इनरुवा सबस्टेशन डुबानमा, उपकरणमा ठूलो क्षति
अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेशन डुबानमा परेको छ।
सुनसरी खोला नै सबस्टेशनमा पस्दा ठूलो क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज) लक्ष्यका साथ दुवै सबस्टेशनको काम भइरहेको थियो।
बाढीले सबस्टेशनको कम्पाउन्ड वाल बगाएको छ। जडानका लागि राखिएका उपकरण डुबेका छन्। बाढीले केही उपकरण बगाएको र कार्यालय भवन समेत डुबानमा परेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
“अहिले सबस्टेशनभित्र खोला बगिरहेकाले क्षति पुर्याइरहेको छ, सबस्टेशन तालमा परिणत भएको छ, जान सक्ने अवस्था छैन, त्यहाँ रहेका कर्मचारी र श्रमिकलाई सुरक्षाकर्मीको सहयोगमा डुङ्गा मार्फत सुरक्षित स्थानमा सारिएको छ,” घिसिङले भने।
४०० केभी र २२०/१३२/३३ केभी सबस्टेशनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ। साथै, ट्रान्सफर्मर, रियाक्टर सर्किट ब्रेकर जस्ता मुख्य उपकरणहरू निर्माणस्थलमा ल्याइसकिएको थियो। बाढीका कारण सबै डुबानमा परेकाले उपकरणहरूमा क्षति पुगेको हो।