वैशाखमा मध्यावधि चुनावको प्रश्नमा अलमलिए देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यावधि चुनावका विषयमा आफूले भन्दा पनि गठबन्धनले गर्ने निर्णय अन्तिम हुने बताएका छन्।
बाढी र पहिरो पीडितसँग भेटघाट गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मध्यावधि चुनाव सम्बन्धी बोलेका हुन्। वैशाखमा प्रतिनिधि सभाको चुनाव हुन्छ त भन्ने प्रश्नमा उनी अलमलिए।
प्रायः हरेक प्रश्नको फटाफट उत्तर दिएका देउवा चुनाव सम्बन्धी प्रश्नमा बोल्दाबोल्दै रोकिए। “अब चाइने..., वैशाखमा त..., यसमा हेर्नुस्,” प्रधानमन्त्री देउवाले अलमलिंदै भने, “गठबन्धन सरकार छ। गठबन्धनको सल्लाह अनुसार हुन्छ, एक्लै गर्ने कुरा भएन।”
यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि वैशाखसम्म चुनाव गर्नुपर्ने बताएका थिए। उनले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्न सकिने तर्क गरेका थिए।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्बन्धी सोधिएको प्रश्नको जवाफमा देउवाले यसलाई लागू गरिने बताए। “एमसीसी पास हुन्छ। संशोधन गर्नुपर्ने केही छैन,” देउवाले भने, “एमसीसीको झुटो प्रचार गरिएको छ।”
नेपालमा अनुदान आउन नदिन केही तत्त्व सक्रिय रहेको उनको भनाइ थियो। देउवाले भने, “यो त ऋण होइन, अनुदान हो। नेपालमा अनुदान आउन नदिने तत्त्व छ। सित्तै दिन्छु भन्दा पनि पैसा चाहिएन भन्छन्, यार।”
उनले कांग्रेसको महाधिवेशन गर्ने जिम्मा निर्वाचन समितिलाई दिएको बताए। अधिवेशन शुरू भइसकेको र अब कति वेला के गर्ने भन्ने निर्वाचन समितिले तय गर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री देउवाले बाढी र पहिरो पीडितका लागि विशेष कार्यक्रम ल्याउने बताए। अहिले उद्धार र राहतको कार्यक्रम चलिरहेको र त्यसपछि दीर्घकालीन कार्यक्रम लागू हुने उनको भनाइ थियो।