किसानको शत्रु बाँदर
जङ्गलमा बस्ने बाँदर पछिल्लो समय गाउँघर वरिपरिका रूख, पराल तथा खरका थुप्रामा बस्न थालेपछि किसानलाई बालीनाली जोगाउनै कठिन भएको छ।
धनकुटा नगरपालिकाले २०७५ सालमा एउटा नयाँ कार्यक्रम ल्यायो- बाँदर समात्ने। धनकुटामा समातिएका बाँदर सर्लाहीको जङ्गलमा लगेर छोडेको विषय निकै चर्चामा आयो। देशका अन्य ठाउँका केही स्थानीय तहले पनि यसको सिको गरे।
तर, यसको उल्टो असर पर्यो। कतिसम्म भयो भने, जुन ठाउँबाट समातेर ल्याइएको हो, त्यही ठाउँमा पुर्याउन थालियो। किनकि, छोडिएको ठाउँमा बाँदरले दुःख दियो।
यो कार्यक्रमले स्थानीय सरकार र बाँदर समात्ने सीप भएका मान्छेलाई भने फाइदा भयो। सीप भएका मान्छेले बाँदर समात्ने काम नै पाए। रोजगारी नै मिल्यो। तर, कृषकको साझा समस्याको हल भने हुन सकेन।
त्यसपछि स्याङ्जाको वालिङ नगरपालिकाले बाँदर धपाउन मेसिनको प्रयोग गरेको थियो। त्यो पनि सफल हुन सकेन। अनि बाँदर धपाउन बन्दूक जस्तै आवाज आउने मेसिन बनाइयो। त्यो आवाजसँग पनि बाँदर अभ्यस्त भए।
अब बाँदर मात्रै नभएर बँदेल, दुम्सी, मृग, खरायो आदिले पनि किसानलाई समस्यामा पारेका छन्। अझ पछिल्लो समय त बाँदर सुविधाभोगी हुन थालेका छन्। घर छेउछाउमै बस्ने गरेका छन्।
अब बाँदर मात्रै नभएर बँदेल, दुम्सी, मृग, खरायो आदिले पनि किसानलाई समस्यामा पारेका छन्। अझ पछिल्लो समय त बाँदर सुविधाभोगी हुन थालेका छन्। घर छेउछाउमै बस्ने गरेका छन्।
किन आयो त बाँदरको समस्या? बाँदर त पहिले पनि हुन्थे। किसानले पहिले पनि खेतिपाती गर्थे। बाँदरले बाली खाने र किसानलाई दुःख दिने पहिलेदेखि नै गर्दै आएका हुन्। किसानले आफ्नै तरीकाले बाँदर व्यवस्थापन गर्थे। र, यो समस्याका रूपमा देखिएको थिएन।
जब माओवादी सशस्त्र विद्रोह शुरू भयो, गाउँघरबाट माओवादीले भरुवा बन्दूक लग्न थाले। अर्कातिर, सरकारले पनि बन्दूक आफ्नो नियन्त्रणमा राख्न थाल्यो। सर्वसाधारणले जिल्ला प्रशासन तथा सुरक्षा निकायमा बन्दूक बुझाए। जसले गर्दा किसानले बाँदरको व्यवस्थापन गर्न सकेनन्।
अर्कातर्फ, बाँदरको सङ्ख्यामा पनि वृद्धि भयो। उनीहरूका लागि जङ्गलमा भएको कन्दमूल वा जङ्गली फलले नपुग्ने भयो। जसले गर्दा सीधै बस्तीमा आउन थालेका हुन्।
तीन दशक अघिसम्म उच्च पहाडी क्षेत्रका किसानका लागि बाँदर परिचित नाम थिएन। अहिले उनीहरूको समय बाँदर धपाउनमै बित्ने गरेको छ। मध्य पहाडी तथा उच्च पहाडी क्षेत्रका किसानलाई गलपासो जस्तै भएको छ, बाँदर।
एक-दुईको सङ्ख्यामा हिड्ने बाँदरले खासै नोक्सानी गर्दैन। यो अटेरी पनि हुन्छ। घरभित्रै गएर खानेकुरा खाइदिन्छ।
किसानका लागि सबैभन्दा ठूलो समस्या भनेको ठूलो समूहमा हिंड्ने बाँदर हुन्। हुलमा हिंड्ने बाँदरले क्षणभरमै बालीनाली सखाप पारिदिन्छ। मकै, भटमास, आलु, बदाम, धान, कोदो, जौ, गहुँ, फापर, मूला, गाँजर, तरकारी, गोलभेंडा, सागसब्जी, फलफूल केही बाँकी राख्दैन। महीनौं लगाएर जोगाएको बालीनाली केही मिनेटमै तहसनहस बनाइदिन्छ।
अहिले गाउँमा प्रत्येक घरमा एक-दुई जना बाँदर धपाउनकै लागि कुरुवा बसेका हुन्छन्। त्यति गर्दा पनि बालीनाली जोगाउन मुश्किल हुन्छ। महीनौंको परिश्रमलाई बाँदरले खाइदिंदा पनि किसान टुलुटुलु हेरेर बस्न बाध्य छन्।
सामान्य किसिमले धपाउँदा बाँदर भाग्दैनन्। खेतमा अन्नबाली सखाप पार्दा पनि मार्न सकिराखेका छैनन्। वन्यजन्तु मारेकोमा जेल जानुपर्ला भन्ने डर छ, किसानमा।
सामान्य किसिमले धपाउँदा बाँदर भाग्दैनन्। खेतमा अन्नबाली सखाप पार्दा पनि मार्न सकिराखेका छैनन्। वन्यजन्तु मारेकोमा जेल जानुपर्ला भन्ने डर छ, किसानमा।
बाँदरलाई मार्न गाह्रो छैन। एउटा रूखबाट अर्को रूखमा हाम फाल्दै भाग्ने बाँदर जमीनमा भने धेरै दौडन सक्दैन। शिकारी कुकुरले मार्न सक्छ। फेरि जुन ठाउँमा बाँदर मारिएको हो, त्यो ठाउँमा लामो समयसम्म आउँदैनन्। तर, किसान जेल जाने डरले बाँदरलाई मार्न खोज्दैनन्।
कसरी गर्ने समाधान?
मान्छेले जङ्गली जनावरलाई पनि घरपालुवाका रूपमा राख्न सकेको छ। कतिपय देशमा संरक्षण गरिन्छ भने कतिपय देशमा मारेर सकिन्छ। धेरै विकसित देशमा बाँदरलाई मारेर व्यवस्थापन गरिएको छ। हाम्रो जस्तो विकासोन्मुख मुलुकमा बाँदरलाई वन्यजन्तु संरक्षणभित्र समावेश गरी संरक्षण गरिंदै आएको छ।
केही वन्यजन्तुलाई संरक्षण गरेर मात्रै नहुँदो रहेछ। किसानका हितका लागि पनि अब स्थानीय स्तरमा बाँदर मार्ने अधिकार दिनुपर्छ। यदि यो सम्भव छैन भने समात्न दिनुपर्छ। किसानले समातेका बाँदरलाई उचित ठाउँमा राख्ने व्यवस्था गर्नुपर्छ। रेखदेख र पालनपोषणको जिम्मा सरकारले लिनुपर्छ।
बाँदरलाई समाउन त्यति गाह्रो पनि छैन। बाँदर खानेकुराका लागि ज्यान फाल्ने जनावर हो। यसलाई समाउन स्थानीय स्तरमा उपलब्ध काठ, बाँसको खोर बनाउन सकिन्छ। खानेकुराका लागि त्यहाँ छिर्न सक्ने र बाहिर निस्कन नसक्ने व्यवस्था गर्न सकिन्छ। हुलका हुल आउने बाँदरलाई पनि थुप्रै खोरमा पारेर समात्न सकिन्छ।
यसरी समात्न पाउने व्यवस्था गर्न सकियो भने पनि किसानले बाँदरको समस्याबाट मुक्ति पाउँथे। तर, यति ठूलो समस्याबारे स्थानीयदेखि संघीय सरकारले खासै चासो दिएको देखिंदैन। अहिले उसै त किसानले खेतीपाती गर्ने काम कम हुँदै गएको छ, झन् बाँदर आतङ्क कायम रह्यो भने के होला?