संसारभर फैलिएको नेपाली कलाकृतिको सुकीर्ति
‘हार्ड पावर’ का मामिलामा कमजोर नेपालले कलाकृतिलाई ‘सफ्ट पावर’ का रूपमा प्रयोग गर्दै लैजानुपर्ने कलाकर्मीको राय छ।
भुटानको ताकिलामा ११५ फिट (जमीनदेखि नाप्दा १५५ फिट) अग्लो पद्मसम्भवको मूर्ति छ। सोही मूर्तिका कारण त्यो ठाउँ पर्यटकमाझ् लोकप्रिय छ। उक्त मूर्तिका रचनाकार हुन्, नेपाली धातु मूर्तिकार राजकुमार शाक्य।
जापानको होक्काइदो प्रान्तको तेसिकागा टाउनमा पाटनबाट गएका सिद्धिरत्न शाक्य र उनको समूहले सन् १९९१ को जाडोयाममा १७० किलो सुनको बुद्ध मूर्ति बनाएपछि जापानमा त्यसको चर्चा फैलियो। अवलोकितेश्वर देउताको उक्त मूर्ति निर्माणका लागि नेपालबाट चार जना कलाकार होक्काइदो पुगेका थिए। मूर्ति बनाउँदाको प्रक्रिया समेटिएको करीब डेढ घण्टा लामो जापानी डकुमेन्ट्री अहिले पनि युट्युबमा छ।
“अरनिकोदेखि अहिलेसम्म आइपुग्दा नेपाली कलाकार र कलाकृतिले नेपालको पहिचान र सामथ्र्य विश्वभर फैलाइरहेका छन्,” मूर्तिकार समेत रहेका नेपाल हस्तकला महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य भन्छन्, “म आफैं पनि बेलायत, थाइल्यान्ड, मलेसियादेखि मुस्लिमहरूको बाहुल्य रहेको उज्वेकिस्तानमा समेत बुद्ध मूर्ति बनाउन पुगेको छु। हाम्रो इतिहास, संस्कृति, धर्म, दर्शनको प्रचारमा मद्दत गरेको हुनाले यी कलाकृति देशका सफ्ट पावर हुन्।”
सन् २००८ मा राजकुमार शाक्य सहित नेपालबाटै लगिएका कालिगडको टोलीले मूर्ति निर्माणका क्रममा सम्पूर्ण काम हातैले गरेको देखेपछि भुटानका तत्कालीन प्रधानमन्त्री जिग्मे वाई थिन्ले निकै प्रभावित भएका थिए।
भुटान, चीन, भारत, जापान, जर्मनी लगायत विश्वका विभिन्न ठाउँमा यस्तै विशाल कदका बुद्ध मूर्ति, मुकुन्डो, तोरण आदि बनाउने शाक्यलाई ‘२१औं शताब्दीका अरनिको’ भन्ने गरिन्थ्यो। उनलाई विभिन्न देशबाट कलाकृति बनाउने ‘अर्डर’ आइरहन्थ्यो। गत २२ जेठमा कोभिड-१९ का कारण उनको निधन भयो।
अहिले उनका छोरा स्वरूप र सौरभ बुबाले अधुरै छोडेका मूर्ति र प्रतिमाहरू निर्माणको काम टुङ्ग्याउन लागिपरेका छन्। “अहिले तिब्बतका लागि बुद्धको एउटा सेट नै बनाउन व्यस्त छौं,” स्वरूप भन्छन्, “सेटमा नौ वटा ठूलठूला मूर्ति छन्।”
शाक्य परिवार पुस्तौंदेखि देश-विदेशका लागि धातुका मूर्ति बनाउने काममा सक्रिय छ। बाजे रुद्रराज शाक्य समेत यो क्षेत्रका नामूद कलाकार थिए। अहिले राजकुमार शाक्यका धेरै विद्यार्थी मूर्ति र चित्रकला क्षेत्रमा कहलिएका छन्। उनीहरूका कलाकृति यूरोप, अमेरिका र विशेषतः एशियाली देशमा पुग्ने गरेका छन्। चीन, भुटान, जापान, बर्मा, कोरिया, थाइल्यान्ड, मङ्गोलिया जस्ता बौद्धमार्गीको उल्लेख्य जनसङ्ख्या भएका देशमा परम्परागत नेपाली मूर्ति र चित्रकला (थाङ्का, पौभा) को ठूलो माग छ।
“पाटनका मूर्तिकारहरू चीनमा खूब चर्चित छन्,” चीनमा समेत लोकप्रिय नेपाली गायिका आनी छोइङ डोल्मा भन्छिन्, “चीनले यहाँका सबै राम्रा मूर्तिकारलाई जति माग्यो उति पैसा तिरेर लैजान्छ। उनीहरू त्यहाँ ठूलठूला मूर्ति बनाइरहेका छन्। नेपाललाई लोकप्रिय बनाउन उनीहरूको पनि भूमिका छ।”
चीन र तिब्बत गइरहने पाटनका मूर्तिकारमध्ये धर्म ह्यान्डिक्राफ्टका राजन शाक्य त्यहाँ आफूलाई कलाकारका रूपमा निकै सम्मान गरिने बताउँछन्। पछिल्लो पटक उनले चीनको सीसीटीभीमा नेपाली मूर्तिकलाबारे अन्तर्वार्ता पनि दिए। कोभिड-१९ अघिसम्म उनी जर्मनी, नर्वे, बेलायत, भारत लगायत देशमा मूर्ति बनाउन र प्रदर्शनीका लागि जाने गरेका थिए।
“विदेशमा नेपालको कार्भिङ र कास्टिङ (ढलाइ र कटान) लोकप्रिय छ,” उनी भन्छन्, “कास्टिङ प्रविधिमा बनेको छैटौं शताब्दीको एउटा बुद्ध मूर्ति लस एन्जलसको सङ्ग्रहालयमा राखिएको छ। त्यो समयदेखि नै हाम्रो मूर्तिकलाले विदेशमा नेपालको नाम राख्दै आए पनि कमैलाई मात्र थाहा छ।”
हस्तकला महासङ्घका वरिष्ठ उपाध्यक्ष शाक्यका अनुसार, वार्षिक रु.१० अर्ब बराबरका हस्तकलाका सामग्री निर्यात हुने गरेका छन्। हस्तकलाका ४२ विधामध्ये दोस्रो ठूलो परिमाणमा मूर्तिकलाको निर्यात हुने गरेको छ। “अहिले पनि अन्तर्राष्ट्रिय लिलाम हुँदा नेपालका मूर्तिकला करोडौंको मूल्यमा बिक्री हुन्छन्,” शाक्य भन्छन्, “सन् १९९३ मा अफगानिस्तानमा तालिबानले विश्वकै अग्लो बुद्धमूर्ति भत्काइदिएपछि त्योभन्दा पनि ठूलो मूर्ति बनाउन अन्य देश सहित नेपालका कलाकारलाई संलग्न गराइयो। नेपाली मूर्तिकारहरूले भारतको लद्दाखदेखि भुटान, चीनमा थुप्रै मूर्ति बनाइरहेका छन्।”
थाङ्का र पौभा चित्रकलामा पारङ्गत नेपाली कलाकारले पनि विदेशमा राम्रै ‘एक्सपोजर’ पाएका छन्। उनीहरू विभिन्न विश्वविद्यालयमा कला सम्बन्धी ज्ञान दिन ‘गेस्ट लेक्चरर’ का रूपमा आमन्त्रित गरिन्छन्। कतिपय देशमा उनीहरूका कलाको प्रदर्शनी हुन्छ।
खास गरी गुम्बा र धार्मिक केन्द्रहरूमा थाङ्का र पौभा चित्र कोर्न उनीहरूलाई नै बोलाइन्छ। आधिकारिक रेकर्डमा नसमेटिए पनि यूरोपतिर नेपाली थाङ्काको बिक्री प्रशस्त हुन्छ। “सन् १९९० देखि म जापान ओहोरदोहोर गरिरहेको छु,” पौभा कलाकार लोक चित्रकार भन्छन्, “नेपाली कलाकार भन्नासाथ त्यहाँ निकै इज्जत पाइन्छ।”
पौभा चित्रकलामा दख्खल भएकाहरूलाई कामको सधैं चटारो हुन्छ। तर, यो कला विदेशीका लागि मात्रै हो भन्ने खालको भान परेकाले वर्षौंपछि आफू ‘नेपालीले पनि किनून्’ भनेर त्यही अनुरूप चित्र कोरिरहेको उनी बताउँछन्।
बाहिरको भन्दा भिन्न शैलीको हुने भएकाले नेपाली थाङ्का र नेवारको पौभा विदेशीले मन पराएको हुनसक्ने भक्तपुरका पौभा चित्रकार पूर्णप्रसाद ह्योजू बताउँछन्। सङ्ग्रहालय, मठमन्दिर र पुस्तकहरूमा पौभा चित्र देखेपछि ‘त्यस्तै बनाइदिनू’ भन्दै विदेशी ग्राहक कलाकारकहाँ आउन थालेको उनको अनुभव छ। ह्योजूका अनुसार, १२/१३औं शताब्दीलाई नेपाली परम्परागत कलाको ‘स्वर्णयुग’ मानिन्थ्यो।
१६औं शताब्दीसम्म तिब्बतमा पौभाको एकछत्र वर्चस्व थियो। १९औं शताब्दीमा आइपुग्दा यो विधामा ह्रास आयो। आफ्नो धार्मिक आस्था व्यक्त गर्न एकाध चित्र लेख्नु बाहेक यसको बजार र लोकप्रियता सबै हराइसकेको थियो।
बिस्तारै चित्रकार थर हुनेले नै आफ्ना छोरानातिलाई यो विधामा लगाउन छोडे। देशमा पर्यटकको आवागमन बढेपछि यो क्षेत्र पुनः जुर्मुराएको छ। “विदेशी ग्राहक बढेपछि बिस्तारै स्वदेशीले पनि हाम्रो पेन्टिङ हामीले चाहिं किन नराख्ने भनेर किन्न थाले,” उनी भन्छन्, “त्यस यता आन्तरिक र बाह्य दुवै बजार बढेको छ।”
“रङ संयोजनमा विशेष जोड दिइने युरोपेली चित्रकलाभन्दा फरक, स्पष्ट लाइनिङका लागि पौभा र नेपाली थाङ्का प्रसिद्ध छन्। परम्परागत मूर्तिकला, थाङ्का र पौभा चित्रले नेपाली संस्कृतिको प्रवद्र्धन गरिरहेका छन् भने अर्थतन्त्रमा पनि योगदान दिँदै आएका छन्,” पौभा चित्रकलामै नाम कमाएका उजय वज्राचार्य भन्छन्, “सांस्कृतिक र कलात्मक भ्यालु मात्रै नभएर नेपाली थाङ्का र पौभाले देशका लागि आर्थिक भ्यालु पनि सिर्जना गरेका छन्।”
थाङ्का र पौभाले विदेशमा बुद्धिज्मको प्रवर्द्धन गर्नुका साथै नेपालमा धार्मिक पर्यटन बढाउन समेत सघाएका छन्। अन्य देशका सरकारले आफ्ना कला गतिविधिको प्रचारमा ठूलो लगानी गरे पनि हामीकहाँ निजी तवरबाटै प्रयास भइरहेको लोक टिचत्रकार बताउँछन्। “देशभित्रै हाम्रा कला अपरिचित छन्,” उनी भन्छन्, “हामीले बुझे पो विदेशीलाई अझै बुझाउन सकिन्छ।”
विदेशका विभिन्न सङ्ग्रहालय, मठमन्दिर, गुम्बा, भ्रमणस्थलमा नेपाली कलाकारले मूर्ति र कलाकृति बनाइरहँदा तिनले नेपालको मौलिकता झल्काउनुका साथै नेपाल प्रतिको मोह बढाउन भूमिका खेलेका छन्।
नेपाली कलाकारले विदेशमा गएर आफ्नो कला मार्फत देशकै कीर्ति फैलाउन सक्छन् भन्ने ज्वलन्त उदाहरण अरनिको हुन्। करीब आठ सय वर्ष अघि ८० जना कलाकार टोली सहित तिब्बत पुगेका अरनिकोले त्यहाँ दर्जनौं चैत्य, मूर्ति र चित्रहरू बनाए। ती अहिले पनि मुख्य शहर र सङ्ग्रहालयमा सुरक्षित छन्।
अरनिको चीनमै बसे, त्यहाँ नेपाली कलाको शिक्षालय खोले र आफ्ना दुई छोराका साथै सयौं चिनियाँलाई प्रशिक्षित गरे। चीनको वास्तुकला, मूर्तिकला र चित्रकलामा नेपाली छवि फैलाउन सफल भए। अरनिकोको पदचापलाई पछ्याउँदै विदेशमा आफ्नो मूर्तिकला र चित्रकला पस्किरहेका कलाकारहरू नेपालमा अहिले पनि उल्लेख्य मात्रामा छन्। त्यसैले ‘हार्ड पावर’ का मामिलामा कमजोर नेपालले कलालाई ‘सफ्ट पावर’ का रूपमा प्रयोग गर्दै लैजानुपर्ने कलाकर्मीको राय छ।
(हिमाल मासिकको २०७८ कात्तिक अंकमा ‘कलाकृतिको सुकीर्ति’ शीर्षकमा प्रकाशित रिपोर्ट।)