दशैं मनाउन घर फर्केका ३२ जनाले गुमाए ज्यान
मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै र आठको उद्धार तथा उपचारका क्रममा मृत्यु भएको हो।
नेपालगञ्जबाट मुगु आउँदै गरेको भे.१ख ३१६७ नम्बरको बस मङ्गलबार दिउँसो करीब १ बजेतिर छायाँनाथ रारा नगरपालिका-७ तपने खोलामा दुर्घटना भएको थियो। दुर्घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले बताए।
उनका अनुसार, उद्धारका क्रममा थप चार जनाको मृत्यु भएको छ। उनीहरूलाई घटनास्थलबाट उद्धार गरेर रारा विमानस्थल ल्याइएको थियो। त्यहाँबाट उपचारका लागि नेपालगञ्ज पठाउन जहाजमा राख्ने क्रममा ज्यान गएको डीएसपी भट्टराईले हिमालखबरलाई बताए।
दुर्घटनामा गम्भीर घाइते भएका १५ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो। १२ जनालाई हवाईजहाजबाट र तीन जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको थियो।
नेपालगञ्जमा उपचारका क्रममा थप चार जनाको मृत्यु भएको डीएसपी भट्टराईले जानकारी दिए। उनका अनुसार, तीन जनाको नेपालगञ्ज नर्सिङ होममा र एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममै मृत्यु भएको हो। मृतकको सनाखत हुन सकेको छैन।
अझै ११ जना गम्भीर घाइते छन्। उनीहरूको नेपालगञ्जमा उपचार भइरहेको छ।
घटनास्थल पुगेका प्रहरीका अनुसार, बसमा ४३ जना सवार थिए। जसमध्ये अधिकांश विद्यार्थी थिए। उनीहरू दशैं मनाउन शहरबाट गाउँ फर्किरहेका थिए।
मुगु जाने सडक कच्ची छ। जसले गर्दा मुगुबासी नेपालगञ्जबाट जहाजमा रारा विमानस्थल उत्रिने गर्छन्। तर, दशैंका वेला टिकट पाउन सकिंदैन।
यस पटक पनि धेरैजसो मुगुबासी नेपालगञ्जमा जहाजको टिकटको पर्खाइमा छन्। जहाजको टिकट नपाएपछि विशेष गरी विद्यार्थी बसमै घर फर्किने गरेका छन्।
घटनास्थल पुगेका प्रहरीका अनुसार, भीरमा बसको टायर पन्चर भएपछि दुर्घटना भएको पाइएको छ। चालकको साइडतिरको टायर पन्चर भएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी भट्टराईले बताए। भीरमा दुर्घटना भएपछि बस करीब तीन सय मिटर तल खसेको छ।
प्रहरीले घटनास्थलबाट सबै शव सदरमुकाम ल्याएको छ। सबै शव जिल्ला अस्पताल पुर्याइएको डीएसपी भट्टराईले बताए। अहिलेसम्म सबै सुरक्षा निकाय उद्धारमै खटिएको र अब सनाखत गरिने उनले बताए।