यस्तो छ प्रथम विश्वयुद्धका गोर्खा सैनिकको आत्मकथा
बेलायतको तर्फबाट प्रथम विश्वयुद्ध लड्ने क्रममा जर्मनीले बन्धक बनाएकामध्ये दुई गोर्खा सैनिकका स्वराङ्कनमा आत्मकथाको स्वाद भेटिन्छ।
आत्मकथा नेपाली साहित्यको इतिहासमा आधुनिक कालमा झाङ्गिएको नयाँ विधा हो। आत्मपरक लेखन साहित्यिक महत्त्वको मात्र नभई यसले सम्बन्धित व्यक्तिका साथै उसले बाँचेको समय, समाज, संस्कृति, राजनीति, परम्परा र परिवेश आदि विविध कुरा बताउँछ। त्यसैले आत्मकथाहरूको महत्त्व साहित्यमा मात्र नभएर यो समाजशास्त्र, राजनीतिशास्त्र, इतिहास, मानवशास्त्र, लैङ्गिक अध्ययन आदि अन्य क्षेत्रहरूका लागि पनि उपयोगी हुनसक्छ।
नेपालमा आत्मपरक लेखनको इतिहास पल्टाउँदै जाँदा पृथ्वीनारायण शाहको दिव्योपदेशसम्म पुगिन्छ। वास्तवमा यसको रचना लेख्नका लागि भएको होइन, ती भनाइ महत्त्वपूर्ण तथा उपयोगी ठानिएर वा अन्य कुनै कारणले प्रथम पुरुषमा लिपिबद्ध गरिएका हुन्। त्यसपछिका क्रममा चिरञ्जीवी शर्मा पौड्यालको आफ्नू कथा र काशीनाथ आचार्य दीक्षितको भएका कुरा आदि जोडिन्छन्।
नेपाली आत्मकथाको खोजी गर्दै जाँदा दैनिकी वा यात्रा वृत्तान्त लेखनको खेवरासम्म पनि पुगिन्छ। तिनताका दैनिकीलाई रोजनाम्चा भनिन्थ्यो भने अहिले दिनपञ्जी, डायरी वा दैनन्दिनी पनि भनिन्छ। नेपालमा दैनिकी लेखनको परम्परा कसरी र कहिले शुरू भएको हो, किटेर भन्न गाह्रो छ।
नेपाली आत्मकथाको खोजी गर्दै जाँदा दैनिकी वा यात्रा वृत्तान्त लेखनको खेवरासम्म पनि पुगिन्छ। तिनताका दैनिकीलाई रोजनाम्चा भनिन्थ्यो भने अहिले दिनपञ्जी, डायरी वा दैनन्दिनी पनि भनिन्छ।
उपलब्ध सबैभन्दा पुरानो उदाहरण जङ्गबहादुरको बेलाइत यात्रा हो। बत्तीससालको रोजनाम्चा पनि जङ्गबहादुरकै तराईको शिकार यात्राको विवरण हो। त्यसको केही वर्षपछि चन्द्रशमशेरले दरबार हाई स्कूलका शिक्षक बटुकृष्ण मैत्रेयलाई आफ्नो यात्रा टोलीमा सामेल गरी दैनन्दिनी लेख्नकै लागि बेलायत लगेका थिए। मैत्रेयले अङ्ग्रेजी भाषामा त्यो यात्रा वृत्तान्त लेखे।
यी विवरणले राणा र शाह दरबारमा र त्यससँग सम्बद्ध व्यक्तिहरूले यस प्रकारको लेखनको अभ्यास गरेको देखाउँछन्। राणा प्रधानमन्त्रीहरूले दैनिकी लेख्न कर्मचारीहरू नै नियुक्त गरे। काशीनाथ आचार्य दीक्षितका छोरा राममणि आचार्य दीक्षितलाई राजा पृथ्वी वीरविक्रम शाहको दैनन्दिनी लेख्न नारायणहिटी दरबारको ढुकुटी अड्डामा नियुक्त गरिएको थियो।
त्यसै वेलादेखि राममणि आफैंले पनि डायरी लेख्न थाले। तिनै डायरीको आधारमा उनका आत्मकथा पुरानो सम्झना र प्राचीन संस्मरण छापिएका हुन्। त्यस्तै, पण्डित हेमराज शर्माले लेखेका डायरीहरू पनि उपलब्ध छन्। यसरी शिक्षित वर्गका बीच भर्खरै मौलाएको आत्मपरक लेखन विसंको बीसौं शताब्दीसम्म पनि जनसाधारणमाझ पुगिसकेको थिएन।
हामीलाई थाहा भएकै कुरा हो, गोर्खा सैनिकहरू प्रथम विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडेर वा अन्य किसिमबाट सहयोग गर्न विविध देश वा स्थानमा पुग्ने क्रममा यूरोप पनि पुगेका थिए। सन् १९१५ मा जर्मनीले बेलायतका लागि लडिरहेको अवस्थामा धेरै सैनिकलाई आफ्नो देशमा युद्ध बन्धक बनाएर राखेको थियो। त्यसै बखत संसारका भाषाहरूको भाषिक नमूना सङ्कलन गर्ने उद्देश्यले बर्लिनमा ‘रोयल प्रसन फोनेटिक कमिशन’ स्थापना भयो।
कमिशनले विभिन्न देशका युद्धबन्दीहरूको स्वर सङ्कलन गर्यो। बर्लिनदेखि ४० किलोमिटर टाढा वुन्सडोर्फको हालबमोन्ड लागर (अर्धचन्द्र शिविर), जसलाई इन्डरलागर (भारतीय शिविर) पनि भनिन्थ्यो, त्यहीं गोर्खाली सैनिकहरूको स्वर सङ्कलन गरियो।
गोर्खा सैनिकका ती स्वर अभिलेखमा नेपाली भाषाका दुई वटा स्वराङ्कनलाई आत्मपरक लेखनको दर्जा दिन सकिन्छ। यी दुवै सैनिकले आफ्नो ठेगाना तत्कालीन प्रशासनिक विभाजन अनुसार पाल्पा तहसील अन्तर्गतका दुई जिल्लाहरू मुसीकोट र गलकोट लेखाएका छन्। पर्सी गाउँ गलकोटका ३५ वर्षीय मानवीर पुन र रीघा गाउँ मुसीकोटका ३६ वर्षीय रतनबहादुर थापाले आफ्नै अनुभव र जीवनका कुरालाई तृतीय पुरुषमा रेकर्ड गराएका छन्।
उनीहरूले आफ्नो कथा प्रथम पुरुषमा किन नभनेका होलान्? यसका दुई कारण हुनसक्छन्। पहिलो, उनीहरूले जर्मन अधिकारीहरूद्वारा स्वीकार नगरिने सम्भावना देखेर प्रथम पुरुषमा यो कुरा भनेनन्। दोस्रो, प्रथम पुरुषमा आत्मपरक लेखनको अभ्यास नेपाली समाजमा अझै थालिएको थिएन।
यी दुवै अवस्था बुझेर ती दुई लेखोट तृतीय पुरुषमै भए पनि आत्मकथाको प्रारम्भिक दस्तावेजका रूपमा स्वीकार गर्न सक्छौं। सन् १९१६ मा आफ्नै बारेमा तृतीय पुरुषमा रचना गरेर ती गोर्खा सैनिकले आत्मकथा लेखनको इतिहासमा एउटा खुड्किलो थपेका छन्। माध्यमिक कालमा जरो गाडिएर आधुनिक कालमा आएर विकसित भएको नेपाली गद्य र त्यसका विविध विधाको सूचीमा गोर्खा सैनिकका यी दुई रचनाले नेपाली आत्मकथाको इतिहासमा थप दुई उदाहरण पस्केका छन्।
मानवीर र रतनबहादुर दुवैका तृतीय पुरुषका लेखोट र स्वराङ्कन उनीहरूका आफ्नै र गृहनगरबारे भएको हुँदा तिनलाई हामी आत्मकथाको कोटीमा राख्न सक्छौं। मानवीरले आफू र आफ्नो बालसखा मनिरत्नको प्रेमको र जन्मभूमिको मायामा भावविभोर हुँदै आफ्नो गाउँको प्राकृतिक छटाको बयान गरेका छन्। उनको गाउँको यो वर्णन एउटा कल्पनाशील कुशल लेखक र राष्ट्रप्रेमीले गरेको वर्णन जस्तो लाग्छ। जर्मनीमा कैदी जीवन बिताएका वेला गृहातुरताले पिरोलिएर मानवीरले यस्तो भाव पोखेको हुनसक्ने अनुमान हामी गर्न सक्छौं। उनले गरेको बयान यस्तो छः
नाना किसिमको जडीबूटी (जन्तु) भयाको छन्। बरफ पनि बहुतै पर्छ। किसिम किसिमको फलफूल। किसिमको वृक्ष। कई देश देशको गाउँ गाउँबाट तपसी आई ध्यान गर्न आउँछन्। आफैं स्वामी बसेको हुनाले मन्दिर पनि भयाको शिला पनि भयाको सबै किसिमको फालफूल भयाको छन्।
जन्तुहरू पनि कस्तूरा, थार पनि हरिन पनि बन्याल पनि घोरल पनि यति पाँच जन्तु छन्। बाघ पनि भालू पनि आफै राम लछिमनको कुकुर, ब्वाँसो पनि छ। पन्छीमध्ये पनि डाँफे र मुनाल र परेवा, कालिज, फकराज, पाँच पन्छी भयाको किसिम किसिमका चरा पनि भयाको। फलफूल किसिम किसिमको रूख बिरुवा पनि किसिम किसिमका भयाको हुनाले चरा चुरुङ्गी पनि किसिम किसिमको भाका फेरी कराउने।
पूरब हेर्दा हाम्रो नेपालको लेक देख्ने, बर्भाङको उकालो देख्छ। दख्खिनतिर हेर्दामा मदेस देखिने। पच्छिमतिर हेर्दा प्यूठान खलङ्गा भेरी कर्णाली नया मुलुक देखिने। उत्तर हेर्दामा हिमाल धौलागिरि देखिने। आफै महादेव बसेको महाभारत हिमालपर्वत देखिने। ...आफै स्वामी परमात्मा बसेको हुनाले फलफूलले भरिभराई भयाको जीवजन्तु पनि भरिभराइ भयाको यस्ता रकमको कैलासै कहे पनि नाई।
त्यस्तै, रतनबहादुर थापाले पनि आफ्नो र गाउँको बालसखा पहले साहिंलाको मित्रता र तरुनीहरूसँगको प्रेममा अलमलिएर भैंसी हराएकाले बाबुको डरले परदेश लागेको कथा लेखेका छन्। रतनबहादुरको रचना आशावादी छ। बन्दी शिविरमा बसेका उनी नेपाल फर्कने, छोराको पुरुषार्थ देख्ने आशामा छन्। उनले आफूले धर्म गरेको र त्यसको फल मिल्ने कुरा गरेका छन्। युद्धमा इमानदार भएर लडेको र विगतमा पनि कुनै गल्ती नगरेको हुँदा घर फर्कन पाउने उनको विश्वास छ।
यथार्थ जीवनमा पनि रतनबहादुरको उमेर ३६ वर्ष भएको हुँदा उनको विवाह भएको र छोरो पनि जन्मिसकेको हुनसक्छ, जसको नाम उनले रुमबहादुर राखेका छन्। रतनबहादुरले आत्मकथामा भैंसी हराएपछि घरमा बाबुको डरका कारण मिल्ने साथी विदेशिएको हुँदा आफू पनि विदेश गएर सेनामा भर्ती भएको बताएका छन्ः
रतनबहादुर थापाले पनि आफ्नो र गाउँको बालसखा पहले साहिंलाको मित्रता र तरुनीहरूसँगको प्रेममा अलमलिएर भैंसी हराएकाले बाबुको डरले परदेश लागेको कथा लेखेका छन्। रतनबहादुरको रचना आशावादी छ।
सहिला पो आफ्ना भैंसीसँग गई भैंसी गन्ती गर्दा भैंसी छैन नदीले बगाई मारिदिएछ। भैंसी मारिदियो नदीले बाबाले मार्छन् भने। पहले साहिला बिदेस गयो। मेरा दोस्त बिदेस गयो भनी १०-१५ दिनपीछे रतनबहादुर साहिला पनि बिदेस गयो। दोस्त, तरुनीहरू सब मानिस भारी अपसोचमा छन्। पहिले साहिला पछिम दिशा गएछ। रनबहादुर साहिँला त दूर बिदेस गएछ।
पछि दुवैजना घरमा गया। पहले साहिलाले बिहा गरेको दस दिनमा मर्यो। संसारले अपसोस गरे। रतनबहादुर साहिला घरमा गई विवाह गरी बसेछ। जेठो छोरा रुमबहादुर भन्ने पैदा भएछ। ... धरम गरे धरमको फल मिल्छ बिचार गरी गर।
मानवीरको रचना उनकै स्वरमा स्वराङ्कन गरिएको छ। त्यो स्वराङ्कन हामी जर्मनीको बर्लिनस्थित हुम्बोल्ट विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा सुन्न सक्छौं। तर, रतनबहादुरको रचना स्वराङ्कन गरिएको छैन। यसको हस्तलिखित प्रतिलिपि बर्लिनमा रहेको बरान्डेनबुर्गिशे एकेडेमी डेर विशेनशाफ्टेनको सङ्ग्रहालयमा हाइनरिख ल्यूडर्सको सङ्ग्रहमा फेला परेको छ।
अलि बढी आत्मकथनको स्वाद आएर हो वा किन हो, जर्मन विद्वान् वा अधिकारीले यसलाई महत्त्वपूर्ण ठानेनन् र यसको स्वराङ्कन गरिएन। तर, नेपाली साहित्य वा नेपालकै इतिहासका लागि यो सानो रचना अति महत्त्वको सङ्ग्रहणीय र पठनीय दस्तावेज हो।
(यो आलेख नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित लेखककै कृति गोर्खाली युद्धबन्दीका लोकभाका र कथा (२०७७) मा
आधारित छ।)