खेतमै टुसायो बाढीले भिजेको धान (तस्वीरहरू)
बेमौसमी वर्षाका कारण आएको बाढी र डुबानले भिजेको धान खेतमै टुसाउन थालेपछि कैलालीका किसान निराश भएका छन्।
पाकेको धान भित्र्याउने समयमा बेमौसमी वर्षा भएको थियो। गत साता चार दिन लगातार परेको पानीले कैलालीमा बाढी र डुबानले धानबाली नष्ट गरेको थियो।
अहिले पानी त सुके पनि भिजेको धान खेतमै टुसाउन थालेको कैलालीको कैलारी गाउँपालिका–६ का पटिराम डगौराले बताए। “तराईमा गर्मी छ, त्यसैले पनि होला, भिजेको धान खेतमै टुसाउन थालेको छ,” डगौराले भने।
पानी थामिएको दिनदेखि धान सुकाउन थालेको भए पनि खासै काम नलागेको उनको भनाइ छ। डगौराले भने, “घाम लागेपछि त धान सुकाउन सकिएला भन्ने आश थियो, त्यो पनि भएन। सबै खत्तम भयो। केही बाँकी रहेन।”