किन अपरिहार्य छ नेपाली सौम्य शक्ति (सफ्ट पावर) सङ्कथन?
देशलाई युगौंसम्म विश्व मानचित्रमा अटल राख्ने हो, साख र शान बढाउने हो भने हाम्रो सौम्य शक्तिलाई आत्मसात् गरी अघि बढ्नुको विकल्प छैन।
...तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइँदै र घिस्सिंदै गइरहेको कुरालाई भुलेका छौं
हीनताको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं
- भूपी शेरचन (हामी), रचनाकालः २०१७ साल
बितेका ६० वर्षमा नेपाली राजनीतिले धेरै आरोह-अवरोह भोगेको छ। तर, भूपीका यी कवितामा अन्तर्निहित प्रश्नको जवाफ आजसम्म नेपाली जनमानसले दिन नसकिरहेको आभास हुन्छ। हामी नेपाली अझै पनि त्यही मनोदशामा बाँचिरहेका छौं, जस्तो उनले लेखेका थिए।
उवेला कविले भने झैं के थियो त हाम्रो विगतको उचाइ? के थिए हाम्रा पूर्वस्मृति, जसलाई हामीले भुलेका थियौं, र अहिलेसम्म भुलिरहेकै छौं? हामीलाई लाग्छ, त्यो भनेको नेपाली गौरव हो, आत्मविश्वास हो। नेपालको त्यो ‘सौम्य शक्ति’ (सफ्ट पावर) हो, जसलाई हामी स्वयंले चिन्न र पर्गेल्न सकिरहेका छैनौं।
नेपालको शक्ति र असीम सम्भावनाको चर्चा गर्दा हामी अधिकांशलाई ‘सानो, गरीब र परनिर्भर देश’ का नागरिक हुनुको लघुताभासले पिरोल्ने गर्छ। भूगोल र जनसङ्ख्या मात्र होइन, सैन्य र आर्थिक शक्तिका आधारमा आफ्ना विशाल दुई छिमेक चीन र भारतभन्दा सानो भएकाले मात्र होइन, निरन्तरको राजनीतिक अस्थिरताले पनि हामीलाई वेलावेला हीनताबोधले थिच्छ। तर, सत्य के हो भने, हामीमा यस्तो शक्ति छ, जसले दुई विशाल र शक्तिशाली मुलुकबीच रहेर पनि आजसम्म यो मुलुक टिकाइरहेको छ, जोगाइरहेको छ।
हामी नेपालीले आफूसँग कुनै शक्ति छ भनी दाबी गर्नु उग्रराष्ट्रवादका फोस्रो नारा उराल्नु हुँदै होइन। यो त नागरिकको आफूमाथिको विश्वास हो। नेपाल र नेपालीसँग रहेको सौम्य शक्तिको सफलता हो।
हामी नेपालीले आफूसँग कुनै शक्ति छ भनी दाबी गर्नु उग्रराष्ट्रवादका फोस्रो नारा उराल्नु हुँदै होइन। यो त नागरिकको आफूमाथिको विश्वास हो। नेपाल र नेपालीसँग रहेको सौम्य शक्तिको सफलता हो।
के हो त नेपालको सौम्य शक्ति? फराकिलो अर्थमा भन्दा हाम्रो गर्विलो सङ्घर्षशील इतिहास, मौलिक दर्शन, इन्द्रेणी जाति र संस्कृति, समभाव अनि अन्यत्र कतै नपाइने प्राकृतिक विविधता यस्ता शक्ति हुन्, जसले हामी नेपालीलाई विशेष चिनारी दिँदै जस्तोसुकै सङ्कटबाट पार पाउने जाति बनायो। यही सौम्य शक्तिकै कारण हामी नेपाली भनेर संसारमा शिर ठाडो पार्न पाएका छौं।
चित्ताकर्षक भूगोल, अग्ला पर्वतमाला, गौतम बुद्धको जन्मभूमि, पशुपतिनाथ मन्दिर, रामजानकी मन्दिर, दुर्लभ जैविक विविधता जस्ता परम्परागत सौम्य शक्तिले विशाल शक्ति राष्ट्रलाई नेपालतिर तान्छन्। गोर्खाली सैनिकले विश्वका धेरै देशको ‘शौर्य शक्ति’ का रूपमा काम गरे पनि नेपाली जातिलाई संसारभर चिनाए। त्यसपछि जीविकाका लागि संसारभर छरिएका गैरसैनिक नेपाली नागरिकले इमानदार, कर्मशील र मिजासिला जातिका रूपमा प्रतिष्ठा र सुनाम कमाएका छन्।
यी प्रवासी नेपालीले जन्मभूमिका निम्ति मात्र योगदान गरेका छैनन्, कर्म गरिरहेको देश निर्माणमा पनि यिनको भूमिका छ। पछिल्ला दशकमा नेपालका शेर्पा जाति संसारभरका अग्ला र कठिन हिमालका मार्ग पत्ता लगाउनेदेखि आरोहणका विशेषज्ञका रूपमा निम्त्याइन थालेका छन्। नेपाली सुरक्षाकर्मीको संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा सहभागिताको सङ्ख्या हेर्ने हो भने पनि शान्तिका लागि नेपाली मनमस्तिष्कको माग बढ्दो छ।
देश निर्माण प्रक्रियाको दृष्टिले दक्षिणएशियाको सबैभन्दा जेठो अनि लोकतान्त्रिक मुलुक नेपाल मन माझामाझ गर्ने साझा थलो पनि बन्न सक्छ।
सन् २०१७ मा फिल्म साउथएशियामा विद्वत् प्रवचनका क्रममा भारतीय बौद्धिक शशि कुमारले पनि नेपाल कम्तीमा दक्षिणएशियामा फरक मत राख्नेका लागि साझा दूत बन्न सक्ने बताएका थिए। शरणार्थीका लागि उसै पनि नेपाल दक्षिणएशियामै उच्च मानवता प्रदर्शन गर्ने उदार देशका रूपमा परिचित छ।
हाम्रा लागि हाम्रो सौम्य शक्तिको पहिचान गर्नु र त्यसबाट विश्व समुदायमा आफ्नो ओज बढाउनु आजको सबैभन्दा ठूलो आवश्यकता हो।
उदाहरण, राजधानी काठमाडौंमा हालै सम्पन्न एभरेष्ट प्रिमियर लिग, जहाँ छिमेकी भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का, बाङ्लादेश, भुटान मात्र होइन मलेशिया, सिङ्गापुर, दक्षिणअफ्रिका, जिम्बाबे लगायत देशका खेलाडीहरूले निस्फिक्री क्रिकेट खेलिरहेकै छन्। यिनै कार्य, कारण र विषय विश्वसामु नेपाल सौम्य शक्तिमान् मुलुक भएको दृष्टान्त हुन्। निश्चय नै यसको श्रेय विभिन्न समयमा नेपाली राजनीतिज्ञ र कर्मचारीतन्त्रद्वारा निर्मित नीति र त्यसमा आधारित कूटनीतिलाई पनि जान्छ, तर यसको मूल स्रोत सिङ्गो नेपाली दर्शनलाई दिन सकिन्छ, जहाँ नागरिक निर्णायक छन्।
हाम्रा लागि हाम्रो सौम्य शक्तिको पहिचान गर्नु र त्यसबाट विश्व समुदायमा आफ्नो ओज बढाउनु आजको सबैभन्दा ठूलो आवश्यकता हो। यसो हुन सके हामीले आत्मसम्मान मात्र होइन, समृद्धिको लक्ष्य समेत हासिल गर्न सक्छौं। विडम्बना, हाम्रा अधिकांश राजनीतिक दल र राजनीतिकर्मीलाई ‘देश’ सोच्ने न चिन्ता छ, न त समय।
हामी नागरिक पनि आफ्नो वास्तविक शक्ति पहिल्याउन नसकेर वेलाबखत राष्ट्रवादको आवरणमा सार्वजनिक खपतका लागि गरिने, बोलिने चर्का स्वरसँग स्वर मिलाउन पुग्छौं। तर, देशलाई युगौंसम्म विश्व मानचित्रमा अटल राख्ने हो, साख र शान बढाउने हो भने हाम्रो सौम्य शक्तिलाई आत्मसात् गरी अघि बढ्नुको विकल्प छैन।
विपन्स अफ मास डिस्ट्रक्सनःसफ्ट पावर एण्ड अमेरिकन एम्पायर का लेखक म्याथ्यु फ्राजरका अनुसार पनि, शौर्य शक्तिले असमझदारी बढाउँछ भने सौम्य शक्तिले मनाउन सघाउँछ। सौम्य शक्ति शब्दलाई विदेश नीतिको अङ्गका रूपमा परिभाषित गर्ने जोसेफ नाईकै शब्द दोहोर्याउने हो भने पनि शौर्य शक्तिले ‘धकेल्ने’ र सौम्य शक्तिले ‘तान्ने’ काम गर्छ।
प्रविधिको यो युगमा सौम्य शक्तिकै बलमा हामी कसरी विश्वमाझ नेपालको नयाँ चिनारी प्रस्तुत गर्न सक्छौं? कसरी मुलुकलाई उचाइमा पुर्याउन सक्छौं? सत्यको विजयी भावमा मनाइने विजयादशमीको अवसरमा हिमाल मासिकको दशैं विशेषाङ्क नेपालको सौम्य शक्तिको यही सङ्कथनमा समर्पित छ।
(हिमाल मासिकको कात्तिक महीनाको आवरण कथाको सम्पादकीय। पत्रिकामा सम्पादकीयको शीर्षक 'सौम्य शक्ति सङ्कथन' रहेको छ।)