सडकमा कति सुरक्षित छ सेतो छडी?
विकसित होस् या अविकसित, सबै देशमा दृष्टिविहीनको साथी बनेको सेतो छडी नेपालमा भने न सुरक्षित छ, न त सुलभ नै।
कहीं कतै सेतो छडी देख्नुभएको छ? हिंड्दा वा गुड्दा सेतो छडी बोक्ने मान्छेलाई सघाउनुभएको छ? सघाउँदा पनि सेतो छडी समात्नुभएको छ?
यी तथा यस्ता थुप्रै प्रश्नको जवाफ खोज्नु अघि स्मरण गराऔं, आज १५ अक्टोबर अर्थात् सेतो छडी सुरक्षा दिवस। यो अपाङ्गता भएका व्यक्तिका लागि सहयोगी सामग्रीमध्ये एक हो। यसबारे चर्चा गर्नु अघि नेपालको संविधानका केही धाराहरू स्मरण गर्न जरुरी छ।
नेपालको संविधानमा स्वतन्त्रतापूर्वक बाँच्न पाउने मौलिक हक अन्तर्गत अपाङ्गता भएका व्यक्तिको अधिकार पनि उल्लेख छ। साथै, संविधानका विभिन्न धारामा अपाङ्गता भएका व्यक्तिको अधिकार सुरक्षित गरिएको छ। यससँगै सामाजिक न्यायको हकमा त अझ अपाङ्गता भएका व्यक्तिलाई आफ्नो विविधताका साथ मर्यादित जीवनको हक भएको कुरा लिपिबद्ध गरिएको छ।
त्यस्तै, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ ले पनि अपाङ्गता भएका व्यक्तिको अधिकार अन्तर्गत सहायक सामग्रीको उपलब्धताको विषयलाई अघि सारेको छ। राज्यले यसको व्यवस्था गर्नुपर्ने किटान गरिएको छ। यद्यपि, आज पनि सहायक सामग्रीको अभावमा अपाङ्गता भएका व्यक्ति निकै कठिन जीवन बिताइरहेका छन्।
उसो त आजको विश्व प्रविधिमा बाँचेको छ। हिजो असम्भव भनिएका धेरै विषय आज सम्भव भएका छन्। प्रविधिले मान्छेको दैनिकीलाई निकै सहज बनाएको छ। सहज जीवनयापनको कुरा गर्दा दृष्टिविहीनको दैनिकीलाई पनि सम्झनु सान्दर्भिक हुन्छ।
आजको दिनलाई विश्वभरिका दृष्टिविहीनले विविध कार्यक्रमका साथ मनाउने गर्छन्। खासगरी दृष्टिविहीनको सुरक्षित आवागमनको विषयसँग यसको प्रसङ्ग जोडिएको छ। यसको ऐतिहासिक पृष्ठभूमिलाई खोज्दै जाँदा प्रथम विश्वयुद्धसम्म पुग्नुपर्ने हुन्छ।
सेतो छडी साधारण आँखाले हेर्दा मात्र एक लट्ठी जस्तो देखिन्छ। यो लामो, छोटो, गह्रौं वा हल्का विभिन्न साइजमा पाइन्छ। यसलाई सजिलै फोल्ड गरेर राख्न सकिने गरी निर्माण गरिएको हुन्छ।
त्यति वेला हजारौं सैनिकले युद्धका कारण आफ्नो दृष्टि गुमाउनुपरेको थियो। ती सैनिकको उपचारमा संलग्न चिकित्सकलाई ती दृष्टि गुमाएका व्यक्तिको पुनःस्थापनाका लागि उपाय खोज्ने क्रममा एक जना अमेरिकी चिकित्सक डा. रिचार्ड ई. हुभरले सेतो छडीको आविष्कार गर्न सफल भए। उनले दृष्टिविहीन सैनिकलाई यसको प्रयोग गरी हिंडडुल गर्नसक्ने बनाए।
सैनिकको पुनःस्थापनाका लागि आविष्कार गरिएको यो सेतो छडी पछिल्ला दिनमा आएर सारा दृष्टिविहीन व्यक्तिको यात्राको भरपर्दो साथी बन्न पुगेको छ। मान्छेको साथी मान्छे नै सदा नबन्न सक्छ। कहिलेकाहीं चाहेर त कहिले नचाहेर नै मान्छेले मान्छेलाई सहयोग गर्न सक्दैन। तर, यो सेतो छडी जुनसुकै वेला दृष्टिविहीनको हातमा रहन्छ र यात्रामा डोर्याइरहन्छ। त्यसैले यसको मर्मलाई बुझ्नु र यसको प्रयोगबारे सही जानकारी राख्नु जरुरी छ।
सेतो छडी साधारण आँखाले हेर्दा मात्र एक लट्ठी जस्तो देखिन्छ। यो लामो, छोटो, गह्रौं वा हल्का विभिन्न साइजमा पाइन्छ। यसलाई सजिलै फोल्ड गरेर राख्न सकिने गरी निर्माण गरिएको हुन्छ। सेतो छडीमा मुख्य तीन भाग हुन्छन्।
ग्रिप: यो सेतो छडीको माथिल्लो भाग हो, जहाँ हातले समातिन्छ। यो भाग रबरबाट बनाइएको हुन्छ र कालो वा हरियो रङको हुन्छ।
बीचको भाग तथा मुख्य भाग: यो सेतो छडीको मुख्य भाग हो, जुन आल्मुनियमबाट बनेको हुन्छ। यसको रङ सेतो हुने गर्छ, जसले गर्दा टाढाबाट सजिलै देख्न सकिन्छ।
सेतो छडी बाटो देखाउन सक्ने विशेष यन्त्र वा मेसिन भने होइन, तर यसको प्रयोगको ज्ञान भएपछि दृष्टिविहीन व्यक्तिले बाटो पहिल्याउन सक्छ, सम्भावित दुर्घटनाबाट आफूलाई जोगाउन सक्छ।
तल्लो भाग वा टिप: यो सेतो छडीको तल्लो जमीनमा छोइने भाग हो, जसलाई टिप भनिन्छ। यो रातो रङको हुन्छ। यस भागले जमीनमा छुँदा नरम, कडा छुट्याउन सकिने गरी बनाइएको हुन्छ। यसले सजिलैसँग बाटोमा रहेका वस्तु छुँदा कम्पनको सिर्जना गर्छ।
सेतो छडीबारे चर्चा गरिरहँदा यसका लागि कस्तो बाटो चाहिएला र यसले कसरी दृष्टिविहीन व्यक्तिलाई बाटो देखाउन सकेको होला भन्ने जिज्ञासा उठ्छन्। वास्तवमा सेतो छडी बाटो देखाउन सक्ने विशेष यन्त्र वा मेसिन भने होइन, तर यसको प्रयोगको ज्ञान भएपछि दृष्टिविहीन व्यक्तिले बाटो पहिल्याउन सक्छ, सम्भावित दुर्घटनाबाट आफूलाई जोगाउन सक्छ।
अझ पुनर्निर्माण चरणमा रहेको हाम्रो मुलुकमा आजको भोलि नै बाटो भत्काइन्छ र बदलिन्छ। यसको मतलब, हिजो राम्रो बाटो आज खनिएको हुन्छ, अनि भोलि बालुवाको थुप्रो त अर्को दिन त्यही ठाउँमा गाडी पार्किङ गरिएको हुन्छ। यस्तो अवस्थामा सेतो छडीको प्रयोगबाट दृष्टिविहीन व्यक्तिले सम्भावित खतराबाट आफूलाई जोगाउन सक्छ।
तर, दुःखको कुरा यो सेतो छडी नेपालमा बन्दैन। यसको उत्पादन गर्ने कारखानाबारे सरकारी वा गैरसरकारी निकाय कसैको पनि ध्यान पुग्न सकेको छैन। भारत र अन्य देशबाट आयात गरिएको सेतो छडीको भरमा दृष्टिविहीनले आफ्नो यात्रा तय गरिरहेका छन्, त्यो पनि महँगो मूल्यमा।
अझ ग्रामीण क्षेत्रका अपाङ्गता भएका व्यक्तिलाई सेतो छडीबारे ज्ञानको अभाव छ। तसर्थ, यसको जानकारीका लागि समेत कार्यक्रम हुन जरुरी छ।
सडकपेटीमा पहेंलो रङ लगाएको देख्नुभएको छ नि, जुन ठाउँमा केही ब्लक राखेर दृष्टिविहीन व्यक्तिका लागि महसूस गर्नसक्ने बनाइएको छ। यो दृष्टिविहीनले सेतो छडी लिएर हिंड्ने बाटो हो, तर ज्ञान वा सचेतनाको अभावमा त्यो पेटीका ब्लकमा मानिसहरू गफ लगाएर बसेका हुन्छन्, मोटरसाइकल पार्किङ र ठेलागाडा समेत राखिएको हुन्छ।
फेरि एक पटक अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रसङ्गलाई जोडौं। नेपाल अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्षराष्ट्र हो। यस महासन्धिको धारा ९ मा अपाङ्गता भएका व्यक्तिको पहुँचको हकको विषय समेटिएको छ। यस्तो प्रतिबद्धता गरेको पनि एक दशक पुगिसकेको छ।
अर्कातर्फ, दिगो विकासका लक्ष्यहरूमा पनि नेपालले काम गरिरहेको छ। यस अन्तर्गत व्यवस्थित र पहुँचयुक्त समावेशी शहरको पक्षलाई नेपालले पनि आत्मसात् गरेको छ। अझ नेपालले २०६९ सालमै सार्वजनिक भौतिक संरचनामा पहुँच र सञ्चार सेवा सम्बन्धी निर्देशिका जारी गरिसकेको छ।
त्यसैले पनि होला, हिजोआज हाम्रा सडकपेटी दृष्टिविहीनमैत्री र ह्विलचेयर प्रयोगकर्ताका निम्ति पनि सहज बनाइँदै छन्। सडकपेटीमा पहेंलो रङ लगाएको देख्नुभएको छ नि, जुन ठाउँमा केही ब्लक राखेर दृष्टिविहीन व्यक्तिका लागि महसूस गर्नसक्ने बनाइएको छ। यो दृष्टिविहीनले सेतो छडी लिएर हिंड्ने बाटो हो, तर ज्ञान वा सचेतनाको अभावमा त्यो पेटीका ब्लकमा मानिसहरू गफ लगाएर बसेका हुन्छन्, मोटरसाइकल पार्किङ र ठेलागाडा समेत राखिएको हुन्छ। विकसित देशहरूमा यस्तो स्थानमा अवरोध भएमा कानूनी रूपमा दण्डित गर्नसक्ने व्यवस्था हुन्छ।
दृष्टिविहीन व्यक्तिलाई सहयोग गर्दा आफ्नो हात दिएर पाखुरामा समात्न लगाउनुपर्छ, जसले गर्दा उसले अगाडि हिंड्ने व्यक्तिको पदचाप अनुसार आफ्नो पाइला चाल्न सक्छ र सुरक्षित साथ बाटो पहिल्याउन पनि सक्छ।
केही दशकदेखि नेपालमा पनि १५ अक्टोबरलाई अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवसका रूपमा मनाउने गरिएको छ। यसको प्रयोग र उपयोगिताबारे चेतना फैलाउने काम गरिंदै आएको छ। तर, सचेत कसलाई बनाउने? प्रयोगकर्तालाई, लगानीकर्तालाई, अभिभावकलाई वा समाजलाई। निष्कर्षमा पुग्न त्यति सजिलो छैन।
फेरि हाम्रो देशको भौगोलिक संरचना पनि त्यति सजिलो छैन। अझ शहरका पेटी र छेउहरू खुद्रा पसलले भरिएका हुन्छन्। साइकल, मोटरसाइकल तथा अन्य सवारी साधन पार्किङ पनि सडक पेटीमा नै गरिन्छ। त्यसमाथि सडकमा छोडिएका गाईबस्तुले पनि दृष्टिविहीनको बाटोमा अवरोध सिर्जना गर्छन्। ध्वनियुक्त ट्राफिक लाइटको त के कुरा, सडक पेटीका खुला ढलले दृष्टिविहीनको यात्रालाई अझै चुनौतीपूर्ण बनाएको छ।
दृष्टिविहीन व्यक्तिको सुरक्षित आवागमनको कुरा गरिरहँदा यससँग जोडिएर आउने अन्य अधिकारको कुरा गर्नु पनि वाञ्छनीय हुन्छ। किनकि, स्वतन्त्रतापूर्वक बाँच्न यी अधिकारको प्राप्ति नभई सम्भव छैन। अपाङ्गता भएका व्यक्तिका लागि अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी ऐनले नै ५० प्रतिशत भाडा छूटको व्यवस्था गरेको छ। तर, दृष्टिविहीन व्यक्तिको सेतो छडी देख्नासाथ गाडी चालक आफ्नो सवारीलाई रफ्तारमा कुदाउँछन्।
त्यति मात्र होइन, दृष्टिविहीन व्यक्तिलाई सहयोग गर्दा उसको सेतो छडीमा नै समात्ने, हात समातेर सडक पार नगराउने घटना पनि दैनिक भोग्नुपर्छ। दृष्टिविहीन व्यक्तिलाई सहयोग गर्दा आफ्नो हात दिएर पाखुरामा समात्न लगाउनुपर्छ, जसले गर्दा उसले अगाडि हिंड्ने व्यक्तिको पदचाप अनुसार आफ्नो पाइला चाल्न सक्छ र सुरक्षित साथ बाटो पहिल्याउन पनि सक्छ।
यहाँ अर्को महत्त्वपूर्ण प्रसङ्गलाई पनि उठाउन सान्दर्भिक हुन्छ, त्यो हो आरक्षण। सार्वजनिक गाडीमा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक समेतलाई सीट छुट्याइएको हुन्छ। तर, त्यस ठाउँमा जान्ने–बुझ्ने मान्छेहरू नै निर्लज्जताका साथ बसिरहेका हुन्छन्।
एउटा भनाइ छ नि, शिखर चुम्न हिंड्नैपर्छ। तर, यो हिंड्ने कार्य दृष्टिविहीनका लागि सेतो छडी विना सम्भव छैन।
यदाकदा सहचालकले त्यस्ता व्यक्तिलाई उठाएर सीट खाली गराइदिए पनि अधिकांश व्यक्तिले यो विषयलाई गम्भीरताका साथ लिने गरेको पाइँदैन। यस्ता व्यक्तिलाई जरिवाना गर्ने व्यवस्था गरिएको छ। तर, कानून कार्यान्वयन गर्ने निकाय संवेदनशील देखिंदैन।
एउटा भनाइ छ नि, शिखर चुम्न हिंड्नैपर्छ। तर, यो हिंड्ने कार्य दृष्टिविहीनका लागि सेतो छडी विना सम्भव छैन। दृष्टिविहीनका लागि सुरक्षित यात्राको साथी सेतो छडी नै हो। यद्यपि, सेतो छडी हातमा थमाइदिएर मात्र मानवीय कर्तव्य पूरा हुँदैन।
बाटो पार गर्दा होस् वा नचिनेको ठाउँमा जानुपर्दा यो सेतो छडी मात्र साथी हुन सक्दैन। सडक पार गर्दा सवारी चालकले सवारीलाई एकछिन रोकेर बाटो पार गर्न सहयोग गरिदिए भने दृष्टिविहिन व्यक्तिका निम्ति सहयोगी व्यक्ति बन्छन्।
त्यसैगरी पैदल यात्रीले सँगसँगै बाटो पार गरेमा, साथसाथै हिंडेर यात्रा तय गरे भने झन् सजिलो हुन्छ नै। अझ आफू बसिरहेको सीट छोडिदिएमा सधैं धन्यवादको पात्र बन्न पुग्छन्।
त्यसैले कुनै पनि अधिकारको संरक्षण र संवर्द्धनका लागि राज्य, सम्बन्धित व्यक्ति र नागरिक सबैको भूमिका अपरिहार्य हुन्छ। यस्तो कार्यमा हामी सबै आजैदेखि प्रतिबद्ध बन्न सके मात्र हाम्रो संविधानले परिकल्पना गरेको अधिकारमा आधारित समावेशी र समतामूलक समाज निर्माणमा निश्चय पनि टेवा पुग्नेछ।
(अधिकारी ललितपुर महानगरपालिकाकी शाखा अधिकृत हुन्।)