लिम्बूजातिमा कस्तो छ मातृसत्ताको अभ्यास?
पितृसत्तात्मक हिन्दू मूल्य-मान्यता वर्चस्वशाली रहेको वर्तमान समयमा पनि लिम्बू महिला सामाजिक, सांस्कृतिक तवरमा निजी तथा सार्वजनिक जीवन सहजताका साथ जिउन तुलनात्मक रूपमा स्वतन्त्र छन्।
लिम्बूले जीवन र जगतबारे ज्ञानको स्रोत, सामुदायिक, पारिवारिक र व्यक्तिगत संस्कृति, संस्कारको मार्ग निर्देशनको रूपमा मुन्धुमलाई लिने गर्छन्। विभिन्न अध्ययन र अध्येताका अनुसार मुन्धुममा आधारित लिम्बू समुदायमा विशेषतः सन् १९९२ देखि औपचारिक रूपमा धर्म उल्लेख हुन थालेको देखिन्छ र बहुसङ्ख्यक लिम्बूले त्यस बखत आफ्नो धर्म किरात हो भनी उल्लेख गरेको र गर्दै आएका छन्।
सन् २०१८ मा धरानमा ‘युमा साम्यो महासभा’ मार्फत् ‘युमाधर्म घोषणा-पत्र’ सार्वजनिक गरी लिम्बू समुदायको एक ठुलो हिस्साले लिम्बूको मौलिक धर्म ‘युमा’ भएको र त्यस समयउप्रान्त लिम्बूको धर्म ‘युमाधर्म’ उल्लेख हुनुपर्ने अभियान नै सञ्चालन गर्दै आएका छन्।
लिम्बू समुदायभित्र रहेका यी दुई धार्मिक समूहबीच वैचारिक र संस्कारजन्य हिसाबले भिन्न रहेका छन्। यी दुई धार्मिक समूहबीचको भिन्नतालाई एक-अर्काले आदर र स्वीकार गर्न नसकेको देखिन्छ।
यसैकारण, किरात र युमा धर्मी लिम्बूहरू बीचमा बहस र विवाद रहँदै आएको छ। यस लेखनीमार्फत् मानवशास्त्रीय दृष्टिकोणबाट धर्म के हो? वर्तमान समयमा लिम्बू समुदायले मान्दै र दाबी गर्दै आएका धर्महरू प्रणालीगत रूपमा कस्ता धर्म हुन्? साथै, मुन्धुममा आधारित मिथकमा व्याख्या गरिने मातृशक्तिबारे केन्द्रित रहेको छ।
लिम्बू जातिमा मातृसत्ता
मातृसत्तालाई समाज विज्ञानमा फरक फरक दृष्टिकोणबाट परिभाषित गरेको पाइन्छ। मानवशास्त्री पिपुल्स रबाइली (सन् २०१२)का अनुसार, ‘मातृसत्ताले यस्तो समाजबारे जोड दिन्छ, जहाँ महिलाले केन्द्रीय भूमिका खेल्ने मातृ प्रतीकहरू सबै लिङ्गका मानिसको सामाजिक अभ्याससँग जोडिएको हुन्छ।’ यसै सन्दर्भमा, मानवशास्त्री विलिएम् ए. (१९९७) भन्छन्, ‘मातृसत्ता भनेको एउटा समाज जहाँ महिलाहरू, विशेषगरी आमाहरू राजनीतिक नेतृत्व, नैतिक अधिकार र सम्पत्तिको नियन्त्रणको केन्द्रीय भूमिकामा रहेका हुन्छन्।’
समाज विज्ञानका विज्ञहरूका अनुसार मातृसत्तालाई म्याट्रिलोकल विवाह प्रणाली, म्याट्रिलिनिएल नातेदारी र म्याट्रिफोकल पारिवारिक संरचना आदिले समेट्न सक्दैन। कतिपय लेखक मातृसत्ताको इतिहास र अस्तित्वबारे नै पनि विमति राख्छन्। गेर्डा लर्नर (१९८६) ‘विभिन्न विद्वानहरूका अनुसार होमो सेपिएन्सहरूमा मातृसत्तात्मक समाज कहिले थिएन’ भन्छन्। यी विभिन्न समाज विज्ञानका विद्वानको भनाइले इङ्गित गर्दछ कि, मातृसत्ता भनेको यस्तो समाज हो जहाँ कुनै परिवारको वंश प्रक्रिया र पैतृक सम्पति आमाबाट छोरीमा हस्तान्तरण भई महिलाहरू परिवार र समाजका विभिन्न पक्ष र क्षेत्रमा नेतृत्वदायी स्थानमा रहन्छन्।
नेपालका आदिवासी समुदायका महिला अन्य जाति र समुदायको तुलनामा सामाजिक र सांस्कृतिक तवरले स्वतन्त्र छन् भन्ने कथन स्थापित छ। लिम्बू समुदायकै सन्दर्भमा हेर्ने हो भने पनि सामाजिक र सांस्कृतिक अभ्यासमा महिलाको भूमिकालाई महत्त्वपूर्ण रूपमा लिइन्छ। यसैकारण,लिम्बू समुदाय मातृसत्तात्मक समाज हो या विगतमा मातृसत्तात्मक रहेको थियो भन्ने कथनहरू पनि प्रसस्तै छन्।
लिम्बू समुदायलाई किन मातृसत्तात्मक भनिन्छ? वास्तविक रूपमै लिम्बू समुदाय मातृसत्तात्मक नै हो त? अथवा, विगतमा थियो त भन्ने कुरा मुन्धुममा वर्णित लिम्बू समुदायले सर्वमान्य रूपले मान्ने देवता युमा साम्माङ्को मिथकको प्रभावसँग जोडिएको छ। युमा साम्माङ्को मिथकबारे देवकुमार सङ्पाङ्फे (२०५६: ९) को मत यस्तो रहेको छ-
तागेरा निङ्वाफु माङ्को इच्छाको फलस्वरूप यो पृथ्वीको सृष्टि भयो। यक्थुङ् मुन्धुममा उनी लगायत धेरै देवी-देवताको उल्लेख पाइन्छ। तर, याक्थुङ विचारधाराको पहुँचका साथै सबै दृश्य-अदृश्य र विचारका उद्गम स्थान उनै तागेरा निङ्वाफुमा हुन्। उनकै कारण सम्पूर्ण पृथ्वी, हावा, पानी र प्रकाशको सृष्टि भएको हो। कालान्तरमा आध्यात्मिक विषय गहिरो गरी विचार गर्न, तथा अनुमान गर्न सक्ने साधारण जनगणलाई आफूजस्तै हिँड्ने, डुल्ने, जिउँदो, निर्दिष्ट, निश्चित रूपभएको आराध्य देव-देवीको खाँचो पर्यो। त्यसकारण, साधारण जनताको आवश्यकता र आकाङ्क्षा अनुरूप त्यस समयका ज्ञानी गुणी जनहरूका तपस्या फलस्वरूप विभिन्न काल खण्डमा कसैलाई युमा, कसैलाई थेबा, मुकुम्लुङ्मा, पयङ्लुङमा, काप्पोबाको रूपमा तागेरा निङ्वाफुमाले दर्शन दिए। यिनै शक्तिरूपलाई विभिन्न गुरुले विभिन्न कालखण्डमा किरात याक्थुङ्बाका विभिन्न समुदायलाई तागेरा निङ्वाफुमाको रूप भनी बुझाए र फलस्वरूप आराधना गर्न थाले।
याक्थुङ् सा (२०७७) का अनुसार, ‘लिम्बू समुदायमा गर गहना बनाउने, लुगा-तान बुन्ने र खेतीपाती गर्ने सभ्यताको शुरुआत युमामाङ्बाट मार्गनिर्देशन भएको हो। मुन्धुमका मिथकमा सर्वमान्य रूपमा वर्णित युमा साम्माङ् विशेषतः चेम्जोङ्वंशको कुल देवता भए पनि सबै थरका लिम्बूले देवताको रूपमा मान्दै आएका छन्।’ माथिका भनाइ अनुसार युमा साम्माङ्लाई लिम्बूले विभिन्न सभ्यता र संस्कृतिको जननी, घर र परिवारको संरक्षण गर्ने सर्वमान्य देवताको रूपमा लिने गर्दछन्।
यसरी हेर्दा मुन्धुम र यससम्बन्धी मिथकमा मातृशक्ति केन्द्रित लिम्बू समाजको अवशेष रहेको कुरा दाबी गर्दा अत्युक्ति न होला। लिम्बू समुदाय मातृसत्तात्मक नै थियो वा छ भन्नेबारे पर्याप्त प्राज्ञिक अध्ययन अनुसन्धान नभए पनि मुन्धुममा वर्णित युमा साम्माङ्का जस्ता मिथकको प्रभावका कारण हुनसक्छ, पितृसत्तात्मक हिन्दु मूल्य-मान्यता वर्चस्वशाली रहेको वर्तमान समयमा पनि लिम्बू महिला सामाजिक, सांस्कृतिक तवरमा निजी तथा सार्वजनिक जीवन सहजताका साथ जिउन तुलनात्मक रूपमा स्वतन्त्र छन्। यद्यपि, यस किसिमका सहजता र स्वतन्त्रता समुदायको तहसम्म मात्र अभ्यासमा रहेको छ।
हिन्दु धर्म केन्द्रित राज्यले लादेको पितृसत्तात्मक हिन्दूकृत समाजको प्रभावका कारण समयसँगै समुदाय भित्रका लैङ्गिक समानताका आधार स्तम्भ झनै कमजोर हुँदै गएका छन्। समयक्रमसँगै समाज र संस्कृतिमा बदलाब आउनु प्राकृतिक प्रक्रिया हो भनी विभिन्न समाजशास्त्रीको भनाइ रहेको छ।
हिन्दु धर्म केन्द्रित राज्यले लादेको पितृसत्तात्मक हिन्दूकृत समाजको प्रभावका कारण समयसँगै समुदाय भित्रका लैङ्गिक समानताका आधार स्तम्भ झनै कमजोर हुँदै गएका छन्। समयक्रमसँगै समाज र संस्कृतिमा बदलाब आउनु प्राकृतिक प्रक्रिया हो भनी विभिन्न समाजशास्त्रीको भनाइ रहेको छ। भूमण्डलीकरणका साथै सांस्कृतिक उपनिवेशका कारण लिम्बू लगायतका आदिवासी समुदायमा आएको सामाजिक तथा सांस्कृतिक प्रसार र परिवर्तनले नेपालका आदिवासी महिलाको अधिकार र स्वतन्त्रतामा झनै अङ्कुश लाउने र सीमित गर्ने काम भएको नेपालका आदिवासी महिलावादी अभियन्ताको दाबी रहँदै आएको छ।
अघिल्लो वा केही पुस्ता अगाडिका लिम्बू महिलाले परिवारको नीति निर्माणमा खेल्ने भूमिका, जीवन साथी रोज्ने-नरोज्ने वा सम्बन्ध बिच्छेद गर्ने, पुनर्विवाह गर्ने-नगर्ने जस्ता विषयमा आत्मनिर्णयको अधिकार राख्दथे। त्यसैगरी, लिम्बू महिलाहरू पेवापात आदिमा संलग्न भई आत्मनिर्भर रहनेजस्ता व्यक्तिगत, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा बन्देज नभएको अवस्था थियो। केन्द्रीकृत राज्य प्रणाली र यसका विभिन्न आयामहरू समुदाय र समाजमा विस्तार भएसँगै लिम्बूको प्रथाजनित स्वशासन पद्धति र जीवनशैली लोप भएका छन्।
लिम्बूलगायतका आदिवासी जनजातिका ज्ञान र सीप आदिलाई राज्यद्वारा किनारीकृत र दण्डित गर्ने क्रमले व्यापकता पाएको अवस्था छ। यी र यस्ता विभिन्न कारणले लिम्बू समुदायभित्र लैङ्गिक भूमिकालाई पनि विशेषतः हिन्दू दृष्टिकोणबाट व्याख्या गर्ने र अभ्यास गर्ने क्रम बढ्दो छ। लिम्बू समुदायमा हाल आएर मौलिक पहिचान पुनर्स्थापना गर्नका लागि भनेर धर्म, संस्कारजस्ता विषयबारे व्यापक छलफल र बहस हुदै गर्दा समुदायभित्र परम्परागत रूपमा रहेको लैङ्गिक समानताका आधारस्तम्भ कमजोर हुँदै गएको विषयले स्थान पाएको वा ध्यान दिइएको देखिँदैन। समुन्नत र स्वायत्त लिम्बू समाज निर्माणका लागि लैङ्गिक विषय पनि छुटाउन नहुने पक्ष हो।
मुन्धुममा आधारित मिथकमा वर्णित युमा साम्माङ् लिम्बू समुदायमा एक लोक धर्मको रूपमा स्थापित भएको छ। ‘युमा साम्यो’ को रूपमा स्थापित हुँदै गरेको धर्मलाई किन र कसरी लोकधर्म भनियो भन्ने प्रश्न उठ्न सक्छ। यसबारे प्रष्ट हुन समाजशास्त्र र मानवशास्त्रको दृष्टिकोणबाट धर्म र यसका प्रणालीगत प्रकारबारे स्पष्ट हुन जरुरी हुन्छ।
इमाइल दुर्खिम (सन् १९१५) ले धर्मलाई ‘पवित्रतासँग जोडिएको विश्वास र अभ्यासको एकीकृत प्रणाली’ भनी परिभाषित गरेका छन्। यसै सन्दर्भमा भ्यान बल र भ्यान बीक (सन् १९८३) भन्छन- सबै स्पष्ट र निहित धारणाहरू जुन स्वीकारिएको छ र वास्तविकतासँग सम्बन्धित छ तर अनुभवजन्य तरिकाले प्रमाणित गर्न सकिन्न।
लिम्बू समुदायमा हाल आएर मौलिक पहिचान पुनर्स्थापना गर्नका लागि भनेर धर्म, संस्कारजस्ता विषयबारे व्यापक छलफल र बहस हुदै गर्दा समुदायभित्र परम्परागत रूपमा रहेको लैङ्गिक समानताका आधारस्तम्भ कमजोर हुँदै गएको विषयले स्थान पाएको वा ध्यान दिइएको देखिँदैन।
यसरी हेर्दा धर्म विचार, भावना र मूल्यको समिश्रणबाट बनेको प्रणाली हो। अभ्यासगत रूपमा विश्वमा सयौं धर्म रहेका छन् भने प्रणालीगत रूपमा धर्मलाई विशेषतः दुई समूह लोक धर्म अर्थात् फोल्क रिलिजन र सङ्गठित धर्म अर्थात् हाइ रिलिजनका रूपमा वर्गीकरण गरी समाज विज्ञानमा अध्ययन गरिन्छ। यी दुई किसिमका धर्मबीच विशेषतः धार्मिक प्रक्रिया, धर्मज्ञाता, सङ्गठनात्मक स्वरूप, पुज्ने देवी-देवता आदिमा नै फरकपन रहेको हुन्छ। धर्महरू प्रणालीगत रूपमा किन भिन्न हुन्छन् भन्ने सन्दर्भमा (बार्थोलोमेउ, सन् १९८१) भन्छन्-
धार्मिक विकासको शुरुआती चरणमा एकै किसिमको धार्मिक विश्दृष्टिकोण रहेको थियो, जसले गर्दा जनजीवनमा धर्मले प्रवेश पाए पनि व्यक्तिहरू विश्वलाई एकल ब्रह्माण्डको रूपमा अनुभव गरे। यी अवस्थामा धार्मिक समुदाय र समाज पनि एक समान किसिमका थिए। तर आधुनिक विश्वमा धर्म सङ्गठनात्मक रूपमा एक अर्काभन्दा फरक छन्। त्यसकारण, तिनका अभिव्यक्ति पनि फरक हुने गर्दछ।
केही दशक अगाडिमात्र धर्मले औपचारिक रूपमा प्रवेश पाएको लिम्बू समुदायमा पनि फरक सङ्गठनात्मक स्वरूप र अभिव्यक्तिका साथ विशेषगरी दुई किसिमका धर्महरू विकास भएका छन्। यी धर्महरू स्वरूपगत र अभिव्यक्तिगत रूपमा निम्न बमोजिम छन्।
युमा साम्यो र लोकधर्म
लोकधर्मबारे मेकेंजी पार्किन्स (२०१९) ले भनेका छन्, ‘लोकधर्मको प्रारम्भिक दृष्टिकोण विश्वव्यापीभन्दा स्थानीयता केन्द्रित छ। यी धर्महरू स्थानीय देवता र आत्मामा केन्द्रित बन्द प्रणालीका हुन्छन् जसले कुनै एक विशेष समूह वा समुदायका मानिससँग अनन्य सम्बन्ध राख्दछ।’
यसकारण, भन्न सकिन्छ कि लोकधर्म मानव केन्द्रित हुन्छ र कुनै पनि समुदाय वा समूहको लोकप्रिय विश्वासमा आधारित हुन्छ। यस धर्मका अनुसार मानवका आ-आफ्ना पूर्वजका साथै जीवित ब्रह्माण्डका क्रियाशील कर्ताहरू मात्र होइनन् अस्तित्वको केन्द्रका रूपमा रहेका हुन्छन्। यो धर्मले मान्ने देवी-देवता स्थानीय स्तरका हुन्छन् भने आफ्ना पुर्खालाई विशेष महत्त्वका साथ पुज्ने र सम्झिने गर्दछन्। भूत, प्रेतात्मा, मृतात्मा, गालीश्राप र दुष्ट आँखाजस्ता विषयमा विश्वास राख्छन्।
लोकधर्मको कुनै पनि पवित्र धार्मिक ग्रन्थ र स्थान हुँदैन भने यो धर्म अँगाल्न कुनै पनि प्रकारको औपचारिक प्रक्रिया जस्तैः इसाईमा ब्याप्टिजम्जस्ता प्रक्रिया पूरा गर्नु पर्दैन। लोकधर्ममा निश्चितस्थान र समयमा धार्मिक समारोह र क्रियाकलाप (जस्तैः सन्डे चर्च अटेन्डेन्स, तीजमा शिवालयमा पूजाजस्ता अवधारणा) हुँदैन र गरिँदैन।
लोकधर्मको कुनै पनि पवित्र धार्मिक ग्रन्थ र स्थान हुँदैन भने यो धर्म अँगाल्न कुनै पनि प्रकारको औपचारिक प्रक्रिया जस्तैः इसाईमा ब्याप्टिजम्जस्ता प्रक्रिया पूरा गर्नु पर्दैन। लोकधर्ममा निश्चितस्थान र समयमा धार्मिक समारोह र क्रियाकलाप (जस्तैः सन्डे चर्च अटेन्डेन्स, तीजमा शिवालयमा पूजाजस्ता अवधारणा) हुँदैन र गरिँदैन। बरु, व्यक्तिगत तथा पारिवारिक संस्कार र रीतिरिवाज समयानुकूल आफ्नै घर, आँगन, खोला, डाँडाजस्ता मिथकमा महत्त्वका साथ उल्लेख भएका स्थानमा केही सीमित पारस्परिक सम्बन्धका व्यक्तिको उपस्थितिमा धार्मिक ज्ञाताबाट सम्पन्न गरिन्छ।
हाइवर्ट, शो र टाइनउ (१९९९) ले उल्लेखका अनुसार लोकधर्मका नेतृत्वकर्ता अर्थात् धर्मज्ञाता पूर्णकालीन रूपमा धार्मिक क्रियाकलापमा संलग्न हुँदैनन्। उनीहरूको जिजीविषाका लागि आफ्नै पेशा, व्यावसाय हुन्छन्। यद्यपि, उनीहरूसँग दुख-बिराम निको पार्ने (हिलिङ्), भाग्य बताउन सक्ने र बाधा अड्चन फुकाई सफलता दिलाउन सक्ने ईश्वरीय शक्ति भएको विश्वास गरिन्छ। यस किसिमका धर्महरू विशेषतः आफूभन्दा भिन्न र शक्तिशाली संस्कृतिसँगको टकराब वा कुनै प्रकोपका कारण गम्भीर सांस्कृतिक सङ्कटमा परेपछि कुनै सांस्कृतिक र आस्थाका समुदाय आन्दोलित भई यस किसिमका धर्महरू स्थापित हुन जान्छन्।
लिम्बू समुदायमा विशेषतः पृथ्वी नारायण शाहको सत्तासँग लिम्बूहरूको सम्झौतापछि हिन्दु धर्म-संस्कारले बिस्तारै प्रवेश पायो भने पञ्चायतकालको ‘एक भाषा, एक धर्म, एक राष्ट्र’ भनी सरकारी तवरबाट हिन्दू धर्म-संस्कार लिम्बूलगायत विभिन्न आदिवासीमाथि लाद्ने काम भयो। यसै समयकालमा फाल्गुनन्दले शुरू गरेको ‘सत्यहाङ्मा’ पन्थ पनि तत्कालीन राज्यसत्ताले लिइरहेको धार्मिक एकरूपताको प्रभावबाट अछुतो हुन नसकेको देखिन्छ। त्यसैकारण, तत्कालीन समयमा समाज सुधार अभियानका रूपमा शुरू भएको सत्यहाङ्मा पन्थ अर्थात् हालको किरात धर्म (लारुम्बा निर्देशित) का केही संस्कार र धार्मिक क्रियाकलापमा ‘धेरथोर हिन्दु प्रभाव रहेको छ’ भन्ने आरोप लाग्ने गरेको छ।
संविधानतः हाल नेपाल धर्मनिरपेक्ष राज्य भए पनि व्यावहारिक रूपमा हिन्दूधर्म संस्कारकै प्रभाव रहेको छ। वर्तमानमा विश्वको कुनै एक स्थानको भाषा, संस्कृति, रीतिरिवाज प्रविधिको विस्तारले क्षणभरमै संसारभरि प्रसारित भइरहेका छन्। सांस्कृतिक प्रसार बहुसङ्ख्यकले मान्नेबाट अल्पसङ्ख्यकले मान्नेतर्फ बग्ने हुँदा लिम्बूसहित अन्य विभिन्न आदिवासीको मौलिक संस्कार, संस्कृति, भाषा, लिपि, ज्ञान, विचार आदि बाह्य प्रभावको कारण मौलिकपनबाट टाढिँदै गएको देखिन्छ।
यी र यस्तै अन्य तत्वहरूका कारण लिम्बू धर्म-संस्कृतिले सही बाटो तय गर्न नसकेको कारण लिम्बू परम्परागत धर्म, संस्कृतिलाई मौलिक तरिकाले पुनर्स्थापना गर्ने ‘युमा साम्यो’ को भनाइ रहेको छ। युमा साम्योको एकबुँदे घोषणा-पत्रमा ‘याक्थुङ्बा (लिम्बू, सुब्बा) जातिको मौलिक धर्म, संस्कृतिको संरक्षण, सम्वर्द्धनका लागि याक्थुङ्बा जातिले अनुशरण गरिल्याएको परम्परागत धर्म-संस्कृति र संस्कार नै ‘युमाधर्म’ हो भनी घोषणा गर्दछ’ भनेर उल्लेख गरिएको छ (युमा धर्म घोषणा पत्र, २०१८)।
विज्ञहरूका धर्म र यसका प्रणालीबारे व्याख्यासँग तुलना गरेर हेर्दा याक्थुङ लिम्बू समुदायमा स्थापित हुँदै गरेको धर्म ‘युमा धर्म’ पनि एक प्रकारको लोकधर्म हो। मुन्धुमका मिथकमा सर्वमान्य रूपमा वर्णित युमा साम्माङ् विशेषतः चेम्जोङ वंशको कुल देवता भएता पनि सबै थरका लिम्बूले देवताको रूपमा मान्दै आएका छन्।
यसरी विज्ञहरूका धर्म र यसका प्रणालीबारे व्याख्यासँग तुलना गरेर हेर्दा याक्थुङ लिम्बू समुदायमा स्थापित हुँदै गरेको धर्म ‘युमा धर्म’ पनि एक प्रकारको लोकधर्म हो। मुन्धुमका मिथकमा सर्वमान्य रूपमा वर्णित युमा साम्माङ् विशेषतः चेम्जोङ वंशको कुल देवता भएता पनि सबै थरका लिम्बूले देवताको रूपमा मान्दै आएका छन्। युमा धर्मको अवधारणा पनि मुख्यतः मुन्धुम अन्तर्गत ‘युमा साम्माङ्’ मिथकमा आधारित रहेको देखिन्छ। युमा धर्मको कुनै पनि औपचारिक धार्मिक ग्रन्थ हुँदैन, मुन्धुमलाई नै आधार मानी रहिआएका जन विश्वासकै आधारमा यसका धार्मिक र सांस्कृतिक प्रक्रिया र रीति-रिवाज सम्पन्न गरिन्छ।
यस धर्म अँगाल्न कुनै पनि औपचारिक धार्मिक प्रक्रिया आदि पनि अभ्यासमा देखिँदैन। त्यसैगरी, धार्मिक ज्ञाता तथा अभ्यासकर्ता पनि पूर्णकालीन धार्मिक गुरु हुँदैनन्। तर, पनि घर र वनका सम्पूर्ण देवतालाई मनाउन, भाग्य बताउन सक्ने र बाधा अड्चन फुकाई सफलता दिलाउन सक्ने ईश्वरीय शक्ति भएको विश्वास गरिन्छ। यस धर्मको धार्मिक गतिविधि, सङ्गठनात्मक संरचना आदिमा व्यापक परिवर्तन गर्दै भविष्यमा हाइ रिलिजन अर्थात् संस्थागत धर्म हुन पनि सक्दछ।
एक संस्थागत धर्मको अभ्यासमा ‘किरात धर्म’
२०४६ सालको राजनीतिक परिवर्तनपछि बहुसङ्ख्यक याक्थुङ् लिम्बूले विशेषतः धर्मको रूपमा औपचारिक र संस्थागत प्रयोजनका लागि ‘किरात धर्म’ लेख्दै लेखाउँदै आएका छन्। किरात धर्मको बृहत् दायरामा लिम्बूको मौलिक संस्कार, सत्यहाङ्मा पन्थी, राई, सुनुवार, याक्खालगायत सम्पूर्णका संस्कार, संस्कृति र धार्मिक आस्थालाई समेटेको छ। १९८८ सालमा फाल्गुनन्दले लिम्बूवान क्षेत्रको विभिन्न व्यक्तित्वको भेला गराई ‘सत्यधर्म मुचुल्का’ गरेपछि याक्थुङ् (लिम्बू) समुदायमा यस पन्थ अर्थात् धर्मको शुरूआत भएको देखिन्छ।
शुरूआती ‘सत्यधर्म मुचुल्का’ याक्थुङ्(लिम्बू) संस्कार-संस्कृतिमा रहेका पछौटेपन र विकृतिलाई सुधार गर्ने अभियानका रूपमा स्थापना भए पनि व्यावहारिक रूपमा धार्मिक अभ्यासलाई अगाडि बढाएको देखिन्छ। २०३६ सालमा ‘किरात धर्म तथा साहित्य उत्थान संघ’ (किधसाउसं) को रूपमा दर्ता भएपछि ‘किरात धर्म’को रूपमा स्थापना भएको यस सम्बन्धी अध्ययन सन्दर्भले जनाउँछ। यसरी क्रमिक रूपमा सत्यहाङ्मा पन्थलाई धार्मिक रूपमा सङ्गठित र सिद्धान्तकृत गरी स्थापना गरिएको र लिम्बू जातिको साझा सङ्गठन किरात याक्थुङ् चुम्लुङ् (कियाचु)ले पनि स्थापनाकालदेखि नै किरात धर्मलाई लिम्बूको धर्मको रूपमा स्वीकार गरी सोही अनुरूप आधिकारिक र औपचारिक रूपमा उल्लेख गर्दै, गराउँदै आएको छ।
यसको एउटा उदाहरण, बाह्रौँ राष्ट्रिय जनगणना २०७८ का लागि पनि चुम्लुङ्ले लिम्बू समुदायलाई धर्मको महलमा ‘किरात धर्म’ उल्लेख गर्न भनी आह्वान गरेको छ। यी र यस्ता वास्तविकताहरूले लिम्बू समुदाय भित्रको ‘किरात धर्म’ एक संस्थागत धर्म अर्थात् हाइ रिलिजन भएको स्पष्ट हुन्छ। संस्थागत धर्म अर्थात् हाइ रिलिजनलाई विभिन्न धर्मशास्त्री तथा समाज वैज्ञानिकले यसरी चर्चा गरेका छन्:
विश्वास प्रणाली र रीतिरिवाज व्यवस्थित र औपचारिक रूपमा स्थापना भएका धर्मलाई संस्थागत धर्म भनिन्छ। यस धर्मका आधिकारिक सिद्धान्त, तहगत नेतृत्व संरचना र वर्गीकृत नियम र अभ्यास हुन्छन्। त्यसैगरी, संस्थागत धर्मले मानिसमा आध्यात्मिकताको प्रमाणिक परम्पराको थालनी गर्दछ। यसले उनीहरूलाई विवेक र साथ प्रदान गरी व्यक्तिगत जीवनका कष्ट र अस्थिरताको समयमा हौसला प्रदान गर्दछ। (स्नाइडर्स, २००३ः १७२)
किरात धर्म ‘सत्यहाङ्मा पन्थ’को प्रवर्तक फाल्गुनन्द रहेको, धार्मिक आस्थाको प्रमुख केन्द्रस्थलको रूपमा लारुम्बालाई मानिने, लारुम्बासहित देश-विदेशमा फैलिएको यस धर्मका अनुयायीद्वारा विभिन्न धार्मिक स्थल र माङ्हिमजस्ता विशेष आकृतिका संरचनाको निर्माण गरिएको छ। यस धार्मिक समूहद्वारा ‘किरात साम्जिक् मुन्धुम’ नामक विभिन्न धार्मिक ग्रन्थ प्रकाशन गरिएका छन्। यसैगरी, विभिन्न विशेष दिवस फाल्गुनन्द जयन्ती, आत्मानन्दको जन्मदिन आदिमा अनिवार्य विशेष पूजा तथा धार्मिक अनुष्ठानको आयोजना गरिनु, किरात सत्यहाङ्मा धर्म अँगाल्न धर्मगुरुद्वारा धार्मिक प्रक्रिया ‘शब्दी’ गराइनु आवश्यक हुनुजस्ता यस धर्मका संस्कारजन्य गतिविधि, संस्थागत स्वरूप, भौतिक संरचना जस्ता विशेषताले ‘किरात धर्म’ एक संस्थागत धर्म अर्थात् हाइ रिलिजन हो भन्ने प्रष्ट पार्दछ।
किरात धर्म ‘सत्यहाङ्मा पन्थ’को प्रवर्तक फाल्गुनन्द रहेको, धार्मिक आस्थाको प्रमुख केन्द्रस्थलको रूपमा लारुम्बालाई मानिने, लारुम्बासहित देश-विदेशमा फैलिएको यस धर्मका अनुयायीद्वारा विभिन्न धार्मिक स्थल र माङ्हिमजस्ता विशेष आकृतिका संरचनाको निर्माण गरिएको छ।
किरात सत्यहाङ्मा पन्थी आफ्नो धर्म र अध्यात्मको केन्द्रमा गुरु र गुरुआमालाई लिने गर्दछन् भने गुरु, गुरुआमाबाट दिइने धार्मिक, सांस्कृतिक, दैनिक मानव जीवनका व्यावहारिक पक्षबारे निर्देशन, ज्ञान र आशीर्वादलाई आफ्नो मार्ग निर्देशन र हौसलाको रूपमा लिने गर्दछन्। सर्वोच्च धार्मिक गुरुको रूपमा आत्मानन्द लिङ्देनलाई मान्ने र धर्मगुरु तथा धर्मज्ञाता (सेवासाबा) हरूलाई क्रमागत रूपमा उच्चदेखि निम्न स्तरमा स्तरीकरण गरिनुका साथै यस धर्ममा लौकिक देवता, प्रेत, स्वर्गदूत र आत्माबारे विश्वास गरिन्छ। यी सबै धार्मिक र सांस्कृतिक प्रक्रियाहरू संस्थागत धर्म अर्थात् हाई रिलिजनका विशेषताहरू हुन्।
यसैगरी, कियाचुले प्रत्येक वर्ष, चासोक तङ्नाम, बलिहाङ् तङ्नाम, याक्वा तङ्नाम, सिसेक्पा तङ्नाम, कक्फेक्वा तङ्नामजस्ता चाडपर्व र तङ्सिङजस्ता अनुष्ठानहरू विशेषतः ललितपुरको सानो हात्तीवनस्थित् माङ्हिम परिसर र चुम्लुङहिम् परिसरमा सार्वजनिक र अनिवार्य रूपमा मान्न-मनाउन धार्मिक तथा संस्कृतिक अनुष्ठानहरूको आयोजना गर्नु पनि संस्थागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप हुन्।
मिथकको प्रभाव
मानवशास्त्री इमाइल दुर्खिम (१९६६) ले भनेका छन्, ‘धर्म प्रतीकहरूको प्रणाली हो जसले अस्तित्वको सामान्य क्रमको अवधारणा बनाएर मानिसलाई शक्तिशाली, व्यापक र दीर्घ स्थायित्वको लागि प्रेतित गर्दछ।’ धर्मले आफ्नो प्रतीकको माध्यमबाट विश्वास, मूल्य, पवित्रता र आध्यात्मिक अभ्यासको वर्णन गर्दछ। व्यक्तिले आफूले विश्वास गर्ने प्रतीकले निर्देशित गर्ने व्यवहार, आचरण र क्रियाकलापहरू पूरा गर्ने क्रममा आफ्ना दैनिक जीवनका विभिन्न, सामाजिक, आर्थिक, सांस्कृतिक अभ्यासहरूमा ती आचरण र क्रियाकलाप समाहित गर्दै लैजान्छन्।
यसै प्रक्रियामार्फत् ती क्रियाकलाप संस्कार तथा संस्कृतिका रूपमा स्थापित हुन्छन्। आदिवासी लिम्बू प्रकृतिपुजक (Animist) भएको विभिन्न अध्ययन र अध्येताको दाबी छ। लिम्बू समुदायमा धर्मको अवधारणा शुरू भएको धेरै समय भएको देखिँदैन। हाल विशेषगरी दुई धार्मिक समूह ‘किरात धर्म’ र ‘युमा धर्म’ रहेका छन्।
सङ्गठनात्मक स्वरूप, धार्मिक, सांस्कृतिक रीतिरिवाजको अभ्यास, धर्मगुरु र धार्मिक ग्रन्थको आधारमा संस्थागत धर्मको अभ्यास गरिरहेको ‘किरात धर्म’ १९८८ सालमा फाल्गुनन्दले लिम्बूवान क्षेत्रको विभिन्न व्यक्तित्वको भेला गराई सत्यधर्म मुचुल्का उठान गरेपछि याक्थुङ (लिम्बू) समुदायमा यस धार्मिक पन्थको शुरूआत भएको देखिन्छ। यसरी क्रमिक रूपमा सत्यहाङ्मा पन्थलाई धार्मिक रूपमा संगठित र सिद्धान्तकृत गरी स्थापना गरिएको र लिम्बू जातिको साझा सङ्गगठन कियाचुले पनि स्थापनाकालदेखि नै किरात धर्मलाई लिम्बूहरूको धर्मको रूपमा स्वीकार गरी सोही अनुरूप आधिकारिक र औपचारिक रूपमा उल्लेख गर्दै, गराउँदै आएको देखिन्छ। यसकारण, हुनसक्छ, सत्यहाङ्मा पन्थ अन्तर्गतको धार्मिक अनुष्ठान र रीतिरिवाज अभ्यास नगरेर लिम्बूहरूको परम्परागत संस्कार, संस्कृति अनुसारका धार्मिक सांस्कृतिक रीतिरिवाज अवलम्बन गर्ने लिम्बूले पनि आफ्नो धर्म ‘किरात’ हो भनी स्वीकार गर्दै आएका छन्।
लोक धर्मको रूपमा स्थापित भएको ‘युमा धर्म’को आधारको रूपमा रहेको लिम्बूको सर्वमान्य देवता ‘युमा साम्माङ्’ को मिथकले लिम्बू संस्कार, संस्कृति, रीतिरिवाज र आर्थिक क्रियाकलाप आदिमा ठुलो प्रभाव रहेको छ।
विभिन्न तत्वहरूका कारण लिम्बू धर्म, संस्कृतिले सही बाटो तय गर्न नसकेको कारण लिम्बू परम्परागत धर्म, संस्कृतिलाई मौलिक तरिकाले पुनर्स्थापना गर्ने उद्देश्य र दाबीका साथ सन् २०१८ मा ‘युमा साम्यो’ महासभामा घोषणा-पत्र सार्वजनिक गर्दै लिम्बू समुदायमा अर्को धार्मिक समूहको औपचारिक शुरूआत भएको पाइन्छ। लिम्बू समुदायका लोक देवी-देवातालाई मुख्य आस्थाको केन्द्र मानी स्थापित भएको युमा धर्मले गर्ने धार्मिक, सांस्कृतिक रीतिरिवाज, धार्मिक ज्ञाताको प्रकार आदिका विशेषताका आधारमा यस धर्मलाई ‘लोक धर्म’ भन्न सकिन्छ।
लिम्बू समुदायले मान्ने यी दुई धर्मको पवित्रताको विश्वास, अभ्यास र प्रणालीको आधारले भिन्न तर विशिष्ट छन्। लोक धर्मको रूपमा स्थापित भएको ‘युमा धर्म’को आधारको रूपमा रहेको लिम्बूको सर्वमान्य देवता ‘युमा साम्माङ्’ को मिथकले लिम्बू संस्कार, संस्कृति, रीतिरिवाज र आर्थिक क्रियाकलाप आदिमा ठुलो प्रभाव रहेको छ।
यसैगरी, मिथकको प्रभावका कारण हुनसक्छ, पितृसत्तात्मक हिन्दू मूल्य-मान्यता वर्चस्वशाली रहेको वर्तमान समयमा पनि लिम्बू महिला सामाजिक, सांस्कृतिक तवरमा निजी तथा सार्वजनिक जीवन सहजताका साथ जिउन तुलनात्मक रूपमा स्वतन्त्र छन्। लिम्बू समुदाय मातृसत्तात्मक नै थियो वा छ भन्नेबारे पर्याप्त प्राज्ञिक अध्ययन अनुसन्धान नभए पनि मुन्धुममा वर्णित युमा साम्माङ्का जस्ता मिथकको प्रभावका कारण हुनसक्छ, लिम्बू समुदायमा महिलालाई व्यक्तिगत, सामाजिक, आर्थिक, सांस्कृतिक जीवनमा बन्देज गरिएको इतिहास पनि छैन।
समयक्रमसँगै हिन्दू धर्म केन्द्रित राज्यले लादेका पितृसत्तात्मक हिन्दूकृत समाजको प्रभावका साथै भूमण्डलीकरणका कारण लिम्बू समुदायको आदिवासीय लैङ्गिक अभ्यास झनै कमजोर हुँदै गएको छ। समुदायमा हाल आएर मौलिक पहिचान पुनर्स्थापना गर्नका लागि भनेर धर्म, संस्कारजस्ता विषयबारे व्यापक छलफल र बहस हुँदै गर्दा समुदायभित्र परम्परागत रूपमा रहेको लैङ्गिक समानताका आधार स्तम्भ कमजोर हुँदै गएको विषयले पनि स्थान पाउन जरुरी छ।
(त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर लिम्बू डेमोक्रेसी रिसोर्स सेन्टरसँग आवद्ध छिन्।)
डी.बी. आङबुङ्, टेक लावती र टङ्क सेलिङले सम्पादन गरेको ‘लिम्बू पहिचान : मौलिक याक्थुङ् पहिचानको खोजी’ पुस्तकमा ‘लिम्बूजातिमा मातृसत्ता, लोक देवीदेवता र धर्म’ शीर्षकमा प्रकाशित आलेख।