नेपाल चिनाउने मृदु मुस्कान
नेपालीले सौम्यता मार्फत बनाएको छवि प्रशंसनीय छ, तर अझै अधुरो र अपुग छ।
नेपालको प्राकृतिक छटा र नेपालीको अप्रतिम सिर्जनात्मक सम्भाव्यताबारे महाकवि लक्ष्मीप्रसाद देवकोटाले विश्वमा ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्तिबारे बहस प्रारम्भ हुनुपूर्व नै मनग्गे महसूस गरिसकेका थिए। यथार्थ चाहिं, देवकोटा स्वयं नै सौम्य शक्तिका एक प्राञ्जल संवाहक थिए। अहिले जस्तो विश्वव्यापीकरण, यातायात र प्रविधिको सञ्जाल विस्तार नभइसकेको समयमा उनलाई भेट्ने विदेशी विद्वान् र उनले टेकेका विदेशी भूमि उनको अपार सिर्जनशीलतादेखि कायल हुन्थे।
ठूला र शक्तिशाली मुलुक सैन्य र आर्थिक शक्तिका मामिलामा अगाडि भए पनि भौगोलिक र सामरिक हिसाबले साना देश प्राकृतिक, सांस्कृतिक र सिर्जनशीलताका मामिलामा कदापि ‘तुच्छ’ हुँदैनन् भन्ने बोध नै उनको विचारोत्तेजक निबन्ध ‘के नेपाल सानो छ?’ को मर्म हो।
नेपालीजनको सिर्जनशीलताबारे कविले लेखेका छन्, ‘सानो, मीठो, शान्त, सुगन्धी, अनुपम-बस्! मेरा निमित्त त्यही हो नेपाल! यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरू गीत गाउँदछन्, यहाँ कति सावित्रीहरू छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन।’
देवकोटाले भने झैं नेपाल अनन्वेषित (अनएक्सप्लोर्ड) भूमि हो र यहाँका अधिकतर मानिसका प्रतिभा विविध कारणले अप्रस्फुटित र अप्रयुक्त (अनट्याप्ड) छन्। सारा विश्वलाई आह्लादित गर्ने यहाँका कथाहरू लेखिन बाँकी छन्, मुग्ध बनाउने गीत-सङ्गीत लेखिन/भरिन बाँकी छन्, चलचित्रहरू निर्माण/छायाङ्कन हुन बाँकी छन्। नेपालले विश्व सामु पस्कने चीजबिजको सूची धेरै लामो हुनसक्छ।
प्रविधिको विकास र उपभोक्तावादको उभारसँगै दुनियाँमा उपभोग्य वस्तुहरू पनि अन्तहीन भएका छन्, जसमध्ये धेरै कुरा नेपालबाट आपूर्ति गर्न सकिनेछ। तर प्रश्न- नेपालको अपार सौम्य शक्ति कसले समुचित उपयोग गर्ने अनि यसका नेतृत्वकर्ता वा संवाहक को हुन्?
उत्तर प्रष्ट छ, राज्य अनि यसका नागरिक। तर विडम्बना, राज्य र नागरिक सहक्रिया (सिनर्जी)को सौम्य शक्ति प्रवद्र्धनमा हाम्रो राज्य उदासीन मात्र होइन, अनिच्छुक समेत देखिएको छ।
संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनाको उद्देश्य, मानव अधिकारका प्रोटोकल र सूक्ष्म मिडिया निगरानीका कारण आजको विश्वमा एक देशले अर्को देशमाथि सैन्य बल वा आर्थिक ज्यादती गर्न सम्भव छैन। सामरिक रूपमा शक्तिशाली र आर्थिक रूपमा वैभवशाली मुलुकहरूले दादागिरी छाडेर भलाकुसारीको माध्यम अपनाएका छन्, आफ्नो बजार एवं प्रभाव विस्तार निम्ति। उत्तरदायी तथा स्मार्ट राज्य सौम्य शक्तिको सामर्थ्य महसूस गर्दछन्। किनकि, न्यूनतम लगानीमा अधिकतम प्रतिफल भित्र्याइने कुनै साधन छ भने त्यो सौम्य शक्ति नै हो।
सौम्य शक्तिको सामर्थ्य बुझेरै विश्वका धेरै राष्ट्रले आज ‘सफ्ट पावर डिप्लोमेसी’ तथा ‘ट्र्याक टु डिप्लोमेसी’ अवलम्बन गरेका छन्। शस्त्रले गर्न नसक्ने काम शास्त्रले गर्छ भने झैं सैन्य बलबाट पार नहुने काम सौम्य पहलबाट सम्भव देखिएको छ।
यो तथ्य ठूला र शक्तिशाली मुलुकमा मात्र लागू हुने होइन। सौम्यता साना मुलुकका निम्ति झन् फलदायी देखिन्छ।
किनकि, सैन्य वा सामरिक शक्तिका भरमा उनीहरू विश्व रङ्गमञ्चमा प्रतिस्पर्धा गर्न सक्दैनन्। आफ्ना संस्कृति र सम्पदा, त्यसैगरी मानव संसाधन र प्रतिभाका आधारमा उनीहरू विश्वको ध्यान खिचिरहेका हुन्छन्।
युगोस्लाभियाबाट टुक्रिएर स्थापित क्रोयसियाकै उदाहरण लिऊँ न! मात्र ४० लाख जनसङ्ख्याको यूरोपको यस नयाँ तथा सानो देशले सन् २०१८ मा रूसमा आयोजित विश्वकपको फाइनलमा पुगेर सारा विश्वको ध्यान आफूतिर तानेको थियो। अफ्रिकी देश क्यामरुनले विश्वविजेता अर्जेन्टिनालाई सन् १९९० को विश्वकपको ‘ओपनिङ म्याच’ मा हराएर सारा विश्वलाई स्तब्ध एवं चकित बनाएको थियो।
मध्यअफ्रिकाको गरीबमध्येको एक मुलुक क्यामरुन क्वार्टर फाइनलसम्म पुगेर विश्वमा चर्चित भएको थियो। खेलकूद, साहित्य, चलचित्र र सङ्गीत मार्फत साना मुलुकहरू धूम्रकेतु झैं आकाशगङ्गामा चम्किएका अनगन्ती उदाहरण छन्।
औपनिवेशवादको पतन र शीतयुद्धको अन्त्यले प्रभुत्वको युग पनि अन्त्य गरेर प्रभावको युगको सूत्रपात गरिदियो। त्यसैले राष्ट्रहरूबीच सम्बन्ध बनाउन तथा आफ्नो देशको छवि उजिल्याउन सौम्य शक्ति अपरिहार्य देखिएको छ। संस्कृतिको सूक्ष्म र कोमल तर असरदार प्रभावबाट कोही पनि अछुतो रहन सक्दैन। यस्तो कुरामा राष्ट्रवादको कुनै जोरजुलुम चल्दैन।
उदाहरणका लागि, नेपाल र भारतबीचको राजनीतिक सम्बन्ध अत्यन्तै उतारचढावपूर्ण रहँदै आएको छ। एकथरी मानिसका लागि त राष्ट्रवादको अर्थ नै भारत विरोध भइदिएको छ। तर, सांस्कृतिक रूपमा हेर्ने हो भने, भारतीय सौम्य शक्तिको प्रभाव नेपाल लगायत दक्षिणएशियाका सबै मुलुकमा जबर्जस्त छ।
भारतको ‘जानीदुश्मन’ पाकिस्तानमा समेत बलिउडको मात अजबको छ। किशोरकुमार र लता मंगेशकर नेपालमा त्यसैगरी रुचाइन्छ जसरी नेपालीहरू नारायणगोपाल र तारादेवीको आवाजमा आनन्दित बन्छन्।
हाम्रा दुई छिमेकी चीन र भारत अर्थतन्त्रका दृष्टिले मात्र विश्वका उदीयमान ‘सुपर पावर’ होइनन्, यी दुई मुलुक सौम्य शक्तिका दृष्टिले पनि विश्वमा अग्रणी छन्। हाम्रा यी छिमेकीहरू सौम्य शक्तिको सामर्थ्य र असर बुझेरै छिमेक र सारा विश्वमा यसको प्रवर्द्धनमा लागेका छन्।
भारत झैं चिनियाँ भाषा नेपालीका लागि बोधगम्य नभएका कारण हामी उपर चिनियाँ सिनेमा, सङ्गीत र साहित्यको प्रभाव असाध्यै न्यून छ। भाषा नै प्रभाव विस्तारको मुख कारक हृदयङ्गम गरेर चीन आज विश्वभर कन्फुसियस सेन्टर मार्फत भाषा विस्तारमा लागेको छ।
रमाइलो के भने, सारा विश्वलाई कायल बनाउने बृहत्तर भारतीय कला क्षेत्र र बलिउडको एउटा बलियो खाबो नेपाली निर्मित छ। त्यहाँको कला र बलिउडको आकाशगङ्गामा टिमिटिमाइरहेका केही ताराहरू नेपाली हुन्। यसै विषयलाई लिएर पङ्क्तिकारले एक दशक अघि एक वर्ष मुम्बईमा खर्चिएर रेन्वो ओभर मुम्बई शीर्षकमा वृत्तचित्र निर्माण गरेको थियो।
बङ्गालका प्रसिद्ध सङ्गीतकार सलिल चौधरीले सन् १९५८ मा बम्बई लगेका नेपालका मनोहरी सिंह सन् २०११ मा देहावसान हुनुसम्म भारतमा स्याक्सोफोनका पर्यायवाची रहे। सङ्गीतकार आरडी वर्मनका ‘दाहिने हात’ सिंहको स्याक्सोफोनले बलिउडको पार्श्व-सङ्गीतमा मादकता भरिदियो। त्यसैगरी, सिरहाबाट भागेर बम्बई पुगेका लक्ष्मण श्रेष्ठ अमूर्त आर्ट विधाका भारतमा सबैभन्दा प्रतिष्ठित कलाकार हुन्।
वृत्तचित्र निर्माणका क्रममा श्रेष्ठसँग मुम्बईको ताज होटेल पुग्दा करोड भारतीय रुपियाँभन्दा महँगा उनका क्यानभास होटलका लबीदेखि प्रेसिडेन्सियल सूइटसम्म देख्दा पङ्क्तिकारको छाती गर्वले फुलेको थियो।
वृत्तचित्रमा सात पात्रहरू; मनोहरी सिंह (स्याक्सोफोन), लक्ष्मण श्रेष्ठ (पेन्टिङ), उदितनारायण झा (पार्श्व-गायन), मनीषा कोइराला (अभिनय), राकेश श्रेष्ठ (ग्ल्यामर फोटोग्राफी), वसन्त कर्माचार्य (स्टेडिक्याम सिनेमाटोग्राफी) र अन्जन गजुरेल (आर्ट डाइरेक्सन) त्यति वेला समेटिए पनि भारतीय कला क्षेत्रमा नेपालीको योगदान र उपस्थिति व्यापक छ, जसबारे भारतीय र नेपाली दुवैथरी उनीहरूको उद्गम देशबारे थोरै मात्र जानकार छन्।
कत्थक तथा शास्त्रीय नृत्यकी महारानी सितारादेवी (सन् १९२०-२०१४), ‘फादर अफ इन्डियन जाँज’ लुइ ब्याङ्क्स (डम्बरबहादुर बुढापिर्थी) देखि मनीषा कोइरालाद्वारा निर्मित नेपाली सिर्जनशीलताको धरहरा संसारको कुनै पनि भूभागमा उभिएर हेर्दा प्रष्ट गोचर हुन्छ।
नेपाली सिर्जनशीलताको विश्व रङ्गमञ्चमा हुने प्रभाव सौम्य शक्ति मार्फत नै मापन गर्न सकिन्छ। यो शक्ति ‘राष्ट्रवाद’ भन्दा माथि हुन्छ।
नेपाल बाहिर नेपाली मात्र चम्केका छैनन्। भारतीय, चिनियाँ, पाकिस्तानी, अफ्रिकी, ल्याटिनी आदिले यूरोप र अमेरिकामा बनाएको नाम राष्ट्रवादको आँखाले हेर्न सकिन्न।
नेपालीमूलका फेशन डिजाइनर प्रबल गुरुङको आज जुन प्रसिद्धि छ, त्यो पक्कै पनि नेपालमै रहिरहेको भए सम्भव थिएन। जाँज म्युजिकमा औंला फिट्ने लुइ ब्याङ्क्स नेपालमै सीमित रहेका भए कहाँसम्म पुग्थे! लाग्छ, प्रतिभाशाली मानिस माछा जस्तै हुन्, अत्यन्त चलायमान अनि जति ठूलो माछा उति ठूलो पोखरी। र, पोखरीमा पनि नअटाए पूरै समुद्र।
नेपाली प्रतिभा आज विश्वका कला र प्राज्ञिक क्षेत्रसम्म फैलिइसकेका छन्। अक्सफोर्ड र हार्वर्ड पढ्ने मात्र होइन, पढाउने पनि नेपाली छन्। अन्तर्राष्ट्रिय कानूनका ज्ञाता प्राध्यापक सूर्य सुवेदीको प्राज्ञिक उन्नयनको यात्रा परिकथा झैं लाग्छ। उनको मेधावी व्यक्तित्वकै कारण उनले विद्यावारिधि गरेको अक्सफोर्ड विश्वविद्यालयले उनको नाममा पुरस्कार नै स्थापित गरिसकेको छ।
सौम्यता मार्फत बनाएको छवि प्रशंसनीय छ, तर अझै अधुरो र अपुग छ। महाकवि देवकोटाले भने जस्तै संसारलाई सुनाउने र देखाउने (श्रव्य-दृश्यको युग भएकाले) कथा थुप्रै छन्। सौम्य शक्तिको तागत नबुझेर वा बुझ पचाएर सरकार सरक्क पन्छिएको वेला, यो काम पनि हाम्रै जिम्मेवारीभित्र पर्दछ, अहिले।
(हिमालको २०७८ कात्तिक अङ्कमा 'मृदु मुस्कान' शीर्षकमा प्रकाशित।)