ग्लोबल आइएमईमा सहयात्री खाता खोल्दा सिमकार्ड सित्तैमा
ग्लोबल आइएमई ब्यांकमा निःशुल्क सहयात्री रेमिट्यान्स बचत खाता खोल्दा एनसेलको सिमकार्ड सित्तैमा पाइने भएको छ।
यसका लागि ग्लोबल आइएमई ब्यांक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच समझदारी भएको छ। समझदारी पत्रमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल एक्जियाटा लिमिटेडका कार्यकारी निर्देशक एन्डी चोङले हस्ताक्षर गरेका छन्।
यो सम्झौता अनुसार, वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपाली एवं उनीहरूका परिवार र बाह्य रेमिट्यान्स मार्फत आय भएका नेपालीले ग्लोबल आइएमई ब्यांकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निःशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्नेछन्।
सहयात्री सिममा ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गर्न २५० एमबी डाटा प्याक निःशुल्क उपलब्ध हुनेछ। त्यस्तै, सहयात्री सिमकार्डमा रु.२० मेन ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टकटाइम, २० वटा एसएमएस तथा २०० एमबी डाटा प्राप्त हुनेछ।
यसका साथै सिम सञ्चालन गरिएको दुई दिनभित्र रु.१०० वा सोभन्दा माथिको रिचार्जमा १०० मिनेट एनसेल टकटाइम तथा १०० एमबी डाटा पनि पाइनेछ। यो सिमकार्ड प्रयोगकर्ताले एक वर्षसम्म हरेक पटक रिचार्ज गर्दा १० प्रतिशत बोनस तथा भारत, मलेसिया एवं मध्यपूर्वी राष्ट्रमा कल गर्दा अतिरिक्त छूट पनि प्राप्त गर्न सक्ने जनाइएको छ।