नेपाल फाइनलमा भारतसँग पराजित
नेपाल साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग पराजित भएको छ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय फूटबल रङ्गशालामा भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० ले पराजित भएको हो। दोस्रो हाफको पाँच मिनेटमै भारतले दुई गोल गरेपछि नेपालको प्रतिस्पर्धा कठिन बनेको थियो।
पहिलो बराबरीमा टुङ्ग्याएको नेपालले दोस्रो हाफको शुरूआतमै लगातार गोल खायो। भारतका लागि खेलको ४९औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गरे। त्यसको लगत्तै ५०औं मिनेटमा सुरेशसिंह वाङजमले दोस्रो गोल थपे।
त्यसपछि नेपाल खेलमा फर्किन सकेन। भारतले झन् आक्रमक खेल खेल्यो।
इन्जुरी समयमा भारतले तेस्रो गोल थप्यो। भारतका लागि ९१औं मिनेटमा साहल अब्दुल सामदले तेस्रो गोल गरेका थिए। यससँगै भारतले आठौं पटक साफ च्याम्पियनसिप जितेको छ।
नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो। तर, फाइनलमा राम्रो खेल प्रदर्शन गर्न सकेन।