‘गोर्खा’ गौरव
विश्वमञ्चमा नेपालको महत्त्वपूर्ण सौम्य शक्तिका रूपमा स्थापित ‘गोर्खा’ हरू मार्फत लाभ लिने अवसर गुमिरहेको छ।
नेपाललाई विशेष गरी तीन चिजले विश्वमा चिनाउने गरेका छन्- हिमाल, बुद्ध र गोर्खा सैनिक। तर विडम्बना, यी तीन चिजको महत्त्व बुझेर राष्ट्रिय स्वार्थमा उचित प्रयोग गर्न जानिएको वा सकिएको छैन। यी सौम्य शक्तिबाट लाभ लिने अवसर खेर गइरहेको छ।
हिमालै हिमाल भएकाले पर्यटकहरू यहाँ यत्तिकै ओइरिन्छन्। बुद्ध जन्मेको देशका रूपमा अन्तर्राष्ट्रिय चिनारी र आकर्षण कता हो कता उच्च हुन्छ। अनि, गोर्खाली सैनिकको लडाकू छवि र इमानले दिएको विश्वप्रसिद्ध नेपाली पहिचान विशिष्ट छ। तर, हाम्रो नेपाली आँखाले गोर्खा सैनिकलाई हेयभावले हेर्छ।
‘गोर्खा’ हरूका बारेमा कुरा गर्दा विशेष गरी नेपालका सम्भ्रान्त/शासक वर्गले उनीहरूका लागि प्रयोग गर्ने विशेषण त्यति नरम हुँदैन। अभिमानवश तिनले गोर्खाहरूलाई अशिक्षित र मोटा-बुद्धि भएका मानिसका रूपमा सम्बोधन गर्छन्। कतिले त निन्दा नै गर्छन्। त्यसो हुनुका धेरै कारण छन्। गोर्खाको इतिहासबारे पठन सामग्रीको अभावले पनि त्यस्तो भएको हो। मुख्य कारण चाहिं अज्ञानता हो।
खासमा गोर्खा सैनिकहरू नेपालको सबैभन्दा सफल निर्यात हुन्। तर, यसको सम्भावनाको कदर गरिएको छैन। नेपाल विकासशील देश भए पनि केही मान्छेको सोचले देशलाई गरीब बनाएको छ। गोर्खाहरूमाथि यो देश र यहाँका कुलीन जमातले गर्ने व्यवहारले त्यसको छनक दिन्छ। तर, अब हामीले त्यसबाट पाठ सिक्ने वेला आएको छ।
पछिल्लो ३२ वर्षदेखि गोर्खाहरू समान अधिकार र सेवासुविधाका लागि बेलायत सरकारसँग एक्लै लडिरहेका छन्। नेपाल सरकारले उनीहरूलाई कत्ति पनि सहयोग गरेको छैन।
सन् १८१५ मा शुरू भएको २०६ वर्ष पुरानो संस्था हो, गोर्खा सैनिक। बितेका दुई शताब्दीमा त्यस्ता कुनै युद्ध थिएनन् जसमा बेलायतीको तर्फबाट गोर्खा फौज नलडेको होस्। तसर्थ, आफ्नो बहादुरीका लागि विश्वभर उनीहरू प्रख्यात छन्।
गोर्खालीलाई बहादुरका रूपमा चित्रित गर्ने बेलायतीको भित्री उद्देश्य हामीले बुझेकै कुरा हो। तिनले गोर्खा सैनिकलाई विश्वविख्यात पनि बनाइदिए। यस विपरीत, नेपाली शासक वर्गले गोर्खा समुदायलाई सधैं हल्काफुल्का रूपमा लिए, उनीहरूका लागि कुनै काम गरेनन्।
पछिल्लो ३२ वर्षदेखि गोर्खाहरू समान अधिकार र सेवासुविधाका लागि बेलायत सरकारसँग एक्लै लडिरहेका छन्। नेपाल सरकारले उनीहरूलाई कत्ति पनि सहयोग गरेको छैन। बरु गोर्खाहरूले आफ्नो मातृभूमि प्रतिको जिम्मेवारी कहिल्यै भुलेका छैनन्।
अहिलेको कोरोनाभाइरस महामारीमा पनि भूतपूर्व गोर्खा सैनिकहरूले नेपालमा स्वास्थ्य सामग्रीहरू पठाएर सहयोग गरेको देखियो। ‘गोर्खा’ सँग सम्बन्ध भएका वा यसबारे जानकार धनाढ्यहरूले ठूलो रकम सहायता उपलब्ध गराएका छन्।
अन्तर्राष्ट्रिय मञ्चमा सरकारी कूटनीतिक माध्यमभन्दा गोर्खा संस्थाको साख गहकिलो छ। यसको समुचित प्रयोग गर्न सकेको भए अन्तर्राष्ट्रिय समुदायबाट अधिक लाभ हासिल गर्न सकिन्थ्यो।
हालसम्म ३० वटा देशमा नेपालका दूतावास छन्। तिनमा प्रायः योग्यताको आधारमा नभई राजनीतिक निकटता, नाता-सम्बन्धका आधारमा वा शासकले दिने ‘बक्सिस’ स्वरूप राजदूतको नियुक्ति हुन्छ। त्यस्ता राजदूतले नेपालको प्रतिनिधित्व गरेर देशको प्रचारमा कुनै भूमिका निर्वाह गरेको देखेका छैनौं। बरु गोर्खा समुदायले सच्चा दूत बनेर नेपाललाई विश्वमा चिनाइरहेको छ।
बेलायतसँग सन् १८१६ मा द्विपक्षीय सम्बन्ध स्थापना भएको हिसाबले नेपालको कूटनीतिक सम्बन्धको इतिहास दुई शताब्दी नाघिसकेको छ। हालसम्म १७१ वटा देशसँग कूटनीतिक सम्बन्ध गाँसिइसकेको छ। यति अन्तराल तथा अनुभव सँगाले पनि हाम्रो कूटनीति अझै शिशु अवस्थामै छ। अन्तर्राष्ट्रिय मञ्चमा सरकारी कूटनीतिक माध्यमभन्दा गोर्खा संस्थाको साख गहकिलो छ। यसको समुचित प्रयोग गर्न सकेको भए अन्तर्राष्ट्रिय समुदायबाट अधिक लाभ हासिल गर्न सकिन्थ्यो।
अञ्जानमै भए पनि नेपालले आजसम्म विदेश निर्यात गर्न सकेको सबैभन्दा बलियो र सफल ‘चिज’ नै गोर्खाहरू भएकोमा दुईमत छैन। अन्तर्राष्ट्रिय स्तरमा निकै ख्याति कमाएका गोर्खाहरूलाई आफ्नो प्रतिनिधि बनाएर नेपालले अझै पनि लाभ हासिल गर्नसक्छ। एक पटक अवसर दिएर त हेरौं!
(भूतपूर्व गोर्खा समेत रहेका गुरुङ आयो गोर्खाली पुस्तकका लेखक हुन्। यो लेख हिमाल मासिकको २०७८ कात्तिक अङ्कमा प्रकाशित छ।)