असोजसम्म एक तिहाइलाई कोरोना खोप दिन सरकार सफल कि असफल?
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको कोभिड–१९ विरुद्धको खोप सम्बन्धी निर्णय अनुसार काम हुन सकेकाे छैन।
सरकारले २९ असारमा असोज मसान्तसम्म खोप लगाउन योग्य एक तिहाइ नेपालीलाई खोपको पूर्ण मात्रा लगाइसक्ने र आगामी चैत मसान्तसम्म सबैलाई खोप लगाइसक्ने घोषणा गरेको थियो।
तर, ३१ असोजसम्म ६४ लाख ६९ हजार १५९ जनाले खोपको पूर्ण मात्रा पाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो सङ्ख्या खोप लगाउन योग्य कुल नागरिकको ३० प्रतिशतभन्दा कम हो।
मन्त्रालयका अनुसार, खोपको पहिलो मात्रा पाउनेहरू भने ८३ लाख ८८ हजार ४०२ जना छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी खोपमा सरकारले प्रारम्भिक सफलता हासिल गरे पनि केही चुनौतीहरू अझै बाँकी रहेको बताउँछन्। “तर, चैतभित्र सबै नागरिकले खोप पाउने कुरा चुनौतीपूर्ण छ,” डा. मरासिनी भन्छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार, आइतबार ३९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ। देशभर आठ हजार ७७ जनाको नमूना परीक्षण गरिएको थियो।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन्। कोरोना सङ्क्रमित ६८० जना निको भएका छन्।
अहिलेसम्म नेपालमा आठ लाख पाँच हजार ३७ जनामा कोरोना देखिएको छ भने सात लाख ८१ हजार ४५६ जना निको भएका छन्। अहिलेसम्म कोरोनाबाट ११ हजार २८४ जनाले ज्यान गुमाएका छन्।