एमालेका युवा वडाध्यक्ष भन्छन्- समाजसेवा गर्न राजनीतिमा आयौं
नेकपा (एमाले)को भर्खरै सम्पन्न वडा अधिवेशनबाट नेतृत्वमा आएका खोटाङका युवा समाजसेवा गर्न राजनीतिमा लागेको बताउँछन्।
२५ वर्षीया तारमिला राई एमालेको हलेसी तुवाचुङ नगरपालिका-३ का वडाध्यक्ष बनेकी छन्। चार वर्षअघि वडा सदस्य भएर एमालेमा सक्रिय उनी यस पटक सर्वसम्मत वडाध्यक्ष बनेकी हुन्।
बन्द सत्रमा नेतृत्वका लागि व्यापक छलफल भए पनि उनको नाममा सर्वसम्मति जुटेको युवा संघ खोटाङका अध्यक्ष रसकुमार राई बताउँछन्। उनको नाम प्रस्ताव हुँदा सबैले ताली बजाएर स्वागत गरेको रसकुमारले बताए।
वडास्तरका पुरुष नेता तथा कार्यकर्ताले पनि उदारता देखाए। सो वडा अधिवेशनले जिल्लामै महिलालाई नेतृत्वमा अघि मात्र सारेन, ३१ सदस्यीय वडा कमिटीमा सबै महिला नै महिला राख्न सहमति जुटाएको छ।
नवनिर्वाचित वडाध्यक्ष राईको क्षमतामा सबैको विश्वास रहेको नेताहरू बताउँछन्। “जिल्लाभरि हाम्रो वडामा मात्रै महिला नेतृत्वमा आउनुभएको छ,” युवा संघ अध्यक्ष रसकुमारले भने, “महिलाको क्षमतामा विश्वास गर्नुपर्छ भन्ने उदाहरण दिएका छौं।”
वडा कमिटी उपाध्यक्षमा कमलकुमारी राई, सचिवमा सम्झना राई, उपसचिवमा अस्मिता राई र प्रेमकुमारी विक चयन भएका छन्। वडामा पार्टीलाई मजबूत बनाएर पहिलो पार्टी बनाउन बल गर्ने तारमिलाको भनाइ छ। “समाजसेवा गर्न राजनीतिमा आएकी हुँ,” उनले भनिन्।
त्यस्तै, जन्तेढुंगा गाउँपालिका-२ वडा कमिटी अध्यक्षमा २४ वर्षीय रामकुमार राई चयन भएका छन्। उनी वडा कमिटीमा अरूलाई सघाउने सोच बनाएर अधिवेशनमा सहभागी भएका थिए।
बन्द सत्रमा ‘के गर्ने, कसो गर्ने’ भनेर छलफल चल्ने क्रममा उनलाई नै वडा कमिटीको अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मतिले निर्णय भयो।
उनी डेढ वर्षदेखि टोल कमिटीको सचिव थिए। “कृषिकर्ममा थिएँ। वडा कमिटी अध्यक्ष बन्छु भन्ने सोचेको थिइनँ,” उनले भने, “अरूलाई सहयोग गर्छु भन्ने सोचमा थिएँ। सबैले नेतृत्व सम्हाल्न आग्रह गरेपछि नकार्न सकिनँ।”
पार्टीलाई वडामा मजबूत बनाउने योजना बनाएको उनले सुनाए। “पार्टीमा बसेर सेवा गर्ने अवसर मिलेको छ। गाउँ र समाजलाई सकारात्मक बाटोमा डोर्याउने सोच छ,” उनले भने।
जन्तेढुंगा गाउँपालिका-६ को वडा कमिटी अध्यक्षमा पनि युवा नै आएका छन्। वडा कमिटीको नेतृत्व पाएका प्रदीप राई ३१ वर्षका छन्।
त्यस्तै, जन्तेढुंगा गाउँपालिका-३ को वडा कमिटी अध्यक्षमा ३२ वर्षीय दिलीप राई चयन भएका छन्। अन्य वडामा पनि युवाको बाहुल्य रहेको युवा संघ अध्यक्ष राईले बताए।
रावाबेंसी गाउँपालिका-५ को वडा कमिटी अध्यक्ष चयन भएका छत्रबहादुर मगर समाजसेवा गर्न राजनीतिमा लागेको बताउँछन्। यसअघि वैदेशिक रोजगारीमा रहेका ३९ वर्षीय मगर वडा कमिटी अध्यक्ष भएकोमा खुशी छन्।
झण्डै एक दशक विदेशमा बिताएका उनी गाउँमै केही गरौं भनेर घर फर्किएको बताउँछन्। अब राजनीतिबाट समाजसेवा गर्ने उनको भनाइ छ। “जनता र समाजका लागि केही गर्छु भनेर राजनीतिमा लागेको छु,” मगरले भने।
६ कात्तिकमा सम्पन्न एमालेको वडा अधिवेशनले अधिकांश ठाउँमा युवालाई नेतृत्वमा लिएको छ। आज देशभर स्थानीय तहको अधिवेशन हुँदै छ। बाढी र पहिरोले प्रभावित क्षेत्रमा भने अर्को साता अधिवेशन हुने भएको छ।