अल्मुताइरीले नेपाल आउँदिनँ भनेका छैनन् : अध्यक्ष शेर्पा
नेपाली राष्ट्रिय फूटबल टीमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किन सकारात्मक देखिएका छन्।
अखिल नेपाल फूटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पासँगको छलफलपछि प्रशिक्षक अल्मुताइरी नेपाल फर्किन सकारात्मक देखिएका हुन्। कतारमा रहेका एन्फा अध्यक्ष शेर्पाले यस विषयमा प्रशिक्षक अल्मुताइरीसँग छलफल भइरहेको बताए।
पुनः राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न उनले अल्मुताइरीलाई आग्रह गरेका छन्। कतारबाट अध्यक्ष शर्पाले हिमालखबरसँग भने, “प्रशिक्षक अल्मुताइरीलाई नेपाल फर्काउन प्रयास गरिरहेका छौं।”
साफ च्याम्पियनसिपपछि नेपाली टोली स्वदेश फर्किएको छ भने प्रशिक्षक अल्मुताइरी उतैबाट कतार पुगेका छन्। एन्फा अध्यक्ष शेर्पाले बुधबार कतारमै अल्मुताइरीलाई भेटेका हुन्।
प्रशिक्षक अल्मुताइरी नेपाल आउने/नआउने विषयमा टुङ्गो लाग्न बाँकी रहेको उनले बताए। “प्रशिक्षक अल्मुताइरीले नेपाल आउँदिनँ भनेका छैनन्,” अध्यक्ष शेर्पाले हिमालखबरसँग भने, “छलफल गरिरहेका छौं, टुङ्गो लाग्न बाँकी छ।”
यसअघि प्रशिक्षक अल्मुताइरीले नेपाल नआउने घोषणा गरेका थिए। नेपाली टोली साफ च्याम्पियनसिपको फाइनलमा पुगेपछि आयोजित पत्रकार सम्मेलनमा उनले फाइनल खेल नेपाली टोलीसँगको अन्तिम हुने घोषणा गरेका थिए।
उनको अगुवाइमा नेपाली टोली पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। फाइनलमा भने भारतसँग पराजित भएको थियो।