा किराती र बाहुनको रगत मिसिएको जस्तै। तर, पञ्चायतको सिङ्गो कार्यकालमा मिथिला वा किरात संस्कृतिले कहिल्यै सम्मान पाएन।
एकीकरण भएर स्वाधीन राष्ट्रिय राज्य भएको अढाई सय वर्षको इतिहास हाम्रो गौरवगाथा छ। खुँडा र खुकुरीका भरमा कुनै समय हामीले विश्व विजयी कहलिंदै गएका अंग्रेजलाई आच्छुआच्छु पारेका थियौं। लगत्तै पछि हामी झन् झन् कमजोर भएको मानचित्र छ। ऐतिहासिक विकासको क्रममा एउटा वंश विशेषलाई राज्य र सरकार बुझाएपछि हामी ओरालो लाग्यौं।
राष्ट्रियताका प्रखर व्याख्याता राजा महेन्द्रको शरीरमा मिथिली रगतको थोपा पनि मिसिएको थियो, सुम्निमाको उपसंहारमा किराती र बाहुनको रगत मिसिएको जस्तै। तर, पञ्चायतको सिङ्गो कार्यकालमा मिथिला वा किरात संस्कृतिले कहिल्यै सम्मान पाएन। यस्तोमा राष्ट्रियता सबल हुँदैन।
मिथिला संस्कृति र भाषाको मौलिकता र महानता आजको हिन्दुस्तानमा पनि उपेक्षित छ। होइन भने मध्ययुगमा मिथिला भन्नु विद्याको पर्याय थियो। मिथिलाको पाण्डित्य परम्परामा मण्डन मिश्र, वाचस्पति मिश्र, उभया भारती र विद्यापतिको नाम नै त्यस परम्पराको गौरब बोध गराउन काफी छ। विद्यापतिको सर्वाधिक प्राचीन हस्तलिखित ग्रन्थ काठमाडौंमा भेटिएको हो। तर, शाहवंशको उदयसँगसँगै मिथिलाको संस्कृति, साहित्य र राजनीतिक प्रभाव ह्रास हुँदै गयो। नेपालको दोस्रो जनआन्दोलनसम्म पनि ह्रासको यो रफ्तार जारी थियो।
दोस्रो जनआन्दोलनको अभिक्रममा मधेशले हस्तक्षेप गरेपछि मुलुकको वातावरणमा केही परिवर्तन आएको छ। स्थिति अझै सन्तोषजनक छैन। राष्ट्रिय विमर्शका थुप्रा पाता अझै अलिखित छन्। यस्तो वेलामा साहित्यका माध्यमबाट राष्ट्रिय र सांस्कृतिक ऐक्यबद्धतालाई मलजल गर्नु एउटा महत्त्वपूर्ण कार्यभार हो। सुम्निमाको मैथिलीमा सुन्दर अनुवाद गरेर वृषेशचन्द्र लालले आफ्नो मातृभाषा र आफ्ना प्रेरणाका स्रोत जननेता बीपी कोइराला प्रतिको ऋणमोचन गर्नुभएको छ।
एउटा साहित्यिक विधाका रूपमा अनुवाद आफैंमा बढी चर्चाको विषय रहेको छैन। तर, यो ठीक होइन। यो कदापि ठीक होइन। कतिपय दृष्टिले अनुवाद मौलिक लेखनभन्दा पनि सिर्जनात्मक कार्य हुन्छ।
अनुवाद साहित्यकको इतिहासमा उपर खय्यामको रुवाइयत भन्ने कविता विश्वप्रसिद्ध कृति अवश्य हो। तर, यसका अनुवादक एड्वर्ड फिट्जेराल्डका कारणले मात्र यो विश्वप्रसिद्ध हुन सक्यो।
ठीक त्यस्तै अनुवादकले मूल कृतिको मर्म बुझ्नुपर्छ। सँगसँगै आफूले अनुवाद गर्न खोजेको भाषाको सौष्ठव र सौन्दर्यलाई आत्मसात् गरेको हुनुपर्छ। वृषेशजीले प्रस्तुत अनुवादमा आफ्ना यी दुवै योग्यता देखाउनुभएको छ।
एकातिर, उहाँले बीपी कोइरालाको मर्म बुझ्नुभएको छ। अर्कातिर, मैथिली भाषा यसै पनि उहाँले आमाको काखमै सिक्नुभएको हो। यो अनुवाद सर्वथा निर्दोष छ।
सानो भूमिका लेख्दा यस्तो गन्थन गर्नु कदाचित् सभ्य होइन। तर, एक त बीपी कोइरालाको रचना, दोस्रो वृषेशजीले गर्नुभएको हुँदा मैले थाम्न सकेको छुइनँ। अनुवादबारे कुरा गर्दा उदाहरण नदिई रहन सकिंदैन। कनक बदनी बालिकेले सोमदत्तलाई पतर सुट्ट भन्ने सुन्दर मधेशी शब्द प्रयोग गर्छिन्। आफ्नो अन्योललाई दुर्जो बताउँदिन। महिलाका निमित्त मौगी भन्दा सुन्दर शब्द के हुने? घोघाउच, असगरे, चकुवाइत, भोकासी पाडैत कनैत आदि इत्यादि।
वृषेशजीले यो अनुवाद गर्नुभएकोमा धन्यवाद। र, धन्यवाद मात्र भनेर पुगेन, बधाई समेत लिनुहोस्। शतायु हुनुहोस्। र, वर्षको एउटा थप अनुवाद गर्दा पनि अरू ३० थान नेपाली, हिन्दी र अंग्रेजीका उपन्यास मैथिलीमा अनुवाद गर्नुहोस्।
(बीपी कोइरालाको उपन्यास सुम्निमाको वृषेशचन्द्र लालले मैथिलीमा अनुवाद गरेका छन्। सुम्निमाको मैथिली संस्करणमा गिरिले लेखेको भूमिका।)