एनआरएनएको महाधिवेशन स्थगित
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को पूर्वनिर्धारित १०औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ।
एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले यही कात्तिक पहिलो साता अर्थात् २३ देखि २५ अक्टोबरमा हुने तय गरिएको १०औं अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो। परराष्ट्र मन्त्रालयको सुझाव अनुसार पूर्व निर्धारित सम्मेलन स्थगित गरिएको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले जनाएका छन्।
उनका अनुसार, कानूनविद् र अन्य सम्बन्धितसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय पनि बैठकले गरेको छ। एनआरएनएका अध्यक्ष कुमार पन्तको सभापतित्वमा भएको बैठकमा संस्थाको १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भएको जनाइएको छ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थिति माथि छलफल गरी थप निर्णय गरिने जनाउँदै एनआरएनएले महाधिवेशनका लागि काठमाडौं आइसकेका र आउन तयार रहेका प्रतिनिधिमा पुगेको असुविधा प्रति क्षमा मागेको छ।
एनआरएनएको अध्यक्ष पदका लागि कुल आचार्य, रविना थापा र बद्री केसीले प्यानल सहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।