सीके राउतको वाईसीएल सम्झाउने ज्यादती
तीन वर्षअघि सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको दाबी गरेका चन्द्रकान्त (सीके) राउतका कार्यकर्ताले जनकपुरमा वाईसीएलको झल्को दिने ज्यादती गरेका छन्।
राउतका कार्यकर्ताले बिहीबार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर दुर्व्यवहार गरे। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार, उनीहरूले कुशवाहलाई अर्धनग्न बनाएर हिलो खन्याउँदै नगर परिक्रमा गराएका थिए।
“एकाएक लाठी–भाला सहित खानेपानी कार्यालयमा आएको समूहले दुव्यर्वहार गरेछ,” प्रमुख जिल्ला अधिकारी बास्तोलाले हिमालखबरसँग भने, “समस्या भए शान्तिपूर्ण ढङ्गले समाधान गर्नुपर्नेमा उनीहरूले जे गरे त्यो भर्त्सनायोग्य र अमानवीय छ।”
राउत नेतृत्वको ‘स्वतन्त्र मधेश गठबन्धन’ ले अलगाववादी नारा त्यागेको जनाउँदै २४ फागुन २०७५ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेको थियो। त्यसपछि राउतले जनमत पार्टी गठन गरेका थिए। आज उनै राउतका कार्यकर्ताले जनकपुरमा कानून हातमा लिने प्रयास गरेको देखिन्छ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लाल राउतको पार्टीले कानूनी राज्य र लोकतन्त्र विरोधी काम गरेको बताउँछन्। “लोकतन्त्रमा शान्तिपूर्ण ढङ्गले विरोध गर्नु नराम्रो होइन, तर कानून हातमा लिएर कसैको इज्जत र मर्यादामाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन,” लालले भने, “युवाशक्ति समाज र देशलाई नै बर्बादीतिर लैजाने बाटोमा लाग्नु दुर्भाग्य हो।”
मानव अधिकारकर्मी चरण प्रसाईं राउतका कार्यकर्ताको गतिविधिलाई बर्बरताको पराकाष्ठा भन्न रुचाउँछन्। उनी भन्छन्, “यो सभ्य समाजमा कल्पना पनि गर्न नसकिने कुरा हो।”
वाईसीएलको सिको
२०६३ सालमा शान्ति प्रक्रियामा आएपछि पनि नेकपा (माओवादी)ले योङ कम्युनिष्ट लिग (वाईसीएल) मार्फत हिंसात्मक गतिविधि जारी राख्यो। त्यो अर्धसैन्य दस्ताको कतिपय गतिविधि सशस्त्र द्वन्द्व सम्झाउने खालेको थियो।
अहिले राउतका कार्यकर्ताले जनकपुरमा वाईसीएलको झल्को दिने क्रियाकलाप गरेको मानव अधिकारकर्मी बताउँछन्। मधेश मानव अधिकार गृह (माहुरीहोम)का रवीन्द्रनाथ ठाकुर राउतका कार्यकर्ताले वाईसीएलको सिको गरेको बताउँछन्।
केही दिनअघि मात्रै नेपालगञ्जका अधिकारकर्मीले काठमाडौंमा शान्तिपूर्ण धर्ना दिएर सरकारलाई झुकाएको उदाहरणबाट सिक्न राउतलाई ठाकुरको सुझाव छ। “वाईसीएलको यस्तै गतिविधिपछि २०६४ मा माओवादी ठूलो पार्टी बनेको देखेका सीके राउतका कार्यकर्ताले हिंसाको सहारा लिएको देखियो,” अध्यक्ष ठाकुर भन्छन्, “हिंसाद्वारा बनेको शक्ति कति चाँडो क्षयीकरण हुँदो रहेछ भन्ने त स्वयं माओवादीको ओरालो यात्रा हेरेर सिक्नुपर्ने हो।”
फेरि यस्तै गर्ने चेतावनी
खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका निमित्त प्रमुख कुशवाहमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका १० जनालाई निशर्त रिहा गर्नुपर्ने माग राखेर जनमत पार्टीले जिल्ला प्रहरी कार्यालय, धनुषामा धर्ना दिएको छ। आफ्ना कार्यकर्ताले कुशवाहमाथि दुर्व्यवहार गरेर कुनै गल्ती नगरेको जनमत पार्टीका उपाध्यक्ष मो. अब्दुल खानको भनाइ छ।
आफ्नो पार्टी अध्यक्ष राउतको जनकपुरस्थित घर अगाडिको सडक दुरुस्त नराखेको भन्दै उनका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन्। एक महीनादेखि ताकेता गर्दा पनि माग पूरा नभएपछि कुशवाहलाई अर्धनग्न बनाएर घुमाएको उपाध्यक्ष खान बताउँछन्। उनी भन्छन्, “हाम्रो पार्टी अध्यक्षको मात्रै होइन, स्थानीयको घरको बाटो अगाडि पनि खानेपानी कार्यालयले खाल्डैखाल्डा बनाएर छाडेपछि कारबाही गरेका हौं।”
जनमत पार्टीले प्रदेश २ मा भ्रष्टाचार विरोधी अभियान चलाएको र यस्तो गतिविधिलाई निरन्तरता दिने उपाध्यक्ष खानको भनाइ छ। उनले हिमालखबरसँग टेलिफोनमा भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेन वा मुख्यमन्त्रीले जनतासँग माफी मागेनन् भने कुशवाहको जस्तो नियति अरूको पनि हुन्छ।”
कानूनी कारबाहीको माग
दशक लामो माओवादी सशस्त्र द्वन्द्वका क्रममा ज्यादती गर्नेहरूलाई कानूनी कारबाही नहुँदा नै यस्तो घटनाले निरन्तरता पाएको मानव अधिकारकर्मी बताउँछन्। उनीहरूका अनुसार, सङ्क्रमणकालीन न्यायलाई वेलैमा टुङ्गोमा पुर्याएको भए यस्तो घटना हुँदैनथ्यो।
मानव अधिकारकर्मी चरण प्रसाईं राजनीतिको नाममा हुने अपराधीकरणलाई उन्मुक्ति दिंदा यस्तो घटना बारम्बार दोहोरिने गरेको बताउँछन्। मूलधारमा आएको दाबी गर्ने कुनै पनि पार्टीलाई यस्तो अपराध गर्न दिन नहुने उनको भनाइ छ।
“यस्तो अपराधमा संलग्नलाई कडाभन्दा कडा कानूनी कारबाही गर्नुपर्छ,” प्रसाईं भन्छन्, “राजनीतिको नाममा कुनै पनि अपराधीले छूट पाउनु हुँदैन।”