गठबन्धनको तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव
विपक्षी गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई प्रस्ताव गरेको छ।
बिहीबार बसेको विपक्षी गठबन्धनको बैठकले पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको हो। विपक्षी दलको तर्फबाट प्रदेश सभामा बोल्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जमकट्टेलले पनि पाण्डेलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको बताएका छन्।
जमकट्टेलले भने, “विपक्षी गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छौं।” यस विषयमा विपक्षी दलबीच सहमति भएको उनले बताए।
बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभा बैठकमा बोल्दै विश्वासको मत मागेकी छन्। २ भदौमा एमालेको एकल बहुमतबाट शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन्। एमाले विभाजन भएर १३ सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी हुन्।
एक जना सांसदको निधन भएकाले ११० सदस्यीय प्रदेश सभामा अहिले १०९ सांसद छन्। बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ। अहिले एमालेका ४३, कांग्रेसका २२, माओवादीका २३, एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन्।