३८ घण्टापछि दुहबी सबस्टेशन सञ्चालनमा
लगातारको वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थित १३२ केभी सबस्टेशन ३८ घण्टापछि सञ्चालनमा आएको छ।
डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेशन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको हो। “हाम्रो टीमको रात–दिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दा लगायतको सहयोगबाट सबस्टेशनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौं,” नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने। उनले दुहबी सबस्टेशनबाट निकालिएका लाइनको क्रमशः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिरहेको बताए।
प्रदेश १ मा विद्युत् आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेशन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरमा विद्युत् आपूर्ति बन्द भएको थियो। सबस्टेशन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँमा विद्युत् आपूर्ति शुरू भइसकेको छ।
उपकरणमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेशन चार्ज गर्न सफल भएको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले बताए। सबस्टेशनमा रहेका चार वटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभीए छ।
अत्तरिया-चमेलिया प्रसारण लाइन पनि सञ्चालनमा
वर्षाका कारण विभिन्न स्थानमा रूख ढल्दा बन्द भएको अत्तरिया (कैलाली)-चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ।
अवरोध हटाएर बिहीबारबाट प्रसारण लाइन सञ्चालनमा आएको हो। प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा पर्ने अधिकांश भागमा विद्युत् आपूर्ति शुरू भएको छ।