के हो नेपालको सौम्य शक्ति (सफ्ट पावर)?
विश्वमा नेपाल प्रति विद्यमान सद्भावको हामीले प्रयोग गर्न चाहेको, जानेको र सकेको स्थिति छैन। यो सद्भाव आफ्नो सचेत प्रयास र लगानी विना नै प्राप्त भइरहेकाले यसलाई सौम्य शक्तिमा प्रयोग गर्ने चासो र चिन्ता जाग्नै बाँकी छ।
मूलतः सैन्य शक्ति सहितको जनशक्ति, आर्थिक क्षमता र राजनीतिक शक्तिको संयुक्त रूप नै कुनै पनि मुलुकको परम्परागत रूपमा मान्यता पाई आएको प्रत्यक्ष राज्य शक्ति (स्टेट पावर) हो। राज्यको यही परम्परागत शक्तिका आधारमा शौर्य प्रदर्शित र स्थापित हुने भएकाले यसलाई राज्यको शौर्य शक्ति (हार्ड पावर)का रूपमा चिनिंदै आएको छ।
राज्यको शौर्य शक्तिका यी तीनै पाटा एकअर्काका परिपूरक भए पनि कुन पक्षलाई के कसरी जगेर्ना र प्रवर्द्धन गर्ने अनि समग्र राज्य शक्तिलाई केका लागि कसरी उपयोग गर्ने भन्ने नेतृत्वको महत्त्वाकांक्षा, प्राथमिकता, बुद्धिमानी, समन्वयात्मक व्यवस्थापन र सुझबुझपूर्ण रणनीतिक परिचालन गर्ने क्षमता अनुरूप हुने गर्छ।
यसका साथै आन्तरिक रूपमा विकसित शिक्षा, स्वास्थ्य, ज्ञान-विज्ञान, साहित्य-कला-संस्कृति र मूल्य-मान्यता एवं आध्यात्मिक चिन्तनको गहिराइ समेतले राज्य-राज्यबीचको अन्तक्रिया र अन्तर्सम्बन्ध प्रभावित हुँदै आएको छ। औद्योगिक क्रान्तिको लहरसँगै विज्ञान र प्रविधि सम्बन्धी उत्कृष्टता र नियन्त्रणले राज्य शक्तिको महत्त्वपूर्ण कडीका रूपमा स्थान लिएको छ भने बीसौं शताब्दीमा समान सोच वा धारका राज्यको समूहमा मिलेर काम गर्ने चलन बढेपछि कुनै पनि मुलुक के कस्ता आर्थिक, सामरिक, वैचारिक समूहमा सम्बद्ध छ भन्ने कुराले पनि राज्य शक्तिलाई थप अभिव्यक्त गर्न थालेको छ।
एक्काइसौं शताब्दीमा प्रवेशसँगै यातायात, सूचना प्रविधि र सामाजिक सञ्जालको अत्यधिक विकास र उपलब्धताले विभिन्न मुलुकका जनताबीच अनौपचारिक सम्पर्क र अन्तक्रिया ह्वात्तै बढेर राज्यहरूबीचको सम्बन्ध राज्य शक्तिका पुराना निर्धारक तत्वको नियन्त्रणभन्दा धेरै पर पुगिसकेको छ। त्यसैले नयाँ सन्दर्भमा यी सबै अवधारणाको गतिशील पुनरावलोकन, पुनर्व्याख्या र पुनःपरिभाषाको आवश्यकता झन् झन् टड्कारो भएको छ।
आन्तरिक रूपमा शैक्षिक उत्कृष्टता, प्रतिनिधिमूलक नागरिक सर्वोच्चता, विज्ञान-प्रविधिमाथिको पकड र आर्थिक-सामाजिक-भौतिक विकासमा त्यसको सदुपयोग गर्ने क्षमता, कानूनको शासन र आम मानव अधिकार प्रतिको प्रतिबद्धताले समेत राज्य शक्तिको स्रोतका रूपमा काम गर्न थालेको छ। यस परिप्रेक्ष्यमा राज्यहरूले एकअर्कालाई प्रभावित गर्ने वा विश्वासमा लिने र आफ्ना राष्ट्रिय स्वार्थ परिपूर्तिको लक्ष्यमा अघि बढ्ने कुरा परम्परागत राज्य शक्ति मात्रको दायरा र क्षमताभन्दा धेरै पर पुगिसकेको छ। विभिन्न राज्यका विविध विशेषताले आफ्नै किसिमका बाह्य साख र अन्तर्राष्ट्रिय समुदायमा स्वीकार्यता निर्माण गरिरहेका हुन्छन्।
दोस्रो विश्वयुद्ध पश्चात् र शीतयुद्धका क्रममा अमेरिकाले महाशक्ति राष्ट्रहरूको होडबाजीमा राखिआएको वर्चस्वमा शौर्य शक्तिको कारणभन्दा अन्य राष्ट्रका मनमस्तिष्क जित्नसक्ने सांस्कृतिक-प्राज्ञिक हैसियत, विश्वसनीयता र प्रजातन्त्र एवं स्वतन्त्रताका हकमा आर्जन गरेको साखको विशेष भूमिका रहेको देखाउन पहिलो पटक सौम्य शक्ति (सफ्ट पावर) शब्दावलीको प्रयोग भएको हो।
सन् १९९० को दशकमा हार्वर्ड विश्वविद्यालयका प्राध्यापक जोसेफ नाईले प्रयोगमा ल्याएको वेलाभन्दा आज यो शब्दावली धेरै गहन र व्यापक अर्थ बोकेको अवधारणा बन्न पुगेको छ। विभिन्न अध्ययनबाट आज कुनै पनि मुलुकको परम्परागत शौर्य शक्तिभन्दा पृथक् सबै शक्तिलाई सौम्य शक्तिको नाम दिने गरिएको छ। परम्परागत पृष्ठभूमिमा शौर्य शक्ति भन्नाले मुलुकका राजनीतिक, सैन्य र आर्थिक शक्तिको समुच्च रूप बुझिन्थ्यो। तर, अहिले मुलुकका गैरराजनीतिक, गैरसैन्य र गैरआर्थिक शक्तिको समुच्च रूप नै सौम्य शक्ति हुन पुगेको छ।
शौर्य शक्ति-सौम्य शक्ति सम्बन्ध
अवधारणा बुझ्न सरलीकरण गर्ने कुरा आफ्नो ठाउँमा छ। तर, व्यवहारमा शौर्य शक्ति र सौम्य शक्तिका कतिपय स्रोतबीचको भिन्नता त्यस्तो सहज छैन। अझ विषय, समय र परिस्थिति अनुरूप कतिपय अवस्थामा परम्परागत शौर्य शक्तिसँग निकट देखिने तत्त्वहरू सौम्य शक्तिका रूपमा प्रयोग हुने र सामान्यतया सौम्य शक्तिका तत्त्वका रूपमा हेरिने कतिपय कुरा शौर्य शक्तिसँग अभिन्न हुन्छन्।
यस्तै, परम्परागत शक्तिका स्रोत प्रायशः मुलुकका शरहदभित्रै कायम हुने मान्यता भए पनि सौम्य शक्तिका स्रोत भने मुलुक भित्र-बाहिर सबैतिर देखिने हुन्छन्। नेपालको हकमा यस्ता विभिन्न विशेषता छन्। नेपालले आफ्नो सौम्य शक्तिको प्रयोगमा थप निखार ल्याउनका निमित्त लिनसक्ने सकारात्मक कदमबारे यहाँ चर्चा गरिन्छ।
जनसाङ्ख्यिकी
सामान्यतया जनसङ्ख्यालाई राज्यको परम्परागत/शौर्य शक्तिका रूपमा हेर्नु आफैंमा गलत होइन। त्यही जनसङ्ख्या विशिष्ट रूपमा नेपालको सौम्य शक्तिको स्रोत समेत बन्न पुगेको छ, यद्यपि सचेतनापूर्वक यस तथ्यको मनन र उपयोग गर्न नेपालले सकेको छैन। केही उदाहरण हेरौं-
हँसमुख, सरल र सहृदयी आम नेपालीः विदेशीका निम्ति नेपाल खुलेदेखि विशुद्ध पर्यटनका अतिरिक्त नेपालको विकास कार्यमा सहयोग गर्ने हिसाबले ग्रामीण/स्थानीय गाउँबस्तीमा जागीरे वा स्वयंसेवकका रूपमा काम गरेर फर्केका विदेशीको जमात निकै बढिसक्यो। तुलनात्मक रूपमा लामो समय नेपाल बसेर फर्केका विदेशीलाई नेपालको के कुरा बढी सम्झना हुन्छ भनेर सोध्दा अत्यधिक र स्वतःस्फूर्त रूपमा पाइने जवाफ हो, ‘त्यहाँका हँसिला, सोझा, मिलनसार, जति दुःख पनि खेप्न सहजै तयार हुने मिहिनेती र इमानका पक्का गरीब जनता।’
छोटो समयका लागि नेपाल आएका पर्यटक जनस्तरमा घुलमिल हुन पुग्दैनन्। उनीहरूलाई यहाँको प्रकृतिको बढी स्मरण हुनु स्वाभाविक हो। तर, लामो समय नेपाल बसेकाहरू ‘अनौपचारिक राजदूत’ जस्ता हुन्छन्। उनीहरू जहाँ पुगे पनि नेपालीलाई सधैं सम्झने र मौका पर्नासाथ विभिन्न रूपमा नेपाललाई सहयोग गर्नबाट आफूलाई रोक्नै नसकिने सुनाउँछन्।
विदेशमा रहेका नेपालीः नेपालको ठूलो जनसङ्ख्या विदेशमा कार्यरत छ। प्रत्येक नेपाली आफैंले अनजानमै पनि सिङ्गो नेपालको आचरण र चरित्रको प्रतिनिधित्व गरिरहेको हुन्छ। कुनै कार्यालयमा वा परिवारसँग काम गर्ने नेपालीको सद्व्यवहारले ‘नेपालीहरू इमानदार, मिहिनेती, असल हुन्छन्’ भन्ने छाप पर्छ भने सामान्य असावधानीले पनि सहजै ‘नेपाली त चोर, फटाहा हुँदा रहेछन्’ भन्ने प्रभाव पर्छ।
यसले सिङ्गो नेपाल प्रतिको सद्भाव, जो आफैंमा नेपालको सौम्य शक्तिको स्रोत हो, कुनै न कुनै रूपमा प्रभावित भइरहेको हुन्छ। त्यसैले विदेशमा काम गर्न जाने नेपालीलाई यस पक्षमा पनि उपयुक्त तालीम दिन सक्नुपर्ने हो। तर, आवश्यक सीपको न्यूनतम तालीम नै सहज नभइरहेको वेला त्यस्ता कुरा गर्न सम्भव छैन।
शौर्य शक्तिका स्रोत
- जनसङ्ख्या,
- सुरक्षा बल (सेना, प्रहरी, सशस्त्र प्रहरी),
- अर्थतन्त्र,
- विकट भौगोलिकता/विशिष्ट भूराजनीतिक स्थिति।
सौम्य शक्तिका स्रोत
- जनताको सङ्गत र सकारात्मक छविबाट आर्जन भएको विदेशी मित्रहरूको सद्भाव।
- मनमोहक प्रकृति, जीव-वनस्पतिजन्य विविधतासँग परिचित विदेशी मित्रहरूको सद्भाव।
- धार्मिक-सांस्कृतिक सम्पदा र सांस्कृतिक विविधतायुक्त रहनसहन र खाद्य परिकार।
- विश्वका दुई प्रमुख आध्यात्मिक चिन्तनको मिलन बिन्दु (मिटिङ प्वाइन्ट) र शान्त अन्तर्घुलनको स्थल (मेल्टिङ पट) भएको यथार्थ।
- विभिन्न नेपाली शैक्षिक आदि संस्थासँग सम्बद्ध भई नेपालबाट फर्केका विदेशी अल्मुनाई र तिनीहरूका सङ्गठित-असङ्गठित समूह/संस्था।
- संयुक्त राष्ट्रसङ्घ शान्तिकार्य मार्फत नेपाली सुरक्षा बल र अन्य नेपालीले आर्जन गरेको सद्भाव।
- संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र आफ्ना र अन्य क्षेत्रीय समूहको समर्थनमा नेपालले नेतृत्वदायी पदमा। निर्वाचित भई आर्जन गर्न सकेको सद्भाव।
- विदेशमा रहेका/कार्यरत नेपाली।
- विदेशी सुरक्षा बलमा काम गरेर नेपालीले आर्जन गरेको सद्भाव।
- नेपाली मूलका विदेशी।
- नेपालीभाषी।
- असंलग्न परराष्ट्र नीतिले महाशक्तिका खिचातानीबाट अलग्गै बस्न दिएको नैतिक बल।
- सुशासन, समावेशिता, मानव अधिकार र नीतिगत स्थिरता सम्बन्धमा नेपालको प्रतिबद्धता र रेकर्ड आदि।
काममा जाने र काम सकिएपछि फर्कनुपर्ने खाडी मुलुकको हकमा एक किसिमको अवस्था छ। तर, यूरोप, अमेरिका, अस्ट्रेलिया जस्ता मुलुकमा कार्यरत कतिपय नेपाली ती मुलुककै नागरिकता लिने क्रममा वा लिइसकेका छन्। यो सङ्ख्या उत्तरोत्तर बढ्दो छ।
जन्मभूमि छोडेर जहाँ कर्मभूमि बनाएका छन्, उनीहरूलाई सहजताका साथ ती आतिथेय मुलुक, शहर र समुदायमा भिज्न र जरा गाड्न दिनुपर्छ। त्यसो हुन सके ती समुदाय, शहर, राज्य र मुलुकका तहमा नेपाल र नेपालीलाई सरोकार हुने निर्णयलाई एकबद्ध रूपमा प्रभावित गर्नसक्ने समूहको तहमा ‘नेपाली समुदाय’ स्थापित र प्रवर्द्धित हुँदै जान सक्छ।
आदर्श रूपमा हेर्दा, ‘एक पटकको नेपाली सधैंको नेपाली’ को भावनाले गैरआवासीय नेपालीलाई नेपालीको हितमा उपयोग हुन दिन उनीहरूलाई कर्मभूमिमा आपसी सद्भावयुक्त समुदायका रूपमा एकबद्ध गर्न नेपाल राज्य, नेता र कूटनीतिकर्मी लाग्नुपर्ने हो। तर, विदेशमा कार्यरत नेपालीलाई एउटै ‘विविधतायुक्त नेपाली समुदाय’ को पहिचानमा त्यहाँ खुट्टा टेक्न र जरा गाड्न ध्यान दिनुपर्ने कूटनीतिकर्मीको सुझावलाई बेवास्ता गर्दै नेपालका राजनीतिक नेताले स्वदेशकै राजनीतिक धार अनुरूप विभाजित गरी आआफ्ना समूह बनाउन लागिपरेको स्थिति छ। नेताको व्यक्तिगत र पार्टीगत हितलाई मुलुकको दीर्घकालीन रूपमा सौम्य शक्तिको अजस्र स्रोत बन्ने त्यो नेपाली समुदायलाई विभाजित गर्नु नैतिक रूपमा राज्य विरुद्धको आचरण हो भन्ने बुझाउन सकिएको छैन।
अझ कतिपय अवस्थामा परराष्ट्र सेवा बाहिरबाट नियुक्त राजदूत स्वयं नै विभिन्न मुलुकमा नेपाली समुदायको त्यस्तो विभाजनका औजार हुन पुग्नु मुलुकको दुर्भाग्य हो। पछिल्ला दिनमा आधिकारिक गैरआवासीय नेपाली सङ्घ स्वयंका चुनाव नेपाली राजनीतिक दलका लाइनमा हुन लागेका जस्ता कुरा यस मामिलामा शुभ सङ्केत अवश्य होइन। अझ भन्ने हो भने, गैरआवासीय नेपालीका छोराछोरी र नातिनातिनी समेतलाई आबद्ध गर्नेतर्फ राज्य उदार र अग्रगामी हुन सकेको छैन।
सैन्य
स्वदेशी सुरक्षाबलबाट विदेशमा कार्यरत नेपालीः नेपाली जनसङ्ख्याको एउटा हिस्सा नेपालको आफ्नै सुरक्षा संयन्त्रभित्र प्रवेश गर्ने गर्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी जस्ता शौर्य शक्तिका अवयवसँग आबद्ध ती नागरिक नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता स्वरूप राष्ट्र सङ्घ मार्फत संसारका विभिन्न भागमा शान्ति सेना र शान्ति नियोगमा पालैपालो काम गर्ने ६ दशकभन्दा लामो परम्परा छ।
एकातिर, ती शान्ति सेनाको पेशागत कार्य कुशलता र प्रतिबद्धता एवं कर्तव्य परायणता, अर्कोतिर, फुर्सदको समयमा आतिथेय समुदायमा स्वास्थ्य, शिक्षा, विकास र सुरक्षासँग सम्बन्धित सामुदायिक महत्त्वका सेवा प्रदान गर्ने विशिष्ट परम्पराबाट आर्जित साख निकै अग्लो छ। अन्य कतिपय मुलुकले समेत यसलाई उम्दा अभ्यासका रूपमा अनुसरण गर्न थालेकाले नेपाली शान्ति सेनाको साखमा विशेष वृद्धि भएको छ।
राष्ट्रसङ्घीय प्रणालीभित्रका साथै आतिथेय समुदाय र मुलुकको जुन श्रद्धा, प्रेम र सद्भाव नेपालको नाममा आर्जन भएको छ, त्यसलाई राष्ट्रसङ्घीय प्रणालीभित्रै र अझ व्यापक अन्तर्राष्ट्रिय नेतृत्वका भूमिकामा आफूलाई पुर्याउन नेपालले आफ्नो सौम्य शक्तिका रूपमा भरपूर उपयोग गर्न सकेको सन्तोषप्रद अवस्था छैन।
विदेशी सुरक्षा बलमा नेपालीः नेपाली जनताको एउटा सानो तर सुपरीक्षित अंश विदेशी सेनाको अभिन्न अङ्ग भई काम गरिरहेको छ। संयुक्त अधिराज्यको सेना र भारतीय सेनामा रहेका ‘गोर्खाली’ को विशिष्ट स्थान र पहिचानलाई हेर्न र बुझ्न विशेष नजर आवश्यक छ। ऐतिहासिक विरासत बोकेको यो व्यवस्थालाई समयानुकूल परिवर्तनसँगै सुधार र समाधान गर्न ढिलो गर्न हुँदैन, तापनि यथास्थिति रहुन्जेल नेपालले यस व्यवस्थाबाट आफ्नो व्यापक हितमा के कस्तो कुरा पाउँछ वा उपयोग गर्छ र गर्नुपर्छ भन्नेतर्फ गहन र व्यावहारिक चिन्तन आवश्यक छ।
विदेशी सेनामा वा अन्य सुरक्षा बलमा रहेका नेपाली नागरिक नेपालको हैन, विदेशकै परम्परागत शौर्य शक्तिका अङ्ग हुन्। ती सम्बन्धित मुलुकसँगका विधिवत् सन्धि-सम्झैता अन्तर्गत विशेष व्यवस्थाका उपज हुन्, भाडाका सिपाही (मर्सिनरिज) भने होइनन्।
विदेशी फौजका नेपाली
‘फकल्यान्ड युद्ध’ मा बेलायती सेनाका गोर्खाली जवानलाई ज्यानमारा छविका साथ संलग्न गराइयो। आफूले हारेको त्यस युद्ध लगत्तै अर्जेन्टिनाले राष्ट्रसङ्घीय महासभामा भाडाका सिपाहीको प्रयोग विरुद्ध बर्सेनि एक प्रस्ताव राख्ने गरेकोमा त्यसमा नेपाल र गोर्खाको नाम नराख्न निकै सचेत मिहिनेत गर्नुपरेको रहेछ। अन्ततोगत्वा त्यो युद्धबाट बेलायती, अर्जेन्टिनी र गोर्खाली सबैलाई जे जस्तो क्षति भयो, त्यसका आधारमा युद्धको निरर्थकता देखाउन तीनै पक्षबाट युद्धमा लडेका केही सैन्य नेताले फिल्म बनाएर संयुक्त रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यस्ता कुराले मुलुकको छवि तलमाथि पारिरहने भएकाले सौम्य शक्तिको स्रोतको परिमाणमा क्षय हुन नदिन विशेष ध्यान दिनुपर्ने हुन्छ।
भर्खरै नेपाली नागरिकताको प्रमाणपत्र पाउने उमेर पुगेको कलिलो वेलामा अन्तरसरकारी सन्धिका आधारमा कानूनी बाटो र स्वीकृत परिपाटीबाट नेपालले आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ना हुन सहजीकरण गरिआएको अवस्था छ। कठिन छनोट प्रक्रिया पार गरेर विदेशी सेनामा कमिशन हुने क्रममा तिनै नागरिक कर्मभूमि प्रति पूर्ण वफादारीको शपथ लिन्छन्, ऊर्जाशील उमेर त्यही सेवामा समर्पित गर्छन् र अवकाशपछि फर्केर कर्मभूमिकै पेन्सनमा बाँकी जीवन निर्वाह गर्न जन्मभूमि आउँछन्।
ती नागरिक स्वभावतः विदेशी मुलुकको परम्परागत शौर्य शक्तिका अवयव हुने र उनीहरूबाट प्राप्त हुने विप्रेषणको रकमले नेपालको अर्थतन्त्रलाई जे जति टेवा पु¥याउँछ, त्यसले विदेशमा काम गर्ने अन्य नेपालीको विप्रेषणले जस्तै नेपालको शौर्य शक्तिमा इँटा थपिरहेको हुन्छ।
ती नेपालीले विदेशी सेनामा आर्जन गरेको पेशागत उत्कृष्टता र अतुल्य कर्तव्य परायणताले विदेशी सरकारमा र सहकर्मी विदेशीका मनमस्तिष्कमा नेपाल र नेपाली प्रति जुन विश्वास, आदर, आत्मीयता र प्रेमको भावना निर्माण गर्छ, त्यसलाई सौम्य शक्तिको स्रोतका रूपमा हेर्न, बुझ्न र कहींकतै आशङ्का/अविश्वासको गुञ्जायस भए त्यसलाई हटाएर नेपालको हितमा सचेतनापूर्वक उपयोग गर्न नेपाल लागिपरेको छैन।
पहिलो कुरा त, विदेशी सेनामा भर्ना हुनु पूर्व राज्यले स्वतःस्फूर्त रूपमा नागरिकलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने, त्यसको महत्त्व बुझाउने र संवेदनशील वैदेशिक सेवामा रहँदै गर्दा जन्मभूमि प्रतिको अगाध ममत्व र कर्तव्य ओइलाउन नदिन प्रशिक्षण दिने कुनै परिपाटी बसाइएको छैन। विदेशी सेनामा पसिसकेपछि राज्यले पूरै बिर्सने गरेको छ। उनीहरूका पेशागत सरसुविधा लगायतका दुई सरकारबीच कुरा भई समाधान हुनुपर्ने गुनासाहरू समेत सुनेको नसुन्यै गर्न बानी परेको अवस्था छ।
यति हुँदाहुँदै तिनै वीर गोर्खाली सिपाहीसँगको काम र सङ्गतका कारण जन्मभूमि मुलुक नेपाल प्रति स्वाभाविक र स्वतःस्फूर्त रूपमा सद्भाव र समझदारी निर्माण गर्ने विदेशी सैनिक र नागरिकबाट नेपाललाई अप्रत्यक्ष रूपमा के कस्तो दीर्घकालीन सहयोग पुग्छ र पुगिआएको छ भन्ने जानकारी पनि राख्न खोजेको छैन। यसरी नेपालीको सङ्गतबाट नेपाल बुझ्न पाएका विदेशी सैन्यलाई पनि नेपालको सौम्य शक्तिको स्रोतका रूपमा हेरिनुपर्ने बुद्धिमानी पलाउन बाँकी नै छ।
अर्थतन्त्र/भूगोल
कुनै पनि मुलुकको अर्थतन्त्र र यसको आकार लगायत सम्बद्ध पक्ष त्यस मुलुकको शौर्य शक्तिको अभिन्न अङ्ग बन्ने सामान्य मान्यता छ। सम्झ्नुपर्ने के पनि छ भने, कुनै मुलुक प्रति व्यक्ति आयका दृष्टिले गरीब भए पनि त्यसको अर्थतन्त्रको आकारको आधारमा आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ताको संरक्षणलाई आवश्यक परेको रकमको जोहो गर्नसक्ने आन्तरिक क्षमताको आकलन हुन्छ।
दक्षिणएशियाकै कुरा गर्दा, नेपाल प्रति व्यक्ति आयका दृष्टिले तल पर्ने मुलुक भए पनि अर्थतन्त्रको आकारले अलि माथि नै पर्छ। त्यसैले, प्रति व्यक्ति आयका दृष्टिले नेपाल गरीब भए पनि परिआएका वेला आफ्ना अहं महत्त्वका पक्षलाई बलियो बनाउन आफ्नो भन्दा सानो आकारका अर्थतन्त्र भएका मुलुकको तुलनामा बढी रकम आन्तरिक रूपमै परिचालन गर्नसक्ने क्षमता राख्छ। त्यस्तै, भौगोलिक आकार र अवस्थिति एवं त्यसको आर्थिक, रणनीतिक मूल्य मुलुकको शौर्य शक्तिकै पाटो हुन्छ जसमा नेपालको स्थिति विशिष्ट छ।
यति हुँदाहुँदै पनि नेपालको हकमा नेपालको अर्थतन्त्रसँग सम्बन्धित दुई कुरा नेपालको सौम्य शक्तिका रूपमा देख्न सकिन्छ।
विदेशमा काम गर्ने नेपालीः विदेशमा काम गर्ने नेपालीले पठाउने विप्रेषणको टेको नपाएको भए नेपालको अर्थतन्त्रको स्थिति अहिलेको जत्तिको हुनसक्ने थिएन। अगाडि भनिसकिएको छ- कसरी विदेशमा काम गर्ने प्रत्येक नेपालीले नेपालको प्रतिनिधित्व गरिरहेको हुन्छ। यो सांस्कृतिक पक्ष नेपालको सौम्य शक्तिको स्रोत बन्छ। प्रश्न उठ्ने हुन्छ- के नेपालले सचेत रूपमा ती गैरआवासीय नेपालीलाई आफ्नो सांस्कृतिक परिचय दिनसक्ने गरी सबल बनाउन कुनै उपाय गरेको छ? यसमा सन्तोष गर्ने ठाउँ कमै छ। यदि यी सबै पक्षमा निर्धक्क सहयोग गर्न राज्यले चासो दिने हो भने नेपालको सौम्य शक्तिको यो स्रोत पनि सुदृढ हुन्थ्यो।
नेपाल बसेर फर्केका विदेशीः नेपालको भौगोलिकतालाई हेर्दा अक्सर कठिन र कम उर्वर भूमि देखिने हुन्छ। तथापि, नेपाल घुम्न आउने अधिकांश विदेशी यिनै हिमाल, पर्वत र तराई हेर्ने, बुझ्ने र परख्ने इच्छाले आउने गर्छन्। एउटा ठूलो हिस्सा धार्मिक-सांस्कृतिक पर्यटनका लागि र केही सानो अंश आध्यात्मिक (स्पिरिचुअल) अनुष्ठान अघि बढाउन नेपाल आउने गरेकोमा यी सबैलाई प्रशस्त बढाउन सकिने सम्भावना छ।
छोटो समयका लागि आउँदा यहाँको जनतासँग घुलमिल हुने सम्भावना न्यून हुने गर्छ। त्यसैले सीमित मानवीय घुलमिल र अधिक प्रकृति दर्शनको अनुभव आर्जन गर्नमा जोड दिइन्छ। फर्केर जाँदा उनीहरूले नेपाल भूमि र यहाँका वन्यजन्तु-वनस्पति समेतका यिनै विशिष्टताको अमिट छाप लिएर फर्कन्छन् र जीवन पर्यन्त नेपाल प्रति सद्भाव, सहानुभूति र सहयोग पुर्याउन प्रसन्नतापूर्वक लाग्ने गर्छन्।
नेपाललाई धन्यवाद!
सन् २००१ को आतङ्कवादी हमलापछि आतङ्कवादलाई सहयोग पुग्ने वित्तीय प्रवाह रोक्न अमेरिकी सरकारले केही निर्देशन दियो। त्यसबाट जोगिन विशेष काम गरेको देखाउन अमेरिकी ब्याङ्कहरूले न्यूयोर्कमा कूटनीतिक नियोग र कर्मचारीका खाता सञ्चालनमा कडाइ गरे। खाता बन्द गरे। नयाँ खाता खोल्न छाडे। नेपाली कूटनीतिक नियोग र कर्मचारीका खाता पनि क्रमशः बन्द गर्ने सूचना आए।
कूटनीतिक नियोग र कर्मचारीलाई पारस्परिकताका आधारमा ब्याङ्किङ सेवा दिनु कर्तव्य भए पनि अमेरिकी ब्याङ्कहरू निजी क्षेत्रका भएकाले सरकारले बाध्य पार्न सकेको भने थिएन। स्पेन जस्ता मुलुक भने त्यसलाई अवसरमा बदलेर न्यूयोर्कमा आफ्नै ब्याङ्कका शाखा खोल्दै थिए।
यस्तो परिस्थितिमा नेपालले राष्ट्रसङ्घीय महासभाको प्रशासन तथा बजेट समिति (फिफ्थ कमिटी)मा राष्ट्रसङ्घीय कर्मचारीको सहकारी (यूएनएफ्सीयू)लाई प्रयोग गर्न दिनुपर्ने कुरा राख्यो। तर, कर्मचारीको सहकारीले सदस्य राष्ट्रको कारोबार गर्नु सहज थिएन। धन्न सो सहकारीकै केही उच्च अधिकारीले कलिलै उमेरमा नेपालमा काम गरेका रहेछन्।
नेपाली आम जनताका प्रशंसक भएको मीठो स्मरण सहित विशेष सहानुभूतियुक्त पहल गरे र नेपाललाई उक्त सहकारीको सेवा दिलाए। त्यसपछि त्यस्तै समस्या भोगिआएका कैयौं मुलुकका लागि समेत ढोका खुल्यो। उनीहरूले पछिसम्म यो प्रयासका लागि नेपाललाई धन्यवाद दिइरहे।
यसरी विदेशी मनमस्तिष्कमा यी नेपाली धरातलीय विशेषताले नेपालको जो चित्र कोरेका हुन्छन्, त्यो आफैंमा नेपालको सौम्य शक्तिका स्रोतका रूपमा रहेको हुन्छ। त्यो सबै आर्जन गर्न हाम्रो अटल भूमिमा चलायमान विदेशीको आगमनले अधिक काम गर्छ। यो आर्जित सद्भाव नेपालको सौम्य शक्तिको आधार बन्छ।
प्रश्न आउँछ- के नेपालले यी सूक्ष्मता सहित अध्ययन-विश्लेषण र नीति निर्माण गरेको छ त? त्यस्तो सचेत र संस्थागत प्रयासमा बामे सर्नसम्म लागेको सङ्केत चाहिं मिल्छ- परराष्ट्र नीति, २०७७ बाट। धेरै काम बाँकी नै छ।
अबको बाटो
नेपालको सौम्य शक्तिको कुरा उठ्दा, एकैसाथ मनमा आउनुपर्ने प्रश्न कम हुँदैनन्।
राज्यको शक्ति के हो? त्यसले समग्रमा के गर्छ? त्यो के कस्ता शक्ति वा शक्ति समूहबाट बनेको हुन्छ? त्यसमा शौर्य शक्ति र सौम्य शक्ति केबाट कसरी निःसृत हुन्छन् र एकआपसमा कहाँ कसरी आबद्ध भएका हुन्छन्? खास गरी सौम्य शक्तिको चरित्र कस्तो हुन्छ, यसका प्रभाव के कस्ता हुन्छन् र यसलाई कसरी सदुपयोग गर्न सकिन्छ?
नेपाल सौम्य शक्तिका दृष्टिले के कुन हालतमा छ, सैद्धान्तिक रूपमा यसको अध्ययन के कसरी भएको छ वा छैन, यस्ता शक्ति व्यवहारमा ल्याउनेहरूका अनुभव के कस्ता छन् र परिपक्व राज्यका रूपमा नेपाललाई विश्वसामु प्रवर्द्धन गर्ने क्रममा के कुन कुरा के कसरी गर्नुपर्ने होला?
यी यावत् र अन्य सम्बद्ध प्रश्नको जवाफ एकैपटक दिन खोज्दा यस संवेदनशील विषयलाई न्याय नहुन सक्छ। खास गरी अनुसन्धानमा लागेका प्राज्ञिक व्यक्तित्वबाट यसमा धेरै आशा गर्न सकिने परिस्थिति बन्नुपर्छ मुलुकमा।
झण्डै २५ वर्षदेखि प्रकाशित हुन थालेको सौम्य शक्तिको सूचकाङ्क हेरिंदै आएका १०० मुलुकमा नेपाल नपर्ने गरेकोबाटै स्पष्ट हुन्छ- विश्वमा नेपाल प्रति विद्यमान सद्भावको हामीले प्रयोग गर्न चाहेको, जानेको र सकेको स्थिति छैन। सायद यो सद्भाव आफ्नो सचेत प्रयास र लगानीबाट आर्जेको नभई एकतर्फी रूपमा प्राप्त भइरहेकाले त्यसो हुन गएको हो कि? गहन मन्थन आवश्यक छ।
साथै, विद्यमान सद्भाव खस्कन नदिई अझ उन्नत बनाउने सचेत कदमहरू लिएर त्यस्ता सद्भावलाई सौम्य शक्तिका रूपमा उपयोग गर्नेतर्फ अनुसन्धान गरी उपयुक्त नीति तर्जुमा हुनु नितान्त आवश्यक छ।
भनिन्छ, सदाबहार राजनीतिक अस्थिरता नै नेपालका सबै समस्याको मूल जरो हो। तर, नेपालको विशिष्ट जनसाङ्ख्यिकी, भूराजनीतिक अवस्थिति एवं विविधता र संविधानका नवीन प्रावधान र निर्वाचन प्रणालीले गर्दा नेपालमा राजनीतिक स्थिरता असम्भवप्रायः वा अत्यन्त छोटो आयुको मात्र भइरहने देखिन्छ। त्यसो भए के नेपालका समस्या समाधान हुने उपाय छैनन् त?
बुद्ध र श्रीलङ्का
श्रीलङ्कामा नेपाल र नेपाली प्रति ठूलो श्रद्धा र सेवाभाव अनुभव हुन्छ। बर्सेनि सिद्धार्थ गौतम (बुद्ध)को जन्मस्थल लुम्बिनी भ्रमण गर्ने श्रीलङ्कालीको सङ्ख्या बाक्लो छ। त्यहाँ सयौंको सङ्ख्यामा अध्ययन-अध्यापनरत नेपाली भिक्षुले आर्जन गरेको प्रतिष्ठाले नेपालको छवि अझ सम्मानित छ।
जसरी कुनै समय राम्रो शिक्षाका लागि काठमाडौंबाट आफ्ना छोराछोरीलाई दार्जीलिङमा राख्ने अभिभावकबीच छुट्टै आत्मीयता रहन्थ्यो र कतिपय अवस्थामा एकअर्काका छोराछोरीलाई छुट्टीमा पालैपालो घर ल्याउने-लाने चलन थियो, त्यसैगरी श्रीलङ्काबाट पोखरामा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीका मातापिताको पनि सङ्गठन रहेछ। सामान्य सोधीखोजी पश्चात् यो समूहबाट नेपाल-श्रीलङ्का सम्बन्ध विस्तारका लागि प्राप्त समझदारी र सहयोग अतुल्य रहन पुगेको स्मरण सुखद छ।
एड्भेन्चर स्पोर्टस् र मार्शल आर्टस्का खास विधामा ख्यातिप्राप्त नेपालीले अमेरिकी र युरोपेली समाजमा आर्जन गर्न सकेको सद्भाव पनि अतुलनीय महसूस हुन्छ।
उपाय अवश्य छन्, तर त्यसका लागि निजी, दलगत स्वार्थभन्दा माथि उठेर मुलुकको हितमा काम गर्ने राजनीतिक र कर्मचारी नेतृत्वको आवश्यकता पर्छ।
निरन्तरको राजनीतिक प्रशासनिक अस्थिरताको समस्याभित्र मुलुक र आम जनतालाई कैदी बनाई राख्नेभन्दा माथि उठ्न सक्नुपर्छ। धेरै हदसम्म यस्तो गर्न सकेका मुलुक जापान र इटाली हुन्। मूल कुरा, राजनीतिक अस्थिरताभन्दा मुलुकको छवि र भविष्य बिगार्ने कुरा चाहिं नीतिगत अस्थिरता हुने गरेको छ। पञ्चायतकालमा सरकारहरू लगातार फेरिने गरेकाले राजनीतिक अस्थिरता रहे पनि तुलनात्मक रूपमा नीतिगत स्थिरता हुने गरेकाले वैदेशिक सम्बन्ध सञ्चालनमा विश्वसनीयताको आधिक्यले सकारात्मक असर पर्ने गरेको हाम्रै निकट इतिहास पनि छ।
हाल आएर पालैपालो सरकार बनाउने खेलमा राजनीतिक दल लागे पनि विदेशी शक्तिसामु र आफ्नै विकास, समृद्धि र खुशीहरूलाई कोपिलैमा ननिमोठ्न नीतिगत स्थिरता दिने न्यूनतम साझा सहमति हुनुपर्छ- राजनीतिक दल र आम राजनीतिकर्मीबीचमा, अनि यसलाई असल नियतले कार्यान्वयन गर्न संसद्ले कानूनी अनुशासन र संयन्त्रको निर्माण गरिदिनुपर्ने हुन्छ।
अन्तर्राष्ट्रिय जगत्मा हुने नेपालको विश्वसनीयताको स्तर आफैंमा सौम्य शक्तिको स्रोत हुने गर्छ। त्यस्तो विश्वसनीयताका लागि मुलुकमा नीतिगत स्थिरता आवश्यक हुन्छ जसका आधारमा अन्तर्राष्ट्रिय लगानीकर्ताले आफ्नो भावी योजना प्रक्षेपण गर्छन्। सरकार बदलिनासाथ नीतिहरू बदलिने वा बदलिन सक्ने, त्यस्तै सचिव र राजदूत बदलिने वा बदलिन सक्ने चलनले मुलुकलाई अन्तर्राष्ट्रिय समुदायमा परिपक्व राष्ट्रका रूपमा मनग्गे फस्टाउन बाधकका रूपमा काम गरिआएको छ।
साथै, सरकारका केही असीमित अधिकार प्रयोगको परम्परामा सुशासनजन्य परिवर्तन आवश्यक छन्। उदाहरणका लागि, राजनीतिक दल र सामान्यदेखि सरकार प्रमुख भइसकेकासम्मका राजनीतिकर्मीले जोसुकै राजनीतिकर्मी जुनसुकै मन्त्रालयको मन्त्री बन्न हुन्छ, बन्न सक्छ, र त्यस्तै भइरहनुपर्छ भन्ने मान्यता बोकेको देखिन्छ। त्यति मात्र हैन, निजामती सेवाभित्र पनि जोसुकै सचिवस्तरको कर्मचारीले जुनसुकै मन्त्रालयलाई उत्तिकै र उही विशिष्टताको नेतृत्व दिन सक्छ भन्ने सोचाइ राखेर सचिवको जथाभावी सरुवा गर्ने चलन पनि बसेको छ।
यस्तो पृष्ठभूमिमा मुलुकको भलो चिताएर स्पष्ट रूपमा पेशागत सही सरसल्लाह मात्र दिन जान्ने व्यक्तिको सुझाव सुन्दा–मान्दा आफू कमजोर देखिने अनुभूति भएर हो वा किन, नेता-कर्मचारी कसैको पनि निरन्तर ध्यान पुग्न सकेको छैन। यस्ता कुरामा केही सुधार भए स्वरूप केही निकट प्रकृतिका मन्त्रालयलाई समूह (क्लस्टर) बनाएर सचिवहरूको पदस्थापन र सरुवा गर्ने र ‘ब्रेन गेन’ लाई रचनात्मक रूपमा प्रयोग जस्ता कुरा पनि नीतिगत अस्थिरताको शिकार नहोलान् भन्न सकिने अवस्था छैन। यस्ता उदाहरण प्रशस्त पाइन्छन्।
नेपालको संविधान, २०७२ समेतको आधारमा नेपाल सरकारले सार्वजनिक गरेको ‘नेपालको परराष्ट्र नीति, २०७७’ ले सौम्य शक्ति (सफ्ट पावर) प्रवर्द्धन गर्ने लक्ष्य सार्वजनिक कूटनीति सञ्चालनबाट हासिल गर्ने दृष्टिकोण राखेको छ। यथार्थमा, माथि ती स्थानमा सङ्केत गरेका उपाय सचेतनापूर्वक अवलम्बन गर्न सके यो कार्य सहज हुनेछ।
सङ्क्षेपमा, नेपालको सौम्य शक्तिको स्रोतका रूपमा अनवरत साख आर्जन गर्ने क्षेत्र, समुदाय र व्यक्तिसम्मलाई पनि राज्यले निरन्तर हौसला, मान्यता (रेकग्निसन/डेकोरेसन) दिनुका अतिरिक्त स्वतःस्फूर्त रूपमा सम्बन्ध सञ्जाल निर्माण गरी परिपक्व रूपमा सञ्चालन गर्नुपर्ने हुन्छ।
गैरआवासीय नेपालीलाई विभिन्न बहानामा विभाजित गर्ने क्रम तत्काल बन्द गरी विशेषतः तेस्रो, चौथो पुस्ताका गैरआवासीय नेपालीलाई नेपाल प्रति अपनत्व बढाउने किसिमका नीति तथा कार्यक्रमको निकै ठूलो महत्त्व रहने तथ्य निर्विवादप्रायः छ। त्यस्तै, विदेशी ख्यातिप्राप्त लेखक, कवि, पत्रकार र यात्रा लेखकलाई नेपालको ‘फेमिलियराइजेसन भिजिट’ मा आमन्त्रित गर्ने चलनलाई अझ सशक्त बनाउनुपर्ने हुन्छ र यसका दायरामा खेलकूद एवं गीत-सङ्गीत र चलचित्र जगत्का र अन्य प्रतिष्ठित व्यक्तित्वलाई समेट्न ढिला गर्नु हुँदैन। त्यस्तै, आफ्ना टोलीको विदेश भ्रमण अत्यन्त उपयोगी हुने हुँदा सुनियोजित र नियमित कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइनुपर्छ।
राज्य शक्तिभित्र शौर्य शक्ति र सौम्य शक्तिका स्रोत एकआपसमा परिपूरक हुन्छन्। तर, सौम्य शक्तिलाई आफ्नो हितमा आफ्ना काम-कारबाही र खास गरी द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय अन्तक्र्रिया वा वार्ताहरूमा सचेत रूपमा उपयोग नगरेसम्म ती सबै केवल स्रोतकै रूपमा रहिरहन्छन्। शौर्य शक्तिका विभिन्न पाटाहरूलाई झैं सौम्य शक्तिका पनि कुन पक्षलाई के कसरी जगेर्ना र प्रवर्द्धन गर्ने र केका लागि कसरी उपयोग गर्ने भन्ने कुरा नेतृत्वको महत्त्वाकांक्षा, प्राथमिकता, बुद्धिमानी, समन्वयात्मक व्यवस्थापन र सुझबुझपूर्ण रणनीतिक परिचालन गर्ने क्षमता अनुरूप हुने गर्छ। इतिहास र अनुभवले त्यही देखाउँछ।
त्यो ‘सौम्य शक्ति’ सफलता
अति कम विकसित र विकासोन्मुख साना टापु मुलुकको अस्तित्व नै सङ्कटमा पार्ने गरी जलवायु परिवर्तनका कारण समुद्री सतहको उचाइ बढिरहेको विषयलाई समग्र रूपमा सम्बोधित गर्न सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा महासागरीय सम्मेलन गर्ने तयारीको वेलाको बहुपक्षीय वार्ताको पनि झल्झली सम्झना हुन्छ।
राष्ट्रसङ्घमा हुने वार्तामा पर्वतीय र भूपरिवेष्टित मुलुक र साना टापु मुलुकले दातृ समुदायबाट उपलब्ध हुने उही सहयोग रकमका लागि प्रतिस्पर्धा गर्नुपर्ने सोचमा परस्परमा समन्वय न्यून हुने चलन छ। त्यसैले भूपरिवेष्टित मुलुकको समस्यामा साना टापु मुलुक र साना टापुका समस्यामा भूपरिवेष्टित मुलुक मौन बस्नाले एकअर्का प्रति सहानुभूति पनि सहज रूपमा प्रकट हुन सक्दैनथ्यो। यसबाट माथि उठ्ने प्रयास स्वरूप नेपाली नियोगको आन्तरिक छलफलबाट अनुभवजन्य निष्कर्ष निकाल्यौं- भूपरिवेष्टित र साना टापु मुलुकले एकअर्काका समस्यामा आपसी सहानुभूति र नैतिक समर्थन जोडेमा बृहत् वार्ताको गुणस्तरमा सुधार आउन सक्छ।
यही कुरा राख्दा भूपरिवेष्टित मुलुकबीच सामूहिक सहमति हुन नसके पनि धेरैजसोले अनौपचारिक रूपमा नेपालको यो प्रस्तावमा दम भएको र नेपालले एकल रूपमा प्रयास गर्दा विरोध नगर्ने बताए। यसै अनुसार, सम्बन्धित वार्ताहरूमा नेपाली प्रतिनिधिलाई सशक्त रूपमा भाग लिन खटाइयो।
बिस्तारै हिमाली राज्य नेपालले बोल्यो कि आफूलाई घाटा हुन्छ भन्ने टापु प्रतिनिधिहरूको सोचाइ परिवर्तन भयो र व्यक्तिगत मित्रता पनि टुट्ने जस्तो भइसकेको स्थितिबाट सर्वस्वीकार्य मित्रका रूपमा आफूलाई ग्रहण गरिएको सम्बन्धित नेपाली प्रतिनिधिको अनुभव आफैंमा विशिष्ट रह्यो। यसको खास कारण चाहिं हामीले गरेको विशेष गृहकार्य थियो।
त्यस अनुसार, विश्वव्यापी तापमानले हिमाल पगालेर समुद्री सतह बढाउने र त्यसले साना टापु मुलुकको अस्तित्वलाई सङ्कटमा पार्ने अथवा भूपरिवेष्टित मुलुकमा विसर्जित प्लास्टिकजन्य लगायत फोहोर बग्दै समुद्रसम्म पुग्ने यथार्थ बताएर विषयसँग सामीप्य जँताउने साविकको तरीकासँगै केही नयाँ साझा चुनौतीको पहिचान र समाधानका उपाय खोज्ने प्रयास ग¥यौं र पहिलो कडीका रूपमा पायौं, विदेशमा काम गर्न जाने नेपाली।
कामको खोजीमा नेपाली पुगेका अत्यधिक मुलुक या त तटीय या टापु मुलुक छन्। कतिपय साना टापु मुलुकमा हजारौंको सङ्ख्यामा नेपाली समुद्री पर्यटन र क्रूज व्यवसायसँग सम्बन्धित काममा छन्। उनीहरू एउटा तटीय शहरबाट जहाज चढेर महीनौं जहाजमै काम गरेर सम्भवतः टाढाको अर्कै शहरमा उत्रेर छुट्टीमा घर फर्कन्छन् वा अन्यत्र जाने गर्छन्।
यो चक्र सेवा अवधिभर चलिरहन्छ। समुद्रसँगको अभिन्न निकटतामा यत्रो ठूलो सङ्ख्यामा आफ्ना नागरिक काम गर्ने यथार्थ हुँदाहुँदै समुद्र सम्बन्धी कुरामा नेपाल कसरी तटस्थ बस्न सक्छ? यसमा हेलिनु हाम्रो कर्तव्य बन्छ र परिआएको दायित्व निर्वाह गर्ने प्रतिबद्धता पनि प्रकट गर्नुपर्छ।
यो तथ्य र तर्क नियोगले नेपाल सरकारसामु राखेपछि सम्बद्ध निकायहरू समेतको सहमतिमा सकारात्मक निर्देशन प्राप्त भयो। सोही अनुरूप तटीय वा टापु मुलुकमा काम गर्न जाने आफ्ना नागरिकलाई जल, समुद्र एवं सम्बद्ध अनुशासन र संवेदनशीलतामा आवश्यक सहयोग समेत जुटाई अभिमुखीकरण र थप तालीम दिने प्रतिबद्धता प्रकट गर्ने एक मात्र अल्पविकसित भूपरिवेष्टित मुलुक नेपाल बन्न पुग्यो।
पछि ती मुलुकसँग सौहार्दता बढ्दै गई कतिको हकमा उनीहरूकै पहलमा औपचारिक दौत्य सम्बन्ध समेत स्थापना गर्न सकियो र यो कुरा नेपालको नेतृत्वदायी पदमा रहेका अनेकन् उम्मेदवारीमा समेत अनमोल सावित हुन पुग्यो। यसरी टापु मुलुक समक्ष नेपालको सहयोगी छवि प्रक्षेपण गर्न जुन सौम्य शक्तिको प्रयोग गरियो, त्यसको स्रोत निर्विवाद रूपमा विदेशमा कार्यरत ती नेपालीको सङ्ख्या नै हो।
(भट्टराई पूर्व परराष्ट्र सचिव एवं संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि हुन्। हिमालकाे २०७८ कात्तिक अंकमा 'नेपालको सौम्य शक्ति' शीर्षकमा प्रकाशित।)