चिनियाँ लगानीको ह्वासिन सिमेन्ट उद्योगको निर्माण अन्तिम चरणमा, विद्युत् आपूर्तिको बाटो खुल्यो
धादिङमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योगको निर्माण अन्तिम चरणमा पुगेको छ।
उद्योगको पूर्वाधार निर्माणको अधिकांश काम सकिएको र तिहार लगत्तै उत्पादन शुरू गर्ने तयारी रहेको उद्योगका नेपाली साझेदार सुरज वैद्यले बताए। चिनियाँ कम्पनी ह्वासिनले लगानी गरेको यो उद्योगमा दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ।
यो परियोजनामा १६० मिलियन अमेरिकी डलर (करीब रु.१९ अर्ब) लगानी हुने पूर्वानुमान गरिए पनि कोभिड महामारीका कारण लागत बढेर २२० मिलियन अमेरिकी डलर (करीब रु.२६ अर्ब) पुग्ने अनुमान गरिएको वैद्यले बताए।
लगानी बोर्डले सन् २०१८ मा कम्पनीलाई लगानीका लागि स्वीकृति दिएपछि सन् २०१९ बाट निर्माण आरम्भ भएको थियो। चिनियाँ कम्पनी होङ्सीपछि सिमेन्ट उद्योगमा चिनियाँ लगानी आएको यो दोस्रो उद्योग हो।
यो उद्योगले विद्युत् पहुँच पनि पाएको छ। सिमेन्ट उद्योगसम्म विद्युत् आपूर्ति गर्ने स्वीचिङ स्टेशन पनि गत शुक्रबारदेखि सञ्चालनमा आएको छ। मर्स्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्वीचिङ स्टेशनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
तनहुँस्थित तल्लो मर्स्याङ्दी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेशनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ। प्रसारण लाइनलाई स्वीचिङ स्टेशनमा लुप इन गराएर ह्वासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइनेछ। यहाँबाट ह्वासिन सिमेन्टले २० मेगावाट विद्युत् लिनेछ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैंको वेलामा विद्युत्को माग कम हुने मौका पारेर स्वीचिङ स्टेशनलाई चार्ज गर्न अनुमति दिइएको बताए। “अन्य समयमा मर्स्याङदी–स्यूचाटार १३२ केभी ट्रङ्क लाइन बन्द गर्ने सक्ने अवस्था नै थिएन, त्यसैले दशैंको वेलामा मिलाएर चार्ज गर्न दियौं र टीकाको दिन स्वीचिङ स्टेशन चार्ज भयो,” कार्यकारी निर्देशक घिसिङले भने। उनका अनुसार, अब ह्वासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत् जडान गर्न सक्नेछ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन ह्वासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेशन निर्माण गरेको हो। कम्पनीले स्वीचिङ स्टेशनबाट कारखानासम्म करीब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२/१० केभीको सबस्टेशन निर्माण गरेको छ। प्राधिकरणले स्वीचिङ स्टेशन निर्माणको सुपरिवेक्षण गरेको थियो।