खैरो क्यानभासमा कोरिएका खस्रा जिन्दगानी
स्नातकोत्तर तहको थेसिसका रूपमा दीपक तोलाङ्गेले निर्माण गरेको इथ्नोग्राफिक सिनेमा छारोले धेरै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति जनाइसकेको छ।
चिसो रातको अन्तिम प्रहर बाँकी छँदै पल्टिसक्छ, जीवनको एउटा नयाँ पन्ना। कथा परन्तु हिजोकै दोहोरिन्छ। आफैंले पालेको भालेले उठाउनुभन्दा पहिले नै उठिसकेको छ, पञ्चलाल।
इँटाभट्टामा काम गर्ने पञ्चलाल जस्ता सबै बालबालिकाको दैनिकी यसरी नै शुरू हुन्छ। शीतले भिजेको ओसिलो बिहान ४ बज्दा उनको काँचो इँटाको चाङलाई टिनको पाताले छोपेको छाप्रोमा चिया उम्लिसकेको छ। चप्पल र एकसरो पातलो लुगाको भरमा चिसोसँग जोरी खाज्दै श्रम गरिरहेछन्, उनी जस्तै अन्य बालबालिका।
सपनाका अक्षरमा डिको लगाउन सुरसार गर्नुपर्ने हातहरू यति वेला व्यस्त छन्, माटो मुछ्न, इँटा बनाउन वा भारी बोक्न। आँखाको पानी समेत छारोले सोसेर सुकाइदिन्छ। त्यसैले सपना विलासिता मात्रै देखिन्छन्, हुन्छन्। यिनै बालबालिकाको बिर्सिइएका सपनाका पदचापको कथा भन्छ, दीपक तोलाङ्गेद्वारा निर्मित डस्ट (छारो) वृत्तचित्रले।
प्रत्येक वर्ष जाडो मौसमले आँगनमा पाइला राख्दै गर्दा शुरू हुन्छ, इँटा उद्योगमा काम गर्ने हजारौं मजदूरको बसाइँसराइको लर्को। यो लर्कोमा सामेल हुन्छन्, स्कूल पढ्दै गरेका ससाना बालबालिका पनि।
भर्खरै आकार लिन शुरू गरेका अक्षरका बाङ्गाटिङ्गा धर्कालाई अर्को वर्ष सीधा गरुँला भन्दै पढाइ छाडेर बालबालिका आमाबुबासँगै कडा श्रम गर्न बाध्य हुन्छन्। शैक्षिक सत्रको शुरूआतमा चल्ने भर्ना अभियानमा स्कूल पुगे पनि मध्यसम्म पुग्दा आधाजसो बालबालिका गयल भइसक्छन्। उनीहरू हाजिरी लगाइरहेका हुन्छन्, इँटा उद्योगमा ठेकेदारका अघिल्तिर।
केही वर्ष यसरी नै भर्ना हुँदै, छोड्दै जाने क्रम चल्छ। उमेर बढ्दै गएपछि एक कक्षामा भर्ना हुन सहज ठान्दैनन्। र, सधैंका लागि विद्यालय छाडेर स्थायी मजदूरीतिर लाग्छन्।
हरेक दिन माटाको क्यानभासमा आफ्ना काँचा सपनाका खैरा चित्रहरू कोर्दै मेट्दै गरिरहन्छन्। बालसुलभ चञ्चलताको रङ्ग पनि नउप्किसकेको उनीहरूको अनुहारमा पारिवारिक बोझको गाम्भीर्य पोतिएको कत्ति पनि नसुहाउने रहेछ। पाठशालाबाट गयल भएका यिनै पञ्चलाल, विष्णु वा सोनुरूको पाठशालादेखि इँटाभट्टासम्मको यात्राको वर्णन गर्ने वृत्तचित्र हो, छारो।
इँटाभट्टाको छेवैबाट गएको छ, देशको राजधानीसम्म पुग्ने राजमार्ग। ती राजमार्गमा स्कूल बस कुदिरहेका छन्। आमाले पुस्तकको झोला समेत बोकिदिएर बालबालिकालाई स्कूल पठाइरहेको दृश्य हेर्दै पिठ्यूँमा आफू जत्रै भारी बोकिरहेका बालबालिकाको लस्करले देशको वास्तविक अनुहार बताइरहेको छ। घरिघरि छाडेर आएका कक्षाकोठा र साथीको सम्झना उनीहरूको मनमा खिल जसरी बसिदिन्छ।
बेतोडले उडिरहेको छारोमा आफ्ना सपनाका कणहरू जोडेर सग्लो चित्र बनाउने कलिला आँखाको कथा भन्ने वृत्तचित्र हो, छारो। यसमा यही धूलोको क्यानभासमा जीवनको खैरो पेन्टिङ पोत्ने रङ्गीन औंलामा लागेको घाउको फेहरिस्त छ।
सिनेमाले विभिन्न ठाउँबाट भक्तपुरको इँटा उद्योगमा काम गर्न आइपुगेका एउटै उमेर समूहका चार जना प्रतिनिधि पात्रलाई पछ्याएको छ। मध्य नेपालका पञ्चलाल, सुदूरपश्चिमबाट आएका विष्णु र उनका भाइ अर्जुन अनि भारतबाट आएका सोनु। चारै जना एउटै इँटा उद्योगका फरक फरक एकाइमा काम गर्छन्।
पञ्चलाल इँटा बनाउँछन्, विष्णु र अर्जुन इँटा बोक्छन् र सोनु पोलेको इँटा ट्रकमा लोड गर्छन्। चारै पात्रका भिन्नाभिन्नै काम भए पनि यहाँसम्म आइपुग्नुको भने एउटै कारण छ– चरम गरीबी। उनीहरू जस्ता हजारौं बालबालिका बर्सेनि इँटाभट्टामा आइपुग्छन्। उनीहरूको यही यात्रा वृत्तचित्रमा समेटिएको छ।
यो एउटा सफल वृत्तचित्र हो। यसले उठाएको सामाजिक मुद्दा कहालीलाग्दो छ। समाजमा विभिन्न वर्गको निर्माण कसरी हुन्छ भनेर जान्न पनि यो वृत्तचित्रले सहयोग गर्छ।
पिंधबाट आएका यी बालबालिका पछिसम्मै पनि समाजको पिंधमै रहन्छन्। मजदूरी गरेर जीवन यापन गर्छन्। देशको तथ्याङ्कमा एउटा अङ्क सिबाय केही हुँदैनन्। एउटा भोटभन्दा बढी देखिंदैन।
कथा भन्नका लागि लम्बेतान संवादको आवश्यकता पर्दैन। शब्दको सामर्थ्य पनि दृश्यले बोकेका छन्, यसमा सुन्दर पेन्टिङ जस्तै। तथापि, केही दृश्य अलिकति लामा प्रतीत हन्छन्। कतै विषयलाई सबल बनाउनेभन्दा पनि विषयलाई बरालिदिने खालका छन्।
पात्रहरूसँगको संवादलाई केही गहिराइमा लगेर उनीहरूको सामाजिक र आर्थिक पृष्ठभूमिलाई उजागर गर्न सकेको भए अझ सशक्त हुन्थ्यो। तैपनि, कलिला बालबालिकाको मनमा गढेका पीडालाई मिहिन रूपमा अभिव्यक्त गरिएको छ, छारोमा।
मान्छेलाई दुःखी देखाउन आँसुको भेल बगाउन नपर्ने रहेछ, नुनिलो हाँसोले कोरेको दुःखको ‘पोट्रेट’ झनै शक्तिशाली हुने रहेछ। छारो हेरेपछि लाग्यो हाँसो जति बहुआयामिक समवेदना अर्को छैन। यो सधैं सुन्दर देखिने रहेनछ।
स्नातकोत्तर तहको थेसिसका रूपमा दीपकले निर्माण गरेको इथ्नोग्राफिक सिनेमा छारोले धेरै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति जनाइसकेको छ। केही अवार्ड पनि पाइसकेको छ। यसअघि पनि उनले सेल्टर वृत्तचित्र मार्फत सुकुम्बासीको जीवन सङ्घर्षलाई मिहिन ढङ्गले देखाएका थिए।
दोस्रो वृत्तचित्रसम्म आइपुग्दा उनले आफ्नो उपस्थितिलाई अझै माटोसँग नजिक बनाएका मात्रै छैनन्, आफ्नो परिचयको गोरेटो पनि फराकिलो बनाएका छन्। सामाजिक विषयको गम्भीर उठान उनको सबल पक्ष हो र सामाजिक न्याय उनको आदर्श।