साफ च्याम्पियनसिपको उपाधिका लागि भारतसँग भिड्दै नेपाल
साफ च्याम्पियनसिप फूटबलको उपाधिका लागि आज नेपाल र भारत प्रतिस्पर्धा गर्न लागेका छन्।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय फूटबल रङ्गशालामा नेपाल र भारतको खेल हुनेछ। नेपाली टोलीले उपाधिका लागि मैदानमा उत्रिने जनाएको छ।
नेपाली टोलीका प्रशिक्षक र कप्तानले 'प्रि–म्याच कन्फ्रेन्स' मा जितका लागि मैदानमा उत्रिने बताएका छन्। भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल प्रतिस्पर्धा एकदमै कडा हुने बताए। तथापि, जितका लागि मैदानमा उत्रिने उनको भनाइ थियो।
नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले धेरै बोल्ने समय नभएको बताउँदै खेलेर देखाउने बताए। कप्तान चेम्जोङले फाइनल खेलका लागि नेपाली टोली तयार रहेको बताए।
उनले खेलको अन्तिम मिनेटसम्म प्रतिस्पर्धा गर्ने बताए। गोर्खाली भनेर चिनिए जसरी नै गोर्खाली शैलीमा प्रतिस्पर्धा गर्ने चेम्जोङको भनाइ थियो।
लिग चरणको खेलमा नेपाल भारतसँग अन्तिम समयमा एक गोलले पराजित भएको थियो। खेलको ८२औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गरेका थिए।
जसले गर्दा भारत अङ्कतालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको थियो। लिग चरणका चार खेलमा भारतले दुई जित र दुई बराबरी खेल्दै आठ अङ्क बटुलेको थियो।
त्यस्तै, नेपालले चार खेलमा दुई जित, एक बराबरी र एक हार बेहोर्दै सात अङ्क बटुलेको थियो। नेपाल अङ्कतालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो।
नेपालले माल्दिभ्सलाई १-० तथा श्रीलङ्कालाई ३-२ ले पराजित गरेको थियो। त्यस्तै, भारतसँग १-० ले हार बेहोरेको थियो भने बाङ्लादेशसँग १-१ को बराबरी खेलेको थियो।
साफ च्याम्पियनसिप प्रारम्भ भएको २८ वर्ष पुगेको छ। नेपाल पहिलो पटक फाइनलमा पुगेको हो। आज नेपालले भारतलाई पराजित गर्न सके पहिलो पटक उपाधि जित्नेछ।
नेपाल र भारतबीचको फाइनल खेल नेपाली समय अनुसार आज राति ८:४५ बजे माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फूटबल रङ्गशालामा हुनेछ।