बाढीले बन्द विराटनगर विमानस्थल ६ कात्तिकबाट खुल्ने
बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल शनिबारबाट खुल्ने भएको छ।
दिवा सेवा मात्रै सञ्चालन हुने गरी ६ कात्तिकबाट विमानस्थल खुल्न लागेको हो। शुरूआतका तीन दिन दिवा सेवा मात्रै सञ्चालन हुने विमानस्थल कार्यालयले जनाएको छ।
धावनमार्ग छेउमा राखिएका बिजुलीका च्याम्बरमा पानी जमेकाले बेलुकाको सेवा केही दिनपछि मात्रै सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरण विराटनगरका सूचना अधिकारी युवराज भण्डारीले बताए। “रन-वेको बिजुली बाल्दा तार सर्ट हुन सक्ने भएकाले तीन दिनका लागि घाम झुल्केदेखि अस्ताउनु अघिसम्म मात्रै उडानको अनुमति दिइएको हो,” भण्डारीले हिमालखबरसँग भने।
विमानस्थल भित्रको एक्स-रे मेसिन पानीमा डुबेकाले केही दिनका लागि यात्रीका सामान प्रहरीले नै जाँच गर्ने भएका छन्। अत्यावश्यक उपकरण भने चालू अवस्थामा रहेको विमानस्थल कार्यालयले जनाएको छ।
धावनमार्ग र हेलिप्याडमा जमेको पानी तथा फोहोर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सफा गरिएको उनले बताए। यसअघि २०७४ सालमा पनि बाढीले विमानस्थल डुबेपछि एक साता बन्द भएको थियो।
लगातारको वर्षाले स्थानीय केशलिया खोला भरिएपछि ३ कात्तिकमा विमानस्थल पनि जलमग्न भएको थियो। २ कात्तिकमा काठमाडौंबाट आएका श्री र बुद्ध एयरका दुई वटा जहाज विराटनगरमै रोकिएका थिए। धावनमार्गको पानी सुकेकाले ४ कात्तिकमा दुवै जहाज यात्री नलिई काठमाडौं फर्किएका थिए।