जैविक विविधता: नेपालको अर्काे सौम्य शक्ति
विविध भूबनोट, दुर्लभ जीव र वनस्पति प्रजाति रहेको नेपालको जैविक विविधताले विश्वकै निम्ति महत्त्वपूर्ण सम्पदाको आकर्षण बोकेको छ।
जैविक विविधता देश विशेषको भौगोलिक बनावट र क्षेत्रफलका आधारमा घटी वा बढी हुन्छ। क्षेत्रफलका आधारमा विश्वको पाँचौं ठूलो देश ब्राजिल जैविक विविधतामा सबैभन्दा अग्रस्थानमा छ।
ब्राजिलले जैविक विविधतालाई आफ्नो महत्त्वपूर्ण ‘सफ्ट पावर’ (सौम्य शक्ति)को स्रोत मान्न थालेको छ। विभिन्न आधारमा जैविक विविधता नेपालको पनि सौम्य शक्ति हो। फूल फुल्ने वनस्पति प्रजातिका हिसाबले नेपाल विश्वमै २५औं स्थानमा छ भने समग्र जैविक विविधतामा ४८औं स्थानमा छ। क्षेत्रफलका हिसाबमा ब्राजिलभन्दा नेपाल ५७.८५ गुणा सानो देश हो, तर प्रति वर्ग किलोमिटर क्षेत्रफलका आधारमा नेपालमा त्यहाँभन्दा जैविक विविधता बढी छ।
त्यति हुँदाहुँदै ब्राजिलले जैविक विविधताबाट विश्वभर आफ्नो परिचय गराइरहँदा नेपालले यो सौम्य शक्तिबाट चिनारी बनाउन र लाभ लिन सकेको छैन। यस्तै, छिमेकका दुई ठूला देश हुँदाहुँदै भौगोलिक क्षेत्रफल अनुसार चीन र भारतमा भन्दा पनि बढी जैविक विविधता नेपालमा पाइन्छ। यस आलेखमा जैविक विविधता र विशिष्ट भूगोल नेपालको महत्त्वपूर्ण सौम्य शक्ति कसरी हो भन्नेबारे चर्चा गरिएको छ।
नेपालको भौगोलिक सतह समुद्री सतहबाट ५७ मिटर (मुसहरनिया, धनुषा) देखि सगरमाथाको चुचुरो ८८४८.८६ मिटरसम्म छ। यस हिसाबले संसारमै सबैभन्दा बढी भौगोलिक विविधता भएको देश नेपाल हो।
पृथक् नेपाल
जैविक विविधता र भौगोलिक विशिष्टताका हिसाबले नेपालको अलग्गै पहिचान छ। नेपालमा हालसम्म वनस्पतिका करीब १२ हजार प्रजाति सूचीकृत भइसकेका छन्। यस्तै, पक्षी ८९१, माछा २३०, स्तनधारी २१८ र सरिसृपका ११७ प्रजाति सूचीकृत छन्।
विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमै छन्। हिमाली भेगमा पनि जैविक विविधता पाइन्छ। तर, यसबारे धेरै अध्ययन भएको छैन। सन् २०१८ मा अल्पाइन बोटानी जर्नलमा प्रकाशित सेड्रिक डेन्टन्ट लिखित ‘द हाइएस्ट भास्कुलर प्लान्टस् अन अर्थ’ लेखमा सगरमाथा र तिब्बतमा ६ हजार ४०० मिटर उचाइमा फूल फुल्ने वनस्पतिको एक प्रजाति सौसुरिया नाफालोड्स पाइएको उल्लेख छ। सोही लेखमा सगरमाथाको ८,४०० मिटर उचाइमा ब्याक्टेरियाको जिओडरमाटोफिलस् अब्सकुरस् उप-प्रजाति एभरेष्टी सहित अन्य ब्याक्टेरिया प्रजाति फेला परेको जानकारी छ। यसले विश्वमै सर्वोच्च क्षेत्रमा जैविक विविधता नेपालमा पाइएको पुष्टि गर्छ।
नेपालको भौगोलिक सतह समुद्री सतहबाट ५७ मिटर (मुसहरनिया, धनुषा) देखि सगरमाथाको चुचुरो ८८४८.८६ मिटरसम्म छ। यस हिसाबले संसारमै सबैभन्दा बढी भौगोलिक विविधता भएको देश नेपाल हो।
पृथ्वीको इतिहासले भन्छ, नेपालको हालको भूगोल पहिले यो ठाउँमा थिएन र स्वरूप पनि भिन्न थियो। करीब आठ/नौ करोड वर्ष पहिले नेपाल सहित दक्षिणएशिया मध्य अफ्रिकाको पूर्वतर्फ रहेको सङ्केत पाइन्छ। त्यस वेला दक्षिणएशिया सहित अस्ट्रेलिया, अन्टार्टिका र दक्षिण अमेरिका नजिक थिए। उसवेला नेपाल भूमिमा अहिलेका जस्ता हिमाल, पहाड थिएन। त्यहाँबाट अहिलेको अवस्थामा कहिले र कसरी आइपुग्यो, हिमाल र पहाड कसरी बने भन्ने कुरा ‘कन्टिनेन्टल ड्रिफ्ट हाइपोथेसिस्’ र ‘द थ्यौरी अफ प्लेट टेक्टोनिक्स्’ बाट स्पष्ट हुन्छ।
‘द थ्यौरी अफ प्लेट टेक्टोनिक्स्’ अनुसार, पृथ्वीको माथिल्लो सतह (क्रस्ट) करीब ५० देखि १०० किलोमिटर बाक्लो छ। यसभन्दा मुनिको भागमा बाक्लो लेदो जस्तो तातो द्रव्य पदार्थ छ। यसको ताप र चापको कारण पृथ्वीको बाहिरी सतह करीब २० खण्डमा टुक्रिएको छ, जसलाई प्लेटस् भनिन्छ। पृथ्वीको भित्री भागको तातो द्रव्य विभिन्न दिशामा मडारिरहन्छ। यसै क्रममा करीब आठ/नौ करोड वर्ष अघि नजिक रहेको दक्षिण अमेरिका, अन्टार्टिका, अस्ट्रेलिया र दक्षिणएशिया अफ्रिका महादेशको दक्षिणी भागबाट अहिले रहेको दिशातर्फ बढ्न थाले।
दक्षिणएशियाली अर्थात् इन्डियन प्लेट बर्सेनि दुई/चार इन्च सर्दै करीब पाँच करोड वर्ष पहिले अहिलेको स्थानमा आइपुग्दा तिब्बती प्लेटसँग टकराव शुरू भयो। त्यसै वेला यूरोप, खाडी मुलुक, मध्य तथा उत्तरएशियाका वनस्पति नेपालमा प्रवेश भए। पूर्व तथा दक्षिण-पूर्वका वनस्पति पनि फैलिँदै नेपालमा आइपुगे।
उत्तर अमेरिकामा उद्विकास भएको गुराँस लगायत अन्य वनस्पति पनि अमेरिकाको आलास्का र पूर्वोत्तर एशिया हुँदै एशिया प्रवेश भए, त्यसपछि पूर्वी एशिया भएर नेपाल भित्रिए। यता, इन्डियन र तिब्बती प्लेटस्को निरन्तर जुधाइबाट पृथ्वीको भित्री भागबाट तातो द्रव्य बाहिर निस्केर हिमाल र पहाड बने। यस क्रममा सबैभन्दा पछि चुरे बन्यो। भौगोलिक संरचना बनिसकेपछि वातावरण सुहाउँदो थप जैविक विविधता अन्यत्रबाट भित्रिए। कतिपय चाहिं पहिलेकै र भित्रिएकाबाट नयाँ प्रजाति उद्विकास भए।
जैविक विविधताको हिसाबले साना-ठूला सबै जीव उत्तिकै महत्त्वपूर्ण हुन्छन्। तर, हामीकहाँ साना जीवलाई कम आँकेर उपेक्षा गरिएको छ।
वनस्पति र जीवजन्तु
नेपालको वनस्पति अध्ययन-अनुसन्धानको काम सन् १८०२ मा शुरू भएको हो। यहाँकोे भौगोलिक बनावट विश्वकै निम्ति अनौठो रहेकाले जैविक विविधता र खास गरी वनस्पति अध्ययन गर्न विभिन्न देशका विज्ञहरू आएका छन्। हिजोआज पनि वनस्पति विज्ञहरू नेपाल आउने क्रम जारी नै छ।
नेपालमा एल्गी, फन्जाई, लाइकेन्स र ब्रायोफाइटस्को अनुसन्धान कमै भएको छ। यस्तै, जीवजन्तुतर्फ, मेरुदण्ड नभएका वर्गका प्रजातिको पनि थोरै अनुसन्धान भएको छ। विदेशी विज्ञहरूले पनि फूल फुल्ने वनस्पति सहित मेरुदण्ड भएका जन्तुको अध्ययनमा ध्यान केन्द्रित गरेका छन्। मेरुदण्ड भएका जन्तुमा पनि ठूला जनावरको विविध पक्षबारे उल्लेख्य अध्ययन भए पनि साना स्तनधारीलाई बेवास्ता गरिएको छ।
जैविक विविधताको हिसाबले साना-ठूला सबै जीव उत्तिकै महत्त्वपूर्ण हुन्छन्। तर, हामीकहाँ साना जीवलाई कम आँकेर उपेक्षा गरिएको छ। अमेरिकाको जैविक विविधताको तथ्याङ्क धेरै हुनुको कारण त्यहाँ विशेषतः कीराको अध्ययन बढी भएको छ। हामीकहाँ त कीराको अध्ययन नै भएको छैन भने पनि हुन्छ।
केशवराज राजभण्डारी, सञ्जीवकुमार राई, मोहनदेव जोशी, सुभाष खत्री, गङ्गादत्त भट्ट र रीता क्षेत्री लिखित ‘इन्डेमिक फ्लावरिङ प्लान्टस् अफ नेपालः स्टेटस एण्ड डिस्ट्रिब्युसन’ (सन् २०२१) लेख अनुसार, नेपालका फूल फुल्ने रैथाने वनस्पतिमध्ये करीब ४२.५६ प्रतिशत समुद्री सतहबाट ३,८०० मिटरभन्दा उच्च भूभागमा पाइन्छन्।
नेपालमा यसै पनि विश्वमै सबैभन्दा बढी भौगोलिक विविधता त छँदै छ, अब सरकारी अभिलेखहरूमा भौगोलिक क्षेत्रफलको अनुपातमा नेपालमा ब्राजिल, चीन, भारतमा भन्दा बढी जैविक विविधता पाइन्छ भनेर लेख्नुपर्छ।
प्लान्टाजिनेसी परिवारको लागोटिस नेपालेन्सिस् भनिने रैथाने प्रजाति बझाङमा ५,७०० मिटर उचाइमा पाइएको छ। उक्त वनस्पति नेपालको सबैभन्दा उच्च भूभागमा पाइने रैथाने प्रजाति हो। यस्तै, फूल फुल्ने करीब २५.६४ प्रतिशत रैथाने वनस्पति ३,००० देखि ३,८०० मिटर उचाइमा पाइन्छन्। २,००० देखि ३,००० मिटरसम्म १६.६ प्रतिशत र २,००० मिटर उचाइसम्म १४.१८ प्रतिशत रैथाने वनस्पति भेटिएका छन्।
नेपालको विशिष्टता पाटे बाघसँग पनि गाँसिएको छ। पाटे बाघ नेपाल सहितका १३ देशमा पाइन्छ। सन् २०१८ को गणनामा नेपालमा २३७ वटा पाटे बाघ पाइएका थिए। बाघ संरक्षणमा चासो राख्ने हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो सन् २०१० मा नेपाल आएर बाघ हेर्न बर्दिया पुगेका थिए। त्यस वेला लियोनार्दो बाघ मार्फत नेपाललाई विश्वमा चिनाउने दूत नै बने।
नेपालको जैविक विविधता विश्वकै निम्ति महत्त्वपूर्ण सम्पदा हो। नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढीले संरक्षित क्षेत्र र सामुदायिक वन भ्रमण गर्ने गरेका छन्। यसको अर्थ, पर्यटकहरू नेपालको जैविक विविधता हेर्न आउँदा रहेछन्। यस आधारमा जैविक विविधता नेपालको सौम्य शक्तिका रूपमा स्थापित भइरहेको रहेछ।
सरकारको पन्ध्रौं योजना (आव २०७६/७७-२०८०/८१)मा नेपालमा ११८ प्रकारका पारिस्थितिकीय प्रणाली, ३५ प्रकारका वन, ११ हजार ९७१ वनस्पति प्रजाति र ११ हजार ८६१ प्राणी प्रजाति रहेको उल्लेख छ। नेपाल सरकारले यसरी जैविक विविधता के कति छ भनेर परम्परागत रूपमा लेख्ने तरीका बदल्नुपर्छ। नेपालमा यसै पनि विश्वमै सबैभन्दा बढी भौगोलिक विविधता त छँदै छ, अब सरकारी अभिलेखहरूमा भौगोलिक क्षेत्रफलको अनुपातमा नेपालमा ब्राजिल, चीन, भारतमा भन्दा बढी जैविक विविधता पाइन्छ भनेर लेख्नुपर्छ।
(हिमाल मासिकको २०७८ कात्तिक अंकमा 'जैविक विविधताको खानी' शीर्षकमा प्रकाशित।)