महाकाल संवाद
नकाम, पर्दैन काम्नु तिमीले। उसको डिजाइनमा तिम्रो कम्पनको कुनै अर्थ छैन। तिमीलाई थाहै छ भिसुभियस झैं यो अचानक छैन, क्याट्रिना जस्तै अचानक छैन, कोशीको बाढी जस्तो अथवा अस्ट्रेलियाई अग्निज्वाला जस्तो अचानक छैन यो; उसले ‘म आउँछु’ भनेकै थियो।
योकुरा पनि अट्लान्टिक महासागरको किनारामा अकस्मात् समुद्री आँधी क्याट्रिना उठेको वेला को हो। एक्लै उनीहरूले केही क्षण प्रतीक्षा गरे र तत्क्षण विकल्परहित भै मृत्युवरण गरे; अथवा इटालीको भिसुभियस पर्वतमा ज्वालामुखी पड्केको वेला जस्तै हो।
एक्लै उनीहरू ‘हामी समाप्त भयौं’ भन्न नपाउँदै लाभा र खरानीले पुरिए। त्यो उम्लँदो अग्निको लेदो कस्तो थियो! भर्खरै अस्ट्रेलिया महादेश सिङ्गै बेह्रेर उठ्ने अग्निज्वाला जस्तै हो; त्यो कत्रो थियो? अब जीव, वनस्पतिको खरानी मात्र रहला भन्ने लागेको थियो। सबैभन्दा ठूलो दोस्रो विश्वयुद्ध थियो। त्यो ता हामी आफैंले सल्काएको मृत्युको हवनकुण्ड थियो।
मृत्युको जीवन्त रूप विश्वव्यापी खाण्डव वनमा दनदनाइरह्यो। त्यसैमा हामीले भाग लिइरह्यौं। त्यसको पूजा गरिरह्यौं। देशदेशबाट उत्कृष्ट शक्तिका, सौर्यका, तेजका, बलका युवाहरू छानेर पठायौं- यसरी त्यहाँ गएर हामफाल्नु र समाप्त हुनु भनेर सिकायौं। उनीहरूले त्यस्तै गरे।
उनीहरू संसारको कुनाकुनाबाट बिदाइका माला भिरेर निस्के, भय मिश्रित परन्तु निर्भीकता र साहसको रापमा किञ्चित् मुस्कुराउँदै। मुटुमा पनि किञ्चित् मूर्खताको लेप लगाएर।
यसरी हामी कहिलेकाहीं चुप लागेर खेलिरहेको मैदानमा उम्लेर मृत्यु आफैं आउँथ्यो, ऐया भनी नसक्दै, आत्था भन्न नपाउँदै एकै गाँस चपाउँदै जान्थ्यो। कति हजारले, कति लाखले एक गाँस हुन्छ; कति अक्षौहिणीले हामीलाई के थाहा छ र ! त्यो ता उसैलाई थाहा छ! ऊ कत्तिको भोकाएको हुन्छ; त्यसैमा भर पर्छ, तर हामीलाई कसरी थाहा हुन्छ र? हामीसित उसको संवाद भए पो। उसको यस्तो अवतार एकैपल्ट देख्न पाएको भए पो अनुमान गर्नु हुन्थ्यो।
त्यसैले मानिसले उसका रूपहरूको कल्पना गरे, उसको अस्तित्व मनमा स्थापित गरे; उसको आकृति र स्वभाव अनि आगमनका आवृत्ति पनि देखे जस्तै गरे। कल्पना मात्रले पनि बाँच्न सहारा दियो। अधिकांश धर्मग्रन्थहरू मृत्युको रूप बयान गर्छन्, त्यसको चरित्र, स्वभाव र आवृत्ति तथा प्रकृति बताउँछन्। लेखकले भेटेर आए जस्तो पारेका छन्।
यसलाई फकाउने, यसका उत्पात स्वरूपलाई सामना गर्ने मन्त्र छन्, तन्त्र छन्, पूजा, आराधना, भक्ति-सूत्र र अनेक उपाय छन्, तर पनि सबै सबै निरुपाय भएरै बिदा माग्छन्। ती बिदा भएपछिका फेरि बिदा माग्नेहरू पनि त्यस्तै निरुपायै रहेका छन्- सृष्टिको आरम्भदेखि। महाकाल कहाँ लुक्दछ पत्तो छैन।
कत्रो रमाइलो खेल छ, कत्रो रहस्यको ! अलिकति मात्रै थाहा पाए मानिस कसो गर्थ्यो होला ! कुनै रहस्य नबुझेर, केही नजानेर मात्रै मानिस अलिक विवश झैं छ, वेलावेला निरीह झैं ठान्छ आफूलाई। तर, ऊभित्र ‘म अजर–अमर छु’ भन्ने भावले नै उसलाई सचेत राखेको छ।
त्यही भावले उसलाई कर्मशील राख्दछ। हामीले गरेका साहित्य-कला-कर्महरू पनि त्यही भावले गराएका, हाम्राहरूले गरेका, परहितका कर्महरू पनि त्यसैले गराएका होलान्। हाम्रा पितामाताले गर्दै आएका अझ पुर्खादेखि गरिँदै आएका कर्महरू पनि त्यसैका परिणाम होलान्।
अचानक अनायास उफ्रेर झम्टिने उसको कला हो। कोशीमा पानीको रूपमा आएर एकै रातमा आधा लाख मानिसको घर, आँगन, गोठ र खेतबारी बालुवा बनाएर छोड्यो। हाम्रै आँखासामु, त्यो दशैंको वेला थियो २०६५ को। कति अज्ञात बेनामीहरू उसले लग्यो, सम्झन सकिएको छैन। पर्नेले भोग्छ सकियो भने जस्तो रहेछ। यस्तो एउटा कला हो। अचानक विना सूचनाको तर मानिसलाई सृष्टिको आरम्भदेखि अनुभव हुँदै आएको छ, थाहा भएको छ।
जल पनि जीवनदायिनी औषधि हो, उपनिषद्मा ‘आपो हि मातर’ भनिएको छ। जसरी माताको स्तनपानले जीवनको सुरक्षा गर्दछ, पृथ्वीरूपी माताले त्यस्तै प्राणदायिनी जलको सृष्टि गरेर मानव सभ्यता बचाएकी छन्।
जल पनि जीवनदायिनी औषधि हो, उपनिषद्मा ‘आपो हि मातर’ भनिएको छ। जसरी माताको स्तनपानले जीवनको सुरक्षा गर्दछ, पृथ्वीरूपी माताले त्यस्तै प्राणदायिनी जलको सृष्टि गरेर मानव सभ्यता बचाएकी छन्। तर, जल नै मृत्युको भयङ्कर ठूलो कारक तत्त्व पनि बन्दो रहेछ। डुबेर, बगेर, पखालिएर र कहालिएर एक दिनमा कतिले मृत्युवरण गर्दछन्, वर्षभरिमा कति हो कति।
अग्निले त्यसैगरी बचाएको छ। ग्रिसेली मिथकमा झैं प्रमिथसले स्वर्गदेखि अग्नि चोरेर नल्याएको भए मानिस कठ्याङ्ग्रिएर धेरै अघि समाप्त भइसक्थ्यो। हाम्रो पूर्वीय विश्वासमा अग्नि स्वयं देवताका रूपमा छन्। उनको महत्त्व गाउने अग्निपुराण छ। अझ ऋग्वेदको पहिलो मन्त्र छ ‘अग्निमीले पुरोहितम् यज्ञस्य देवम् रतवीजम्’- हे अग्निदेव तिमी नै हाम्रा अन्तर्हृदयका सारतत्त्व हौ, जीवनका समस्त कल्याण दायक, समय पनि तिमीमै अन्तर्निहित छ, तिमीसँगै आरम्भ हुन्छ तिमीसँगै अन्त्य। तिमी सृष्टिका धाता हौ, यसका सम्पूर्ण रत्नहरू पनि तिमीसितै छन्।
त्यसैले हरेक कर्ममा अग्नि साक्षी राखी हामी सत्यपथ अनुसरण गरौंला भन्ने वाचा गर्दछौं। किनभने, जुन ग्रहमा बसेका छौं यसलाई नै अग्निगर्भा भनिएको छ। यता ग्रह, नक्षत्र र पिण्डहरू अग्निको लप्का र लेदो फुटेर बग्दै चिसिंदै गएर सृष्टि भूमि बनेको हो भन्ने भ्रान्ति छ। कति करोड वर्ष अघिको कुरा हो, त्यो त्यसको कोइला, अँगार, खरानी केही अवशेष छैन, अनुमान मात्रै।
मानिसलाई यो ‘ग्रान्ड डिजाइन’ बारे केही थाहा छैन, तर भए झैं गर्दछ र आफ्ना जीवनकलामा त्यसलाई जोडेर अर्थ दिन्छ। उता अग्नि मात्र पनि मृत्युको कत्रो कारक छ। ठूलठूला डढेलाले बारम्बार पृथ्वी नै विकृतै पारिदिन्छ। प्राणी, वनस्पति सबै सबै स्वाहा पारेर अँगार, खरानी मात्र छोड्दछ। तर, फेरि त्यहीं जीवन शुरू हुन्छ। यिनै पृथ्वी, जल, वायु, तेज र आकाशको संयोगले।
यिनै पञ्च महाभूतको प्रकार्यले यस्तो विशाल अगम्य तारतम्य मिलाउने के होला, को होला। त्यो अथक छ, दुर्दमनीय छ, अदृश्य छ र निरन्तर सक्रिय। एउटै कर्म रहेको छ जन्माउने र मार्ने, सृष्टि गर्ने अनि ध्वंस गर्ने। नयाँ कुरा केही छैन। केवल यही पुनरावृत्ति छ। एक पल्ट अनादिमा भएका सृष्टिको बीज पलाउँछ फेरि सुक्छ। फेरि पलाउँछ फेरि मर्नका लागि।
ठूलठूला डढेलाले बारम्बार पृथ्वी नै विकृतै पारिदिन्छ। प्राणी, वनस्पति सबै सबै स्वाहा पारेर अँगार, खरानी मात्र छोड्दछ। तर, फेरि त्यहीं जीवन शुरू हुन्छ। यिनै पृथ्वी, जल, वायु, तेज र आकाशको संयोगले।
नित्य आफैं छ। हिउँदमा पाकेर कोसा फुट्छन्, बियाँ झर्छन्, पृथ्वी जलवायु तेज प्रकाश पुगेपछि ती पुनः आफैं टुसाउँछन् पलाउँछन्।
यो विशाल चक्रतिर फर्केर हेर्दा मानिस अत्यन्तै तुच्छ लाग्छ। यहाँ अवतरित भएर एकछिन खेलेर जानू, रमाएर, हाँसेर जानू, छिटै आफ्नो पालो सिद्धिन्छ भनिएको छ उसलाई, तर उसको यस (संसार) प्रतिको मोह र आसक्तिले गर्दा ठूलो बतास चल्दा कराउने, आगो सल्किँदा आत्तिने, भूकम्पमा भाग्ने जस्ता लक्षण निकालिहाल्छ। यो ठाउँ छोडेर कतै जाने कुरा कल्पना गर्न सक्दैन।
यो सृष्टिका सुन्दरता र रहस्यले मात्र जीवन सुखमय बनाउनु भनेको छ, तर मानिसले अरू पनि तत्त्वहरू उपहार प्राप्त गरेकाले ऊ तिनको सेवा गर्न लाग्छ- भय छ, त्रास छ, सन्देह छ, घृणा छ, द्वेष छ, ईर्ष्या छ, वाञ्छना अलग्गै। यस मनको गोठभित्र गाई, भैंसी, बोका, सुँगुर, भेडा-बाख्रा, उँट, कुकुर-बिराला, मिर्ग सबै सबै पालेपछि के थामिसक्नु हुन्छ र!
उता सर्प, अजिङ्गर छन्, न्याउरी मुसो छ, यता खरायो पनि छ। बाघ, चितुवाका जङ्गलमा मल्साप्रो पनि। यति लोभी नबन न मान्छे। दुई कुरा मात्र राख यो सृष्टिको सुन्दरता र यसको रहस्य। अरू बाहिर निकाल। वेलावेला आफू आएको बाटो सम्झ्, आफू जाने बाटोतिर पनि हेर्दै गर अनि आफ्नो अन्तिम घडी पनि कतिवेला आइपुग्छ, हेर्दै गर। कोरोना सुनेर किन आत्तिनु, देखेर किन आत्तिनु? यो उसैको डिजाइन न हो। तिमी टार्न सक्दैनौ। निश्चिन्त भएर बस।
समयले आफैं उत्पन्न गरेको ‘स्पोन्ट्यानिअस जेनेरेशन’ भन्ने हुन्छ ‘स्वस्फूर्त’ उत्पत्ति वा आफैं हुने सृष्टि। यो कोरोना त्यस्तै हो। औलो मार्यौ, विफर मार्यौ, टीबी मार्यौ, क्यान्सर मार्दै छौ, सके यसलाई पनि मारौला हे कृपाशील मानव! नसके केही पीर छैन। अनिकाल लागेका वेला मकै पाक्न धेरै बाँकी छँदै गाउँमा धेरै बालबालिका र वृद्धवृद्धाको मृत्यु आउँथ्यो। बिघ्नै भए यस पालि पनि त्यस्तै होला। यो सृष्टि मास्ने डिजाइन होइन अवश्य उसको। तिमी डरले कत्तिको काम्दै छौं, त्यो मात्रै हेर्ने इच्छा हो उसको। तिमी सधैं बाँचिरहौला भन्ने भ्रान्तिको डोरीले कत्तिको कसिएका छौ, त्यो हेर्ने मात्र इच्छा हुनुपर्छ उसको।
समयले आफैं उत्पन्न गरेको ‘स्पोन्ट्यानिअस जेनेरेशन’ भन्ने हुन्छ ‘स्वस्फूर्त’ उत्पत्ति वा आफैं हुने सृष्टि। यो कोरोना त्यस्तै हो। औलो मार्यौ, विफर मार्यौ, टीबी मार्यौ, क्यान्सर मार्दै छौ, सके यसलाई पनि मारौला हे कृपाशील मानव! नसके केही पीर छैन।
नकाम, पर्दैन काम्नु तिमीले। उसको डिजाइनमा तिम्रो कम्पनको कुनै अर्थ छैन। तिमीलाई थाहै छ भिसुभियस झैं यो अचानक छैन, क्याट्रिना जस्तै अचानक छैन, कोशीको बाढी जस्तो अथवा अस्ट्रेलियाई अग्निज्वाला जस्तो अचानक छैन यो; उसले ‘म आउँछु’ भनेकै थियो। उसको कटुवालले अघि नै भेरी फुकेकै थियो माथि चीनदेखि। अचानक होइन, आकस्मिक होइन यो।
महाकाल सारा आकाशदेखि ब्रह्माण्ड ढाकेर वायुमा मिसिएर बिस्तारै पाइला सार्दै अघि बढेको हो। एकछिन बिसाउनुपर्थ्याे। तिमीले एकछिन बाटो छोडिदिनुपथ्र्याे। भित्र लुकेर सडक खाली गर्दिनुपर्थ्याे, गरेनौ होला। आज पनि थैली भर्ने आकाङ्क्षा लिएर तिमी दौडिरह्यौ होला। आज उसले बाटामा भेटिएकाहरू टिप्दै छ, खाँदै छ, चबाउँदै छ, निल्दै छ। त्यसो ता धेरैलाई दर्फर्याएर छोडेछ, दुई-चार मुड्की हानेर।
आज बिहानै बेलायती प्रधानमन्त्री दर्फरिएको शरीर छाम्दै उठेर चिया बाँड्दै देखिए। उनैसित सोध्नोस्, मृत्युसित पौंठेजोरी खेल्दा कस्तो हुँदो रहेछ। आजसम्मका त्यहाँ २६ हजार आत्माको पालो मिलाइदिए। तिनीहरू आफू मात्र भागेर निस्केका हुन्, उता यो महाव्याधिलाई मास्ने पनि बल गर्दै छन्।
आजसम्मको तथ्याङ्कले हेर्दा यूरोपमै बेलायत पहिलो भयो। एक पल्ट कहिल्यै सूर्य नअस्ताउने देशको नागरिक ऊ। आज त्यो अभिमान कहाँ गयो। ऊ कति दुर्बल भएको छ। स्पेन, फ्रान्स, जर्मनी, इटाली, सबैलाई उछिनेर मृत्युको खेललाई उसले अत्यन्त तीव्र गतिमा खेलायो। तैपनि अमेरिकालाई भने जित्न सकेको छैन।
विश्वका वैज्ञानिक आविष्कार, उन्नति र प्रगतिमा पहिलो स्थानमा पुगेका देश यसरी हुरीमा नुहेका डाँडाका बाँस जस्ता हुन्छन् भने अरूको के लाग्छ भन्ने पनि ठान्दै छन् मानिसहरू। संसारलाई जित्ने शूरवीर, धनवान्हरूले विभूषित, अहङ्कार र स्वाभिमानको सगरमाथा जस्तो अमेरिकाले अग्रस्थान लियो यो मृत्युको खेलमा। उसले महाङ्काललाई आफ्ना देशवासीका घरघरमा परिभ्रमण गरायो। धेरै जना मूर्च्छा पर्दै जाग्दै गरे, धेरै जना नजाग्ने गरी अनन्तको बाटा लागे। एक स्रष्टाले भनेका छन्- धेरै ता माथि नै छन् । के आश्चर्य छ र? माथि गएर तिनीहरूसँगै मिल्ने न हो; प्रविधिको भाषामा ‘जोइन’ गर्ने न हो।
उसको अघि विनयशील भएर बोल्नोस्, चल्नोस्। आफ्ना कामहरू नबिसाई गरिरहनोस् सिध्याउनोस्, दिनभरिमा नसिध्याउने कामहरू नताक्नोस्, एउटा जीवन भनेको एक दिन मात्र हो।
कतिलाई पश्चात्ताप हुन्छ, यति काम बाँकी थियो भन्ने। तिनीहरूलाई सजाय गर्छ उसैले। जसले उर्वर जीवनलाई आलस्य ओढाएर, दुर्व्यसनहरू चाख्दै आजको काम भोलि, पर्सि, अर्काे साललाई राख्दै गर्यो तिनीहरूले अवश्य पश्चात्ताप गर्ने हो। नत्र भने इन्द्रबहादुर राईले बिदा हुने वेलाको अन्तिम अन्तर्वार्तामा भनेर गएका छन्- ‘म एक पूर्ण सन्तुष्ट मानव बिदा हुँदै छु।’ त्यस्तै हुन सिक्नुपर्यो नि सबैले। तीन भारी घाँस काटेर थुपार्नुहुन्छ लोभले, तर बोक्ने डोको एउटा मात्रै।
महाकालसित दोहोरो संवाद हुँदैन। एकोहोरो बिहानका रातिदेखि उठेर बोल्ने हो। भन्ने सुनाउने, गाउने, अलिकति प्रार्थना गर्ने, अलिकति घुर्क्याउने मात्र हो। शिवरात्रिमा दर्शनार्थीलाई भित्र पुगेर देवताको मन्दिर दर्शन गरौं, उनले देख्ने गरी पूजा र प्रार्थना गरौं, फूलमाला प्रसाद चढाऔं भन्ने हुन्छ, तर प्रवेशद्वारमै उभिएको महसूर डन्ठे पुलिसले उसलाई घोक्र्याइहाल्छ, तपाईंको पालो पुग्यो जानोस्, जानोस् भन्छ। जगत्को खेल त्यस्तै हो। महाकालले ताकेपछि घोक्र्याइदिन्छ बस्ने इच्छा हुँदाहुँदै। ढोकाकै छेउमा नजानू।
उसको अघि विनयशील भएर बोल्नोस्, चल्नोस्। आफ्ना कामहरू नबिसाई गरिरहनोस् सिध्याउनोस्, दिनभरिमा नसिध्याउने कामहरू नताक्नोस्, एउटा जीवन भनेको एक दिन मात्र हो। यस्तो झलमल घाम छ। कला साहित्य खेल्नेले यी सारा कुरा देखिरहन्छ, लेखिरहन्छ।
कोरोनादेखि डगडगी कामेर समय नाश गर्ने होइन, अझै पनि एउटा कविता रच्न भ्याइन्छ, एउटा कथा लेख्ने समय छ, उज्यालो नहुन्जेल लेख्ता एउटा लघु उपन्यास भ्याइन्छ, महाकाव्यै आधा भ्याइन्छ। लेखिराख्नोस्, तपाईं गए पनि अरूले पढ्नेछन्, समयले पढिरहनेछ, महाकालले महाप्रलय नरचुन्जेल। लाखौंलाई उठाए पनि आखिर तपाईंको समय भोग्ने तपाईं नित्य एक्लैको समय हो, जहाँ पुगे पनि तपाईं एकै मात्र हो। अरूको चिन्ताले शरीर नसुकाउनोस्। निहुरेर आफ्नो काममा लाग्नोस्।