दशैंका लागि नौ लाख नागरिकले छाडे काठमाडौं
दशैंका लागि नौ लाख नागरिकले काठमाडौं उपत्यका छाडेका छन्। अझै पनि घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ।
१ असोज यता उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन्। यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।
उनका अनुसार, दशैंको अघिल्लो दिनसम्ममा झण्डै १२ लाख उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। “दुई-तीन दिनमा उपत्यका छाड्नेको सङ्ख्या अझै बढ्नेछ,” उनले भने।
दुई वर्ष अघिसम्म २५ लाखभन्दा बढीले दशैंको समयमा उपत्यका छाड्ने गरेका थिए। गत वर्ष कोभिड–१९ सङ्क्रमणको जोखिम रहेकाले त्यो सङ्ख्या घटेको थियो। गत वर्ष चार–पाँच लाखले मात्रै उपत्यका छाडेको अनुमान गरिएको थियो।
यो दशैंमा गत वर्षभन्दा धेरै यात्रु भए पनि सामान्य अवस्थाभन्दा कम रहेको यातायात व्यवसायी बताउँछन्।
सरकारले घटस्थापनाको दिन २१ असोजदेखि नै सवारीसाधन जुनसुकै रुटमा गुड्न पाउने गरी खुला गरिसकेको छ। यातायात व्यवसायीले सोही दिनदेखि अग्रिम टिकट खुलाएका थिए। यात्रुलाई समस्या नहोस् भनी विभिन्न स्थानमा सहायता कक्ष राखिएका छन्।
घटस्थापनापछि केही दिनसम्म कार्यालय सञ्चालन हुने भएकाले सार्वजनिक बिदादेखि नै उपत्यका छाड्नेको सङ्ख्या बढ्ने गर्छ। यति वेला यात्रु एकोहोरो जाने मात्रै धेरै रहेको महासचिव सिटौलाले बताए।
विजया दशमीको दिनदेखि भने काठमाडौं उपत्यका फर्कनेको सङ्ख्या धेरै हुन्छ। “अहिले भरिएर गएका बस रित्तै आइरहेका छन् भने टीकाको भोलिपल्टदेखि यहाँबाट रित्तै गएर भरिएर आउँछन्,” उनले भने।
दशैंको समयमा सडकमा सवारी साधनको चाप बढ्ने भए पनि यो वर्ष देशभर धेरै सडक बिग्रिएका थिए। केही दिन पहिलेसम्म पनि वर्षा नरोकिएकाले मर्मत गर्न नसकिएको सडक विभागले जनाएको थियो। एक साता यता भने तीव्र रूपमा मर्मत भइरहेको छ। (रासस)