बागमतीको मुख्यमन्त्री पाण्डे कि बानियाँ?
बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको भए पनि नयाँ मुख्यमन्त्री को बन्ने भन्ने टुङ्गो लाग्न सकेको छैन।
नेकपा (एमाले) विभाजन भएपछि शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको हो। उनले विश्वासको मत लिन एक साताअघि नै प्रदेश सभामा प्रस्ताव दर्ता गरिसकेकी छन्। शाक्यको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल गर्न बिहीबार प्रदेश सभा बैठक बोलाइएको छ।
तर, बुधबारसम्म नयाँ मुख्यमन्त्री कुन पार्टीको हुने भन्ने यकिन भएको छैन। एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका नेता राजेन्द्र पाण्डे र नेपाली कांग्रेसको संसदीय दलका नेता इन्द्र बानियाँ दाबेदार देखिएका छन्।
यसअघि संघीय सरकारले पूर्णता पाएसँगै कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्रीको दौडबाट बाहिरिएको चर्चा चलेको थियो। सत्तारूढ गठबन्धनबीच बागमतीमा एकीकृत समाजवादीलाई सरकारको नेतृत्व दिने सहमति भएको अड्कल गरिएको थियो। त्यसै अनुरुप, एकीकृत समाजवादीका नेता पाण्डेले सरकार गठनका लागि तयारी थालेका थिए।
तर, पछिल्लो समय कांग्रेस नेता बानियाँ पनि मुख्यमन्त्रीको दाबेदार रहेको कांग्रेस नेताहरू बताउँछन्। “सांसद बानियाँ मुख्यमन्त्रीको दौडबाट बाहिरिएका होइनन्, बलियो बन्दै छन्,” उनी निकट एक सांसदले भने।
कांग्रेस संसदीय दलका नेता बानियाँले पनि यसबारे पार्टीको आधिकारिक निर्णय हुन बाँकी रहेको प्रतिक्रिया दिए। उनले हिमालखबरसँग भने, “व्यक्तिगत रूपमा मैले भन्नुभन्दा पनि पार्टीको आधिकारिक धारणा/निर्णय आउन बाँकी छ। ४ कात्तिक बिहानसम्म पार्टीले केही नयाँ निर्णय गर्नेछ।”
कांग्रेसले साथ नदिने छनक पाए पनि एकीकृत समाजवादीले भने खासै तयारी गरेको छैन। एकीकृत समाजवादीले गठबन्धनको सहमतिमा पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी अगाडि बढाएको थियो। त्यसै अनुसार, गठबन्धनबाट धोका नहुने विश्वासमा आफूहरू रहेको एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रदेश सांसद मुनु सिग्देलको भनाइ छ।
मुख्यमन्त्री शाक्यले २४ असोजमा प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गरेकी थिइन्। ४ कात्तिकमा बस्ने गरी बैठक स्थगित भएपछि विश्वासको प्रस्तावमाथि छलफल हुन सकेको थिएन।
यो अवधिमा मुख्यमन्त्री शाक्यले खासै दौडधुप पनि गरेकी छैनन्। उनले विश्वासको मत पाउन अन्य दलसँग छलफल अघि बढाएको पनि देखिएको छैन। सबैको सहयोग पाउने विश्वासमा रहेको उनी बताउँछिन्। मुख्यमन्त्री शाक्यले हिमालखबरसँग भनिन्, “विभिन्न पार्टीका नेताहरूले विगतमा दिएको वचनमा नै विश्वास गरेकी छु।” त्यसैले थप ठोस पहल गर्न आवश्यक नठानेको उनको भनाइ छ।
२ भदौमा एमालेको एकल बहुमतबाट शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन्। शाक्य अहिले अल्पमतमा छिन् । एमाले विभाजन भएर १३ सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी हुन्।
एक जना सांसदको निधन भएकाले ११० सदस्यीय प्रदेश सभामा अहिले १०९ सांसद छन्। बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ। अहिले एमालेका ४३, कांग्रेसका २२, नेकपा (माओवादी केन्द्र)का २३, एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन्।
यस्तो छ सम्भावित कार्यसूची
४ कात्तिकमा बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यसूची छ। मुख्यमन्त्री शाक्यले २४ असोजमा बसेको प्रदेश सभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेकी थिइन्।
मुख्यमन्त्रीको प्रस्तावमाथि बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। उनका अनुसार, ४ कात्तिकमा प्रदेश सभाको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र विपक्षका सांसदले मतदान गर्न छुट्टाछुट्टै कोठाको पनि व्यवस्था गरिसकिएको छ।
प्रदेश सभा बैठक सार्न एमालेको आग्रह
४ कात्तिकमा बोलाइएको प्रदेश सभाको बैठक सार्न एमालेले प्रदेश सभा सचिवालयलाई आग्रह गरेको छ। बुधबार पत्र पठाउँदै ११ कात्तिकमा सार्न आग्रह गरेको हो।
यो साता स्थानीय अधिवेशन हुने भएकाले प्रदेश सभा सदस्यहरू बैठकमा उपस्थित हुन नसक्ने जनाउँदै एमालेका प्रमुख सचेतक दीपक निरौलाले प्रदेश सभा बैठक सार्न प्रस्ताव गरेका हुन्।