सात दशकमा तेह्रौं पटक भलबाढी ल्याउने वर्षा
नेपालमा तथ्याङ्क राख्न थालेको ७० वर्षको अवधिमा असोज–कात्तिकमा भलबाढी आउने गरी वर्षा भएको यो १३औं पटक हो।
जल तथा मौसम विज्ञान विभागले २५ असोज २०७८ मा नेपालबाट मनसुन बाहिरिएको घोषणा गर्यो। विभागले मनसुन बाहिरिएको घोषणा गरेको एक हप्ता नपुग्दै बङ्गालको खाडीमा विकास भएको नयाँ मनसुनी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण तीन दिनदेखि देशका सबैजसो ठाउँमा लगातार झरी परिरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो २४ घण्टामा देशका १५ वटा वर्षा मापन केन्द्रमा १५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। डडेल्धुराको साहुखर्कमा पछिल्लो २४ घण्टामा ३६१ मिलिमिटर वर्षा भएको छ। डोटीको गैरामा २६६, डडेल्धुरा स्टेशनमा २१०, जोगबुढामा १९९ मिलिमिटर वर्षा मापन गरिएको छ।
विभागका अनुसार, २४ घण्टामा १५० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ। विभागको अहिलेसम्मको रेकर्डले २ कात्तिक (१९ अक्टोबर)मा १५ स्थानमा अति भारी वर्षा भएको छ।
मनसुन बाहिरिएपछि असोज–कात्तिक घमाइलो हुने र किसानले अन्न भित्र्याउने समय हो। तर, यस पटक साउने झरीलाई नै बिर्साउने गरी कात्तिकमा वर्षा भइरहेको छ र त्यसले बाढीपहिरो निम्त्याएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, अक्टोबरमा ६ वटा वर्षा मापन केन्द्रमा अहिलेसम्म भएको वर्षाको रेकर्ड तोडिएको छ।
दार्चुलामा १ अक्टोबर २०१९ (१४ असोज २०७६) मा भएको ४० मिलिमिटर वर्षा नै अक्टोबरमा भएको सबैभन्दा धेरै वर्षा थियो। तर, यसपटक भने रेकर्ड तोडिएको छ। दार्चुलामा १८ अक्टोबर २०२१ (१ कात्तिक २०७८) मा ६९.३ मिलिमिटर वर्षा भएको छ।
त्यसैगरी, बैतडीको पाटनमा भएको ५८.७ मिलिमिटर वर्षा अक्टोबरको सबैभन्दा बढी वर्षा थियो। १५ अक्टोबर २०१४ मा (२९ असोज २०७१) बैतडीमा भएको वर्षाको रेकर्ड १८ अक्टोबर (१ कात्तिकमा) भएको वर्षाले तोडेको छ। यो १ अक्टोबरमा ७४.९ मिलिमिटर वर्षा मापन गरिएको छ।
अक्टोबरको रेकर्ड ब्रेक भएको अर्को स्थान हो, अछामको ओलीगाउँ। यो ठाउँमा ५ अक्टोबर २००९ (१९ असोज २०६६) मा ५ मिलिमिटर वर्षा भएकोमा यस वर्ष १९ अक्टोबर २०२१ (२ कात्तिक २०७८) मा १३०.३ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै, रुपन्देहीको लुम्बिनी, सर्लाहीको कर्मैया र डडेल्धुरामा पनि अक्टोबरको वर्षाको रेकर्ड तोडिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, रेकर्ड तोडिएका वर्षा मापन केन्द्र नयाँ हुन्।
विभागकी सिनियर मेटेरियोलोजिस्ट इन्दिरा कँडेलले विभागले स्टेशन स्थापना गरेर मनिटरिङ गर्न शुरू गरेयता ६ वटा स्टेशनमा अक्टोबरको रेकर्ड तोडिएको बताइन्। “मौसम स्टेशन स्थापना गर्नुअघिको रेकर्ड जानकारीमा छैन। स्टेशन स्थापना भएपछि अक्टोबरमा भएको वर्षाको रेकर्ड तोडिएको हो,” उनले भनिन्।
कहिले भएको थियो यस्तो वर्षा?
मनसुन बाहिरिए लगत्तै विकास भएको नयाँ मनसुनी प्रणालीका कारण मध्य अक्टोबरमा वर्षा भएपछि धेरैलाई आश्चर्यचकित गराएको छ। अहिले भइरहेको वर्षालाई धेरैले जलवायु परिवर्तनको कारणका रूपमा अर्थ्याएका छन्।
मौसमविद्हरूका अनुसार, मौसममा आउने उतारचढाव समुद्रको जलवायु प्रणालीमा निर्भर हुन्छ। जल तथा मौसम विज्ञान विभागकी सिनियर मेटेरियोलोजिस्ट कँडेलका भनाइमा, समुद्रको तातो पानी एक ठाउँबाट अर्को ठाउँमा सर्ने क्रममा त्यसले समुद्री सतहभन्दा माथिको हावालाई तताउँछ। र, उक्त हावा उचालिएर निश्चित उचाइमा पुगेपछि चिसिने क्रम शुरू हुन्छ। अनि त्यसले वर्षा गराउँछ।
अहिले बङ्गालको खाडीमा विकास भएको यस्तै प्रणालीले वर्षा गराएको उनी बताउँछिन्। “मनसुन बाहिरिएपछि पोस्ट–मनसुन अवधिमा यस्तो प्रणाली समय समयमा विकास भएको पाइन्छ,” उनी भन्छिन्, “विगतमा पनि अक्टोबरमा अत्यधिक वर्षा भएको इतिहास छ। यस वर्ष देशभर नै अलि ठूलो प्रभाव पर्यो।”
सन् २००९ को अक्टोबर पहिलो साता पनि अहिले जस्तै देशभर वर्षा भएको थियो। विभागका अनुसार, अक्टोबरको ५, ६ र ७ मा कञ्चनपुर, कास्की, बझाङ, कैलाली, डोटी, मुगु लगायत स्थानमा अत्यधिक वर्षा भएको थियो।
विभागको तथ्याङ्क अनुसार, ७ अक्टोबर २००९ (२१ असोज २०६६) मा बझाङको थलरामा ४०४.२ मिलिमिटर वर्षा भएको रेकर्ड छ। त्यस्तै, कास्कीको रिभानमा ३८०.६, कैलालीमा ३६१.३, स्याङ्जाको वालिङमा २२४.७ मिलिमिटर वर्षा भएको थियो।
त्यस्तै, २००९ कै ६ अक्टोबर (२० असोज २०६६) मा डडेल्धुराको साहुखर्कमा २८०.५, कञ्चनपुरको महेन्द्रनगरमा ३२६.३, कञ्चनपुरकै पर्सियामा २५८.८, डोटीको सिलगढीमा २३५ मिलिमिटर वर्षा मापन गरिएको थियो।
सन् २००९ भन्दा अघि पनि अक्टोबरमा देशका विभिन्न स्थानमा अत्यधिक वर्षा भएको रेकर्ड छ। यद्यपि, अहिले जस्तो देशभर प्रभाव नपरेको विभागले जनाएको छ।
जस्तो कि, २९ अक्टोबर १९९८ (१२ कात्तिक २०५५) मा कास्कीको पमदूरमा ३१५.९ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै, १३ अक्टोबर १९७३ मा लमजुङमा २५९ मिलिमिटर, ३० अक्टोबर १९५१ (१३ कात्तिक २००८) मा सिन्धुपाल्चोकमा २२९.१ मिलिमिटर, २७ अक्टोबर २००१ (११ कात्तिक २०५८) मा कपिलवस्तुको भगवानपुरमा २२८ मिलिमिटर वर्षा मापन गरिएको रेकर्ड छ।
विभागका अनुसार, नेपालमा सन् १९५१ देखि वर्षाको तथ्याङ्क राखिएको छ। यसरी असोज–कात्तिक (अक्टोबर)मा यसअघि १२ पटक भलबाढी आउने वर्षा भएको छ। ७० वर्षअघि कात्तिकमा सिन्धुपाल्चोकको गुम्थाङमा यस्तै वर्षा भएको थियो।