वरीयतामा नेपालभन्दा तलका दुई सहित यस्ता छन् टी-२० विश्वकपमा भिड्ने १२ टोली
आईसीसी टी-२० विश्वकपको ‘सुपर १२’ को समीकरण पूरा भएको छ। वरीयतामा नेपालभन्दा तल रहेका दुई सहित १२ टोली आजदेखि ‘सुपर १२’ मा भिड्दै छन्।
पहिलो चरणका खेल ५ कात्तिकमा सकिएसँगै आजबाट दोस्रो चरणका खेल शुरू हुन लागेका छन्। समूह ‘ए’ बाट श्रीलङ्का र नामिबिया तथा समूह ‘बी’ बाट स्कटल्यान्ड र बाङ्लादेश सुपर १२ मा पुगेका हुन्।
समूह ‘ए’ मा रहेका आयरल्यान्ड र नेदरल्यान्ड तथा समूह ‘बी’ मा रहेका ओमन र पपुवान्यूगिनी पहिलो चरणबाटै बाहिरिएका छन्। पहिलो चरणबाट दुवै समूहका शीर्ष दुई-दुई टोली दोस्रो चरणमा प्रवेश गरेका हुन्।
अब सुपर १२ मा समूह १ का अस्ट्रेलिया, बाङ्लादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, श्रीलङ्का र वेस्ट इन्डिज तथा समूह २ का अफगानिस्तान, भारत, नामिबिया, न्यूजिल्यान्ड, पाकिस्तान र स्कटल्यान्ड भिड्नेछन्।
समूह ‘ए’ बाट सुपर १२ मा पुगेको नामिबिया र समूह ‘बी’ को स्कटल्यान्ड आईसीसी वरीयतामा नेपालभन्दा तल रहेका छन्। आईसीसी वरीयतामा नेपाल १३औं स्थानमा रहेको छ भने स्कटल्यान्ड १४ र नामिबिया १९औं स्थानमा रहेको छ।
सुपर १२ मा खेल्ने टोलीमध्ये अफगानिस्तान आईसीसी वरीयताको आठौं स्थानमा छ। यसअघि सन् २०१६ को टी-२० विश्वकपमा नवौं स्थान हासिल गरेको थियो।
अस्ट्रेलिया आईसीसी वरीयताको सातौं स्थानमा छ। यसअघि २०१० को विश्वकपमा अस्ट्रेलिया उपविजेता बनेको थियो।
त्यस्तै, वरीयताको छैटौं स्थानमा रहेको बाङ्लादेश सन् २००७ को विश्वकपमा सातौं स्थानसम्म पुगेको थियो। इंग्ल्यान्ड आईसीसी वरीयताको शीर्षस्थानमा छ। यसअघि सन् २०१० को विश्वकप जितेको थियो।
भारत अहिले आईसीसी वरीयताको दोस्रो स्थानमा छ। यसअघि सन् २००७ मा विश्वकप जितेको थियो।
नामिबिया आईसीसी वरीयताको १९औं स्थानमा छ। पहिलो पटक टी-२० विश्वकप खेलिरहेको नामिबिया पहिलो चरणमा नेदरल्यान्ड र आयरल्यान्डलाई पराजित गर्दै सुपर १२ मा पुगेको हो।
सुपर १२ मा भिड्न लागेको न्यूजिल्यान्ड आईसीसी वरीयताको चौथो स्थानमा छ। यसअघि सन् २०१६ को विश्वकपको उपविजेता बनेको थियो।
आईसीसी वरीयताको तेस्रो स्थानमा रहेको पाकिस्तान सुपर १२ मा भिड्ने अर्को बलियो टोली हो। पाकिस्तानले यसअघि सन् २००९ मा विश्वकप जितेको थियो।
पहिलो चरण पार गर्दै सुपर १२ मा पुगेको स्कटल्यान्ड आईसीसी वरीयतामा नेपालभन्दा एक स्थान तल छ। यसअघि सन् २००७ को विश्वकपमा ११औं स्थानसम्म पुगेको थियो।
त्यस्तै, आईसीसी वरीयताको पाँचौं स्थानमा रहेको दक्षिण अफ्रिका सुपर १२ मा भिड्ने अर्को बलियो टोली हो। यसअघि सन् २००९ मा उपविजेता बनेको थियो।
आईसीसी वरीयतामा १०औं स्थानमा रहेको श्रीलङ्का पहिलो चरण पार गर्दै सुपर १२ मा पुगेको हो। यसअघि सन् २०१४ मा श्रीलङ्काले विश्वकप जितेको थियो।
दुई पटक विश्वकप जितेको वेस्ट इन्डिज यस पटक पनि दाबेदार रहेको छ। आईसीसी वरीयताको नवौं स्थानमा रहेको वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा विश्वकप जितेको थियो।
सुपर १२ को पहिलो खेलमा आज अपराह्न ३ः४५ बजे अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा साँझ ७ः४५ बजे इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्नेछन्।