‘महिला सीडीओ भनेरै सेनाले दशैंमा मौलो पूजा गर्न दिएन’
देशकै दोस्रो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी अम्बिका केसी राज्यका निकायमै भएको लैङ्गिक विभेदले चिमोट्ने गरेको बताउँछिन्।
आजभन्दा २७ वर्ष अघि अम्बिका केसी प्रमुख जिल्ला अधिकारी (सीडीओ) नियुक्त भइन्। देशकै दोस्रो महिला सीडीओ बनेकी केसीको पहिलो कार्यक्षेत्र भक्तपुर बन्यो।
भक्तपुरमा ६ महीना जिम्मेवारी सम्हालेपछि २०५१ सालको दशैंताका सप्तरी सरुवा भयो। सीडीओ भएर पहिलो पटक उपत्यका बाहिर काम गर्न गएको सम्झिँदै उनी भन्छिन्, “त्यही वेला दशैं परेको थियो, तर जीवनभर खिन्न बनाउने घटना भयो।”
सीडीओ हुनुभन्दा पहिले उनले शाखा अधिकृत र ललितपुरमा जिल्ला शिक्षा अधिकारी भएर काम गरिसकेकी थिइन्। त्यस अघिसम्म उनी महिला भएकै कारण कुनै पनि काम गर्नबाट वञ्चित हुनुपरेको थिएन। तर, जब उनी सीडीओ भएर सप्तरी पुगिन्, महिला भएकै कारण जिम्मेवारीबाट वञ्चित हुनुपर्यो। त्यही घटनाले उनलाई हरेक दशैंमा चसक्क हुन्छ।
बडादशैंको नवमीका दिन सेनाले भगवतीको पूजा गरी बलि चढाउने गर्छ। यसलाई सुरक्षा निकायमा मौलो पूजा भनिन्छ। हरेक जिल्लामा यो पूजाको आरम्भ प्रमुख जिल्ला अधिकारीले फूलपाती चढाएर गर्ने परम्परा छ।
“सीडीओ भएकीले मलाई पनि आर्मीको ब्यारेकमा हुने मौलो पूजामा बोलाए। तर, महिलाले पूजा गर्न हुन्छ कि हुँदैन भनेर ठूलो विवाद नै भयो। अन्तिममा महिलाले मौलो पूजा गर्न हुँदैन भनेर रोके,” केसी भन्छिन्, “महिला सीडीओ भएकै कारण मलाई मौलो पूजा गर्न दिइएन।”
उनले त्यहाँ प्रतिवाद पनि गरेकी थिइन्। सेनाको ब्यारेकमा ठूलै चर्काचर्की पनि भयो। “ज्यानको बाजी थापेर पनि जिल्लाबासीको सुरक्षाका लागि अनेक जोखिम मोलें। गोली हान्ने र अपहरण गर्ने धम्कीसँग पनि डराइनँ,” उनी त्यो साँझ सम्झिन्छिन्, “तर, धर्मको नाममा अन्धविश्वास मान्नेहरूले महिला भएकै कारण विभेद गरे।”
दशैं लगायत थुप्रै चाडपर्वमा महिलालाई विभेद गर्ने, दबाउने गरिएको उनी बताउँछिन्। अझ तराई–मधेशमा घुम्टो पनि उघार्न नदिई पर्वहरू मनाउन लगाउने गरिन्छ। त्यो अझै पनि कायम छ। “कसैले भनून् वा नभनून्, महिलाले त्यस वेला आत्मसम्मान गुमाएका हुन्छन्,” उनी भन्छिन्, “अझ दशैं त दुर्गा भवानीको पूजा गर्ने पर्व हो, तर महिलालाई भने अझै पनि अपमान र घृणा गरिन्छ।”
कुनै पनि चाडपर्वले ल्याउने खुशीमा महिला-पुरुष वा तेस्रोलिङ्गी समान रूपले भागीदार हुन पाउनुपर्ने उनी बताउँछिन्। धर्मका नाममा अन्धविश्वासमा रमाउन नहुने उनको भनाइ छ।
यो मात्रै होइन, उनीसँगै केही अनौठा अनुभव पनि छन्। जब उनी सीडीओ भएर सप्तरी पुगिन्, सर्वसाधारण हेर्न पनि आए। उनीहरू ‘महिला सीडीओ कस्ता हुन्छन्?’ भनेर हेर्न आएको उनले बिर्सेकी छैनन्। “त्यहाँका महिला आएर मेरो हात समाते, छामछुम गरे, सीडीओ पनि हामी जस्तै रहेछ भन्दै खुशी भए,” उनी भन्छिन्।
सप्तरीमा रहँदासम्म उनले खुशी पनि बाँडिन्। दशैंमा बिदा नपाएका कर्मचारीलाई टीका लगाउँथिन्। सीडीओ भएर कर्मचारीलाई टीका लगाएको उनको नौलो अनुभव थियो।
त्यसपछिका ६ वर्ष उनले बारा, पर्सा, महोत्तरी, सप्तरी, कास्की र दोलखाको नेतृत्व सम्हालिन्। त्यो समयमा उनी कहिल्यै दशैंको बिदा लिएर घर फर्किनन्। “धेरै कर्मचारी घर गइहाल्थे। दशैंमा हुन सक्ने हुलदङ्गालाई व्यवस्थापन गर्न, शान्ति सुरक्षा बनाइराख्न सुरक्षा प्रमुख र सीडीओले बिदा भन्न पाइँदैनथ्यो,” उनी भन्छिन्।
हुन पनि त्यति वेला चोरी–डकैती अत्यधिक हुन्थ्यो। खटनपटनमै व्यस्त हुन्थिन्। जागीरे जीवन सम्झिँदै उनी भन्छिन्, “सीडीओ हुँदाका ६ वर्ष त घरपरिवार केही भन्न पाइनँ।”
अहिले उनी ८० वर्षकी भइन्। उनी ‘रिटायर्ड’ भए पनि ‘टायर्ड’ नभएको सुनाउँछिन्। प्रायः भन्ने गरिन्छ– चाडपर्व त केटाकेटीका लागि हो। उनी भने यसको ठीक विपरीत छिन्। “साँच्चिकै रमाइलो त अवकाश पछि हुँदो रहेछ। जागीरे जीवनमा कहाँ यस्तो मजा हुनु,” केसी भन्छिन्, “वर्षभरि टाढिएका छोराछोरी, नातिनातिनी र आफन्तको अनुहार देख्दा त नाचूँ नाचूँ झैं लाग्छ।”
अझै पनि उनलाई दशैंमा नयाँ लुगा नकिनी हुँदैन। लुगा किनेपछि मात्रै दशैं आए जस्तो लाग्ने गरेको उनी सुनाउँछिन्। दशैंमा नयाँ लुगा लगाउने उनको सानैदेखिको बानी पनि हो।
काठमाडौंमा जन्मिएकी उनी भारतको कालिम्पोङ र बनारसमा हुर्किइन्। त्यति वेला उनी दशैंमा प्रायः स्कूले नयाँ फ्रक पाउने गर्थिन्। “त्यही फ्रक घरमा, स्कूलमा सबैतिर लगाउँथें,” केसी बाल्यकालको दशैं सम्झिँदै भन्छिन्, “अब त्यो जमाना रहेन। खाना, पहिरन, मनोरञ्जनका साधन सबै फेरिए, तर मेरा लागि दशैंको उल्लास फेरिएको छैन।”