‘साइरन र बिरामीको चित्कारले दशैं बिर्सिन्छौं’
देश-विदेशमा रहेकाहरू पनि परिवारजन तथा आफन्तसँग दशैं मनाउन घर आउँछन्, तर एम्बुलेन्स चालक भने बिरामीलाई अस्पताल पुर्याउनमै व्यस्त हुन्छन्।
चाडपर्व शुरू भएका छन्। अझ केही दिनदेखि दशैं लागेको छ। सबै रमाउन थालेका छन्। तर, एम्बुलेन्स चालकलाई भने अरूले जस्तो ढुक्कसँगै दशैं मनाउन गाह्रै हुन्छ। कति वेला कहाँ एम्बुलेन्स कुदाउनुपर्ने हो? ठेगान हुन्न।
जब दशैं नजिकिन्छ, एउटा घटना याद आइहाल्छ। २०४५ सालको दशैं हो, घरमा खसी ढालेका थियौं। घरभरि बालबच्चा र आफन्त थिए, दशैंको रौनक छाएको थियो। म खरी बनाउँदै थिएँ।
एक्कासि खबर आयो, बिरामीलाई भारतको पटनास्थित अस्पताल लग्नुपर्यो भनेर। घरका अरूले खसी बनाउँदैनथे, आँगनमा ढालेको खसी उचालेर पिंढीमा छोपछाप पारेर राखें। हतार-हतार बिरामी बोकेर एम्बुलेन्सको साइरन बजाउँदै पटनातिर हुँइकिएँ।
मलाई पो दशैंको रौनक लागेको थियो। एम्बुलेन्समा बिरामी र बिरामीका आफन्त छटपटीमा थिए। बिरामीको चित्कारले दशैं बिर्सें। कति वेला पटना अस्पताल पुगिएला भन्ने भइरह्यो।
प्रायः भारतको डङ्कन अस्पताल लैजान्थें। हेटौंडाबाट डङ्कन पुग्न ४५ मिनेटदेखि एक घण्टा लाग्थ्यो। त्यो दिन दुर्घटनाका घाइते भएकाले पटना लग्नुपर्यो। हेटौंडाबाट पटना पुग्न चार घण्टा लाग्छ। मुश्किलले अस्पताल पुर्याएँ।
पटनाबाट हेटौंडा पुग्न पाँच घण्टै लाग्यो। बिरामी लग्दा पो साइरन बजाएर लगेको थिएँ, फर्किंदा त अरू गाडी जस्तै आउनुपर्यो।
घर पुग्ने बित्तिकै फेरि बिरामी बोकेर काठमाडौं जानुपर्यो। भोलिपल्ट राति मात्रै काठमाडौंबाट घर पुगें।
पिंढीमा छोपेर राखेको खसी त गन्हाउने भइसकेछ। घरपरिवारले जे थियो, त्यही पकाएछन्। खसी बनाउने कोही थिएन। सिङ्गै खसी फाल्नुपर्यो। त्यस यता हाम्रो घरमा दशैंको वेला खसी ढालिएको छैन।
त्यसपछिका दशैं पनि परिवारसँग बसेर आनन्दले मनाउन पाइएको छैन। कति पटक त खानपिन छोडेर बिरामीलाई अस्पताल लग्न हिंडेको छु। तिहारमा पनि त्यस्तै हो। दिदीबहिनीबाट टीका लगाउने वेला भयो कि कतै न कतैबाट अस्पताल जानुपर्यो भनेर फोन आइहाल्छ।
घरपरिवारसँग दशैं मनाउन नपाए पनि कुनै पछुतो छैन। सधैं बिरामी र बिरामीका आफन्तसँगको यात्राले जिम्मेवार र मानवीय सेवामा तल्लीन हुन सिकायो। धेरैजसो समय तनाव र मलिन अनुहारले घेरिएको हुन्छु। कहिलेकाहीं त सपनामा पनि बिरामी बोकेकै देख्छु।
उपचारका क्रममा २१ वर्षकी छोरी गुमाएर होला, बिरामीका आफन्तको पीडा महसूस हुन्छ। परिवारको सदस्य गुमाउँदाको पीडा कस्तो हुन्छ, मलाई राम्ररी थाहा छ। त्यसैले पनि आफ्नो ढिलाइका कारण कसैको ज्यान नजाओस् भनेर सधैं सचेत हुन्छु।
कति दिन त अनिंदो हुँदा पनि एम्बुलेन्स चलाएँ। यस्तो वेला बिरामीका आफन्तलाई जानकारी दिन्थें। वेलावेला मसँग कुराकानी गरिराख्नु भन्थें। उनीहरूले पनि सकारात्मक रूपमै लिन्छन्, वेलावेला कुराकानी गरिराख्छन्।
एम्बुलेन्समा ३३ वर्ष
२९ वर्षको उमेरदेखि एम्बुलेन्स चलाउन थालेको हुँ। अहिले ६४ वर्षको भएँ, ३३ वर्षसम्म एम्बुलेन्स चलाएँ। त्यति वेला नारायणी अञ्चलमा एउटा मात्रै एम्बुलेन्स थियो, त्यो म चलाउँथें। चालक पनि एक्लै थिएँ। पालोफेरो भन्ने पनि हुँदैनथ्यो। अञ्चलभरिका बिरामी बोक्नुपर्थ्यो।
दिनरात बिरामी बोकेर हिंड्दा बस्ने-खाने टुङ्गो हुँदैनथ्यो। आफैं पनि बिरामी पर्थें, तर बिरामीका आफन्तले ‘लौन अस्पताल लैजान पर्यो’ भनेर बिलौना गर्दा आफ्नो बिसन्चो बिर्सिहाल्थें।
त्यति वेला गम्भीर बिरामीलाई भारतको पटना लगिन्थ्यो। गम्भीर नभएका बिरामीलाई भारतको डङ्कन अस्पताल, काठमाडौंको वीर अस्पताल र चितवनको महेन्द्र (हाल भरतपुर) अस्पताल लगिन्थ्यो। हेटौंडा अस्पतालमा पनि साधारण उपचार मात्रै हुन्थ्यो।
भारतको डङ्कन अस्पतालमा बिरामी पुर्याएको तीन सय भाडा लाथ्यो। हेटौंडा नगर क्षेत्रभित्रबाट स्थानीय अस्पताल ल्याएको २५ रुपैयाँ भाडा थियो।
परिवारसँग भन्दा बढी समय बिरामीसँग भएँ। बिरामीको चित्कार र उनका आफन्तको रुवाबासीले भावुक बनाउँथ्यो। अस्पतालबाट निको भएर फर्केका बिरामी तथा उनीहरूका आफन्तको अनुहारमा देखिने खुशी नै मेरो लागि काम गर्ने ऊर्जा हुन्थ्यो।
त्यति वेला बिरामी एकदम गलेपछि मात्रै अस्पताल लगिन्थ्यो। जसले गर्दा कतिपय बिरामीले एम्बुलेन्समै प्राण त्यागेका छन्। त्यो एकदमै पीडादायी हुन्छ, बयान गर्नै सकिन्न।
त्यस्तो वेला एउटा नैतिक सङ्कट आइपर्थ्यो। एम्बुलेन्समा शव बोक्न पाइँदैनथ्यो। जहाँ बिरामी मर्छ, त्यहीं छोडेर फर्किनु, शव नबोक्नु भन्ने आदेश हुन्थ्यो। एकातिर कार्यालयको ‘शव नबोक्नु’ भन्ने आदेश, अर्कोतिर बिरामीका आफन्तको हालत। बाटोमै शव निकालेर एक-दुई जना कुरुवालाई छाडेर कसरी घर फर्किनु? कार्यालयको नियम बिर्सेर कति शवलाई उनीहरूको घरमै पुर्याएको छु।
शव बोकेको थाहा पाएको भए जागीरै जान्थ्यो। त्यति वेला मेरो मासिक वेतन ६ सय १५ रुपैयाँ थियो। सारा घर यसैले धानेको थिएँ। जागीरको डर भए पनि मानवीय सेवाका लागि मेरो मनले ठीक ठानेको काम गर्थें।
नसोचेको खुशीको ब्याज
बिरामी बोकेर हिंडुन्जेल कुनै दिन खुशी र रमाइलोसँग बिताउन पाइनँ। यस्तो गर्न पाइनँ भनेर मनमा खिन्नता पनि लागेन। मानव सेवामा छु भनेर सधैं गर्व नै लाग्थ्यो। काम शुरू गरेदेखि ३३ वर्षसम्म घरमा परिवारसँग बसेर खान पाइनँ, चाडपर्वमा पनि सँगै हुन पाइनँ।
परिवारका सदस्यले पनि मलाई साथ नै दिए। उनीहरूले पनि मलाई अनावश्यक प्रेसर कहिल्यै दिएनन्। एम्बुलेन्समा बिरामी बोकेर हिंड्दा अरूको रुवाइले मन खिन्न भइरहन्थ्यो।
दुई वर्ष अघि अवकाश पाएँ, अनि बल्ल परवारसँग खुशीले बस्ने खाने गर्दै आएको छु। र, त्यो वेला अरूलाई दिएको खुशीको ब्याज अहिले खाँदै छु।
अस्पताल पुर्याएका बिरामी अहिले भेटिए भने खुबै आदर–सम्मान गर्छन्। उनीहरूलाई उपचार गरेर डाक्टरले बचाए। तर, उनीहरू ‘तपाईंले गर्दा बाँचें’ भनेर मलाई जस दिन्छन्। योभन्दा खुशी, योभन्दा आनन्ददायी कुरो अरू के चाहियो र?
मैले पैसा कमाउने लोभमा त्यति वेला उनीहरूसँग दुई-चार पैसा बढी मागेको भए, अहिले मान–सम्मान दिन्थे त? त्यति वेलाको कामको फल अहिले मिलेको छ। अवकाश पाएपछि पनि ऊर्जा मिलिरहेको छ।
अहिले एम्बुलेन्स एकाइ छ। त्यसले एम्बुलेन्स चालकको हितमा काम गर्छ। म त्यसमा सल्लाहकार छु।
अर्को, रेडक्रसको एम्बुलेन्स चलाएकाले पनि होला, मानव सेवामा बढी मन लाग्न थाल्यो। अहिले पनि रेडक्रस अभियानमा जोडिएको छु। बाँचुन्जेल मानव सेवा मै लाग्नेछु, मानव हितभन्दा पर अरू कुनै हितकारी काम छैन।
(सरिता दाहालले गरेको कुराकानीमा आधारित।)