नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
बुधबार साँझ भएको खेलमा बाङलादेशलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। नेपाललाई फाइनलमा प्रवेश गराउन अन्जन विष्टले गोल गरेका थिए।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बाङलादेशले शुरुआति अग्रता लिएको थियो। सुमन रेजाले खेलको नौं मिनेटमा गोल गर्दै बाङलादेशलाई अग्रता दिलाएका थिए।
खेलको दोस्रो हाफमा नेपालले पेनाल्टी पाएको थियो। ८८औं मिनेटमा पाएको पेनाल्टीलाई विष्टले गोलमा परिणत गरेका थिए।
बाङलादेशसँग बराबारी खेलेसँगै नेपालले एक अंक पाएको हो। योसँगै नेपालको सात अंक भएको छ।
त्यस्तै, बाङलादेश पाँच अंकमै रोकिएको छ। मालदिभ्सको ६ अंक छ भने भारतको पाँच अंक छ। आजै राति भारत र मालदिभ्सबीच हुने खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ।
नेपालले पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको हो। यसअघि १२ वटा संस्करणमा नेपाल लिग चरणबाटै बाहिरिँदै आएको थियो।