गलत ट्वीटले फसे फरहान
बलिउड अभिनेता, निर्देशक फरहान अख्तर यतिबेला एक ट्वीटलाई लिएर हाँसोका पात्र बनाइएका छन्।
अख्तरले आज बिहान ट्वीट गर्दै भोपालबाट भारतीय जनता पार्टीकी विवादस्पद उम्मेदवार साध्वी प्रज्ञा ठाकुरलाई मत नदिन नगरवासीलाई आग्रह गरेका थिए ।
महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेलाई राष्ट्रवादीलगायतका विभिन्न विवादले भरिएको अभिव्यक्ति दिदैं आएकी ठाकुर एक बम काण्डकी आरोपी समेत हुन् ।
अख्तरले तिनै ठाकुरलाई मत नदिन र भोपाललाई अर्को ग्यास काण्डबाट जोगाउन अनुरोध गरेका थिए । भारतमा सन् १८८४ मा भोपालस्थित एक ग्यास च्याम्बरमा भएको चुहावटका कारण कम्तिमा ३७८७ जनाको मृत्यु भएको थियो ।
तर, अख्तरको यो आग्रह एक सातापछि मात्र आएको छ । भोपालमा गत १२ मे मै निर्वाचन भइसकेको छ ।
आलोचकका दृष्टिमा अब्बल यी कलाकारबाटै लापरवाहीपूर्वक यस्तो ट्वीट आएपछि उनी ‘ट्रोल’को आक्रमणमा परेका छन् ।
एक जनाले त उनलाई २०२४ का लागि चाँडै ट्वीट गरेको भन्दैं जिस्क्याएका पनि छन् ।
दिउँसो ३ः३१ मा भने अख्तरले आफ्ना गीतकार बुबा जावेद अख्तरकै शैलीमा घुमाउरो हिसाबले गल्ती महशुस गरेका छन् । पुनः ट्वीट गर्दै अख्तरले लेखेका छन्–‘मैले तारिख गलत सम्झे, तपाईले घाँटी अठ्याउनुभयो । जसले इतिहास गलत सम्झे, तपाई अँगालो मारिरहनुभएको छ।’ – एजेन्सी