१० बुँदे सहमतिलाई १२ कात्तिकसम्म कार्यान्वयन गर्ने एमालेको निर्णय, भीम रावलद्वारा राजीनामा घोषणा
नेकपा (एमाले)ले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले गरेको १० बुँदे सहमति आगामी केन्द्रीय कमिटीको बैठक अगावै कार्यान्वयन गर्ने निर्णय गरेको छ।
ललितपुरमा शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, “आम रूपमा १० बुँदे सबै ठाउँमा कार्यान्वयन हुँदै गएको छ, तर एकाध ठाउँमा समस्या रहेको हुँदा त्यहाँ पनि केन्द्रीय कमिटीको आगामी बैठकसम्ममा पूर्ण रूपमा कार्यान्वयन गर्ने निर्णय भएको छ।”
एमाले स्थायी कमिटीको बैठक ११ कात्तिक र केन्द्रीय कमिटीको बैठक १२ कात्तिकमा बस्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए। उनका अनुसार, १२ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको बैठक अगावै १० बुँदे सहमति पूर्ण कार्यान्वयन भइसक्नेछ।
यसैबीच, एमाले उपाध्यक्ष भीम रावलले भने १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विवाद समाधान कार्यदलबाट राजीनामा दिने घोषणा गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको औचित्य नरहेको जस्तो कुरा गरेकाले आफूले राजीनामा दिन लागेको उनको भनाइ छ। बैठकमा शनिबारसम्ममा राजीनामा पठाउने धारणा राखेको रावलले सञ्चारकर्मीलाई जानकारी दिए।
महाधिवेशन आयोजक समितिको संयोजकमा थापा, सह-संयोजकमा पाण्डे
बैठकले दशौं राष्ट्रिय महाधिवेशन मूल तयारी समितिलाई पूर्णता दिएको छ। २१ सदस्यीय समितिको संयोजकमा रामबहादुर थापा, सह-संयोजकमा सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाल चयन भएको ज्ञवालीले जानकारी दिए।
आयोजक समितिमा एक सदस्य पछि थपिने प्रवक्ता ज्ञवालीले जानकारी दिए। स्थायी कमिटीको बिहीबारको बैठकले मंसीरमा हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ।
यसैबीच, एमाले स्थायी कमिटी बैठकले कुन्दन कुसवाह (रौतहट) र मोहम्मद समिर (बारा) लाई केन्द्रीय सदस्य मनोनयन गर्ने निर्णय गरेको छ।
महाधिवेशन मूल तयारी समितिका पदाधिकारीः
संयोजक : रामबहादुर थापा
सह-संयोजक : सुरेन्द्र पाण्डे
सचिव : विष्णु रिमाल
सदस्यहरू: पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल, दीपक देवकोटा।