मुख्यमन्त्री आचार्यले ७ कात्तिकमा विश्वासको मत लिने
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले ७ कात्तिकमा विश्वासको मत लिने भएका छन्।
शुक्रबार बसेको प्रदेश सभाको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकको सहमति अनुसार, आचार्यले विश्वासको मत लिने समय दुई दिनपछि सारिएको हो। प्रदेश सभाको ५ कात्तिकको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव टेबुल गरेका छन्।
प्रदेश सभाको अर्को बैठक ७ कात्तिक मध्याह्न १२ः३० बजेका लागि बोलाइएको छ। त्यही बैठकमा विश्वासको मतको प्रस्तावमा छलफल गरेर मत विभाजन प्रक्रिया अघि बढाइने सभामुख प्रदीपकुमार भण्डारीले बताए।
९३ सदस्यीय प्रदेश सभामा अहिले ९२ सदस्य छन्। नेकपा (माओवादी केन्द्र) त्यागेर एमाले प्रवेश गरेका टंक आङ्बो कारबाहीमा परेका थिए।
सभामुख प्रदीपकुमार भण्डारी बाहेक एमालेका ४१ र विपक्षी गठबन्धनका ५० सदस्य छन्। कांग्रेसका २१, माओवादीका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना सांसद छन्। प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
शेरधन राईले राजीनामा दिएपछि आचार्य १० भदौमा मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएर १० सांसद एकीकृत समाजवादीतिर लागेपछि उनी अल्पमतमा परेका हुन्।