प्रधान न्यायाधीशको आचरण र व्यवहारमा गम्भीर शङ्का : पूर्व न्यायाधीश फोरम
पूर्व न्यायाधीश फोरम, नेपालले सर्वोच्च अदालतका प्रधान न्यायाधीशको आचरण र व्यवहारमा गम्भीर शङ्का उत्पन्न भएको जनाएको छ।
शुक्रबार पूर्व न्यायाधीश फोरमले प्रेस विज्ञप्ति जारी गरी प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारमाथि शङ्का उत्पन्न भएको जनाएको हो। फोरमले भनेको छ, “गठबन्धनमा प्रधान न्यायाधीश, मन्त्रिमण्डल विस्तारमा प्रधान न्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसिएशनतर्फबाट समेत भएको विरोधको बावजूद प्रधान न्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्मा समावेश गराइनु र चर्को विरोध पश्चात् मन्त्रीको राजीनामा आउनुले प्रधान न्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शङ्का उत्पन्न गराएको छ।”
यसले न्यायपालिका प्रतिको जनआस्थामा गम्भीर खतरा भएको पूर्व न्यायाधीशहरूको ठहर छ। “राजनीतिक प्रकृतिका अनेकौ संवैधानिक विवादहरू सर्वोच्च अदालतमा विचाराधीन रहेको र यस्ता प्रकृतिका विवादहरू निरन्तर आइरहने तथा कतिपय विवादहरू प्रधान न्यायाधीशकै इजलासले निर्णय सुनाउन बाँकी राखिएको अवस्थामा प्रधान न्यायाधीश र राजनीतिक दलहरूबीच भागबण्डाको सौदाबाजीको कुरा बाहिरिनुले न्यायपालिका प्रतिको जनआस्था नै गम्भीर खतरामा पर्न गएको छ,” फोरमले भनेको छ।
यस्ता क्रियाकलापले संविधानले प्रत्याभूत गरेको शक्ति सन्तुलनको सिद्धान्त नै समाप्त हुने उनीहरूको भनाइ छ। पूर्व न्यायाधीश फोरमले भनेको छ, “संविधानले प्रत्याभूत गरेको शक्ति सन्तुलन र नियन्त्रणको मूलभूत सिद्धान्त नै समाप्त हुने आशङ्का बढाएको छ।”