सुरक्षा गार्डलाई गोली हानेर सिटिजन ब्यांक लुटपाट, पेस्तोल सहित तीन पक्राउ
मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको सिटिजन ब्यांकको शाखामा मंगलबार अपराह्न लुटपाट भएको छ।
लुटपाटमा संलग्न रहेको आरोपमा पेस्तोल सहित तीन जना पक्राउ परेका छन्। पक्राउ परेका तीन जनामध्ये दुई जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।
लुटेरा समूहले सुरक्षा गार्ड शीतल कुँवरलाई गोली हानेर ब्यांकभित्र प्रवेश गरेको प्रहरीले जनाएको छ। घाइते सुरक्षा गार्डको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
साप्ताहिक हाट लागेकाले भीडभाड रहेको कर्सिया बजारको ब्यांकमा पाँच जनाको हतियारधारी समूह प्रवेश गरेको थियो। लुटेर भारततर्फ भाग्दै गर्दा धनपालथान–२ स्थित खयरवनाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। “नेपाली नम्बर प्लेटको मोटरसाइकलमा तीन जना चढेर सीमा क्षेत्रतर्फ लाग्दै थिए, बाटोमै रोकेर पक्राउ गर्न सक्यौं,” एक प्रहरी अधिकृतले भने।
लुटेरा समूहका दुई जना भागेका छन्। ब्यांकबाट कति रकम लुटियो भन्ने यकिन हुन बाँकी रहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन्। चाडपर्व लक्षित सुरक्षा योजना बनाएर बजार क्षेत्रमा प्रहरी परिचालन गरिएका वेला ब्यस्त बजारमा लुटपाट भएको हो।
भारतीय सीमाबाट चार किलोमिटर उत्तरमा रहेको कर्सिया बजारको ब्यांक लुटिएपछि जिल्लाका सुरक्षा प्रमुख त्यस क्षेत्रतर्फ गएका छन्। घटनाबारे अनुसन्धान भइरहेकाले अहिले केही भन्न सकिने सुरक्षा अधिकारी बताउँछन्।
दशैंका कारण तीन दिनदेखि बजार तथा ग्रामीण क्षेत्रका ब्यांकमा सेवाग्राहीको भीड छ। दशैं बिदाको अन्तिम दिन भएका कारण अन्य दिनभन्दा धेरै भीडभाड रहेको मौकामा लुटेरा प्रवेश गरेको प्रहरीको अनुमान छ।
कर्सियामा यस अघि सिर्जना फाइनान्सको शाखा थियो। सिटिजन ब्यांकसँग मर्ज भएपछि वित्तीय कारोबार पनि बढेको थियो।