उद्धार र राहतका लागि सुदूरपश्चिम सरकारले छुट्यायो २७ करोड
सुदूरपश्चिम प्रदेश सरकारले बाढी र पहिरोमा परेका प्रदेशबासीकाे उद्धार र राहतका लागि तत्काल २७ करोड २५ लाख छुट्याएको छ।
प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले विपद् व्यवस्थापन, राहत र उद्धारका लागि तत्काल खर्च गर्न सक्ने गरी २७ करोड २५ लाख छुट्याएको हो। ‘यो रकम तत्कालका लागि हो। यो रकम राहत र उद्धारमा मात्रै खर्च हुन्छ,” प्रदेश सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले हिमालखबरसँग भनिन्, “क्षतिको यकिन विवरण आएपछि थप राहत उपलब्ध गराउने निर्णय गर्छाैं।”
प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ। प्रदेशका नौ वटा जिल्लामा सहयोग रकम तत्काल पठाइने उनले बताइन्।
जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरेर जोखिम क्षेत्रमा रहेका बासिन्दालाई उद्धारको व्यवस्था गरिएको उनले बताइन्। विस्थापित नागरिकलाई तत्काल खाद्यान्न उपलब्ध गराइने मन्त्री जोशीको भनाइ छ।
कैलाली, कञ्चनपुर, डोटी, बझाङ र डडेल्धुरामा धेरै क्षति भएको छ। क्षति भएका स्थानमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, स्थानीय सरकार तथा संघसंस्था खटिएका छन्।
कैलारीमा तीन करोडको खाद्य ब्यांक
कैलालीको कैलारी गाउँपालिकाले बाढी प्रभावितका लागि तत्काल तीन करोडको खाद्य ब्यांक स्थापना गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले बाढीले धानबालीमा क्षति पुगेकाले खाद्यान्न अभाव हुन नदिन खाद्य ब्यांक स्थापना गर्ने निर्णय गरेको हो।
विकास बजेट कटौती गरी तत्काल तीन करोड रकम कोषमा दाखिला गरिने अध्यक्ष चौधरीले बताए। खाद्य ब्यांक कोषमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतले आफ्नो एक दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय पनि भएको उनले बताए।
बाढी र डुबानले स्थानीय बासिन्दा मर्कामा परेकाले चालू आर्थिक वर्षमा गाउँपालिका तथा वडा कार्यालयबाट दिइने सिफारिशमा शुल्क नलिने निर्णय गरिएको अध्यक्ष चौधरीले बताए। त्यस्तै, गाउँपालिकाले हिउँदे बालीमा किसानलाई अनुदान दिने भएको छ।