दशैं, मदिरा र महफिल
दशैं मुखैमा छ। 'दशैंमा पनि नखाए, कहिले खानु' भन्ने कथन घरिघरि सुनिन्छ यो वेला। होशले पिउनुहोस्, जिम्मेवार भएर पिउनुहोस्। शुभ दशैं!
अलि सभ्य भाषामा ‘मदिरा’ होला। यसको नाम भने स्थानीयता र जनजीवन अनुसार विविध छन्- तीनपाने, खोयाबिर्के, निशा, सुरा, रक्सी, जाँड। आजभोलि त भूगोल र पुस्तान्तर पिच्छे यसका नाम अनेक होलान्। कोही ‘चिरिप्प’ पनि भन्छन्। हास्य टेलिशृङ्खला ‘सक्किगो नि’ का तीन अल्लारेले मदिरा पिउनुलाई ‘सोलमारी हान्ने’ भन्छन्।
'तपाईं पिउनुहुन्छ?' भनेर सोधियो भने पानी, दूध, सर्बत, लस्सी, मोही, जुस, कोकाकोला पिउने मान्छेले 'अहँ, कहाँ पिउनु, पिउँदिनँ नि' भन्ने उत्तर दिन्छ। हाम्रो भाषामा तरल पदार्थ खासै पिइन्न पनि, खाइन्छ। पानी खाइन्छ, जुस खाइन्छ। हुन त हामी रक्सी पनि ‘खाइदिने’ मान्छे नै हौं। रसिक यारहरूसँग जमघट हुँदा 'आज रक्सी खान पर्ला हौ टिल्ल हुने गरेर' भनिन्छ।
यति हुँदाहुँदै नेपाली समाजमा पिउनुको साइनो मदिरासँगै गाँसिएको छ, हाम्रो बुझाइदेखि प्रयोगसम्म। अङ्ग्रेजीको ‘ड्रिङ्क’ बाट सोझै आएको होला। त्यसैले 'तपाईं पिउनुहुन्छ?' भनेर मात्र सोध्दा पनि 'डु यु ड्रिङ्क अल्कोहल?' भन्ने अर्थमा बुझिन्छ।
‘पिउने जिनिस’ को उपस्थिति राजमहलदेखि गरीबको झुपडीसम्म नै छ। हरेक राजकाजका भेट समारोहपछिका खानपानमा ‘टोस्ट सेयर’ अनिवार्य नै हो। कुनै राजनेता नपिउने निस्किएला, तर ‘पिउने कुराको’ अन्तर्राष्ट्रिय ब्रान्ड र पस्काइको ढाँचा, ढर्रा उसले आफ्ना पाहुनालाई दिनु, देखाउनुपर्छ।
मध्यम वर्गीय परिवारमा पनि अब यो मजाले भित्रियो। साँझपख बाउलाई अलिकति चिरिप्प पार्नुपर्ने वा दशैं, तिहार, जन्मोत्सव आदि पर्व तथा अवसरमा अलिकति जुगाड गर्नैपर्ने परिवार अब धेरै हुन थाले। ज्वाइँ, भान्जा, भाइ, भतिजसँग सँगै बसेर घुट्क्याउनुपर्ने र कतिपय घरका छोरीबुहारीले पनि सपरिवार ‘चियर्स’ गर्नुपर्ने चलन आइसक्यो। यो मध्यम वर्गीय चरित्र हो।
मोजमस्ती र आनन्दको नाममा यो ‘पिउने कुरा’ मा जति निस्फिक्री पैसाको खोलो बगाइन्छ, त्यति पैसा अन्य काम जस्तै, खेतीपाती, योग, ध्यान, परोपकारमा लगाउने हो भने आनन्द धेर पाइन्थ्यो होला।
घरमा मुसा दुहुना नभए पनि भट्टीमा बियर फोड्न सधैं पुगिरहने वर्ग पनि छ, हाम्रो समाजमा। अनि यसैमा डुबुल्की मारेर एकबारको चोलालाई नालीमा र दुनियाँको गालीमा जिउन रोजेर मर्न पर्खिएका पनि मनग्य भेटिन्छन् गाउँ-शहरमा।
मोजमस्ती र आनन्दको नाममा यो ‘पिउने कुरा’ मा जति निस्फिक्री पैसाको खोलो बगाइन्छ, त्यति पैसा अन्य काम जस्तै, खेतीपाती, योग, ध्यान, परोपकारमा लगाउने हो भने आनन्द धेर पाइन्थ्यो होला। आनन्द पाउने तरीका र उपाय आ-आफ्नो!
वर्णाश्रम व्यवस्थामा मदिरा खान हुने र नहुने जात–जाति छुट्याइएको छ। तागाधारी संस्कारमा पिउनु परम्परा र संस्कारत: वर्जित कुरा हो। आज पनि कुलकुटुम्बेरी गर्न आउने मान्छेलाई 'पिउने बानी चैं छ कि छैन होला' भनेर जान्न खूब औडाहा हुन्छ। आफूले ‘चिरिप्प’ पारे पनि छोरा र ज्वाइँ चाहिं नखाने निक्लियोस् भन्ने कामना गरिन्छ।
अझै पनि पिउने सबै व्यक्तिले ‘म पिउँछु’ भन्न सक्ने समाज होइन, हाम्रो। खाऊँ खाऊँ लाग्दालाग्दै खान्नँ खान्नँ भन्ने ढर्रा गर्न पनि सिकाएको समाज र संस्कारले नै हो। मान्छेका व्यवहार, व्यक्तिगत गुण-चरित्रका अलावा समाज र संस्कारका उत्पादन पनि हुन्।
सिन्धुपाल्चोक बस्दा त्यहाँका शिक्षकले सुनाएको दुई ब्राह्मणको कथा रोचक छ। नातामा सम्धी पर्ने गाउँका दुई ब्राह्मण काम विशेषले सदरमुकाम चौतारा गएछन्। बास बसेको होटलको कोठाबाट एक सम्धी खाना खान झर्दा अर्कोसँग जम्काभेट भएछ। कुशलमङ्गल सोधनीपछि साहुनीले खाना पस्कूँ भनी सोध्दा 'एकैछिन है, म सानो काम पर्यो, बाहिर गएर आउँछु अनि खाउँला' भनेर एउटा सम्धी उम्केछन्।
अर्को सम्धी पनि कुनै बहाना गरेर त्यहाँबाट फुत्केछन्। दुवैको इरादा 'आज गाउँघरको तानाबानाबाट टाढा सदरमुकाम आएको, कसैले देख्ने होइन, थोरै नलाई त हुन्न' भन्ने रहेछ। एउटा सम्धी 'यो भट्टीमा पसूँ कि त्यो भट्टीमा पसूँ, सम्धी नि आएका रहेछन्, देखे भने फसाद' भन्दै गल्लीमा टहल्न थालेछन्।
अझै पनि पिउने सबै व्यक्तिले ‘म पिउँछु’ भन्न सक्ने समाज होइन, हाम्रो। खाऊँ खाऊँ लाग्दालाग्दै खान्नँ खान्नँ भन्ने ढर्रा गर्न पनि सिकाएको समाज र संस्कारले नै हो।
अर्को सम्धी एकान्त ठाउँ पत्तो लाएर लोकल दिन थालिसकेछन्। 'अलिक एकान्त र कुनो त त्यही पुछारकै हो' ठान्दै सम्धी आइपुग्दा त उनी ‘फिलिली’ भइसकेछन्। कुनै उपाय नभएपछि 'लौ सम्धीज्यू, कुरा मिल्यो, आज जोगिन सकिनँ। कुरा बाहिर नजाओस्, आउनुहोस् बसौं' भनी दुवैले मिलेर मनले चिताएको पूरा गरेछन् रे। दुई सम्धीमध्ये कसले सुनाएछन्, सम्धीको कथा गाउँमा चर्चित भयो।
पिउने व्यवहारको कुरा गर्दा हाम्रो आफ्नै पाराको रहेछ। विदेश आएर क्यानेडेली साथीका पार्टी र रेस्टुराँका खानपिनमा संलग्न भइयो। अघिपछि एक-दुई डलरको एक कप चिया किनेर खान वा साथीको पनि तिरिदिन हच्किने हामी मदिरा खाने टेबलमा भने १०० एमएलको कम्तीमा आठ डलर पर्ने ‘स्कच’ पनि थपी थपी, ढिपी गरी गरी, कसले कम खाएको छ भन्ने अनुगमन गरी गरी करबल गर्दा रहेछौं।
गोरेका पार्टीमा ढिपी नहुने रहेछ। साथी माइल्सले घरपैंचोमा बोलाएको थियो। मोटर कुदाएर लामो बाटो फर्किनुपर्ने भएर पिउन धकमा थिएँ। थरी थरीका आयातीत वाइन, ह्विस्की र अन्य थोकको चाङ नै रहेछ, आलमारीमा। सबै खान, पिउन थाले। सहकर्मी धेरै थिए।
एकछिनमा माइल्सले 'यो माल फ्रान्सको हो, १५ वर्ष पुरानो, मेरो बाउ घुम्न जाँदा मलाई ल्याइदिएको, याम खा अलिकति, तँलाई ह्विस्की मन पर्छ' भन्दै निकाल्यो। मैले 'होइन, खान्नँ' भनें भन्न त। तर, अलिकति चाखी हेर्न उतिखेरै मन भयो। उनले मेरो नाइँमाथि एक शब्द 'आर यु स्योर?' भनेर सोध्यो। भर्खर खान्नँ भनेको कुरामा कसरी 'नट स्योर' भन्न सक्थें र। मैले 'स्ट्रङ्ग एस' दिई टोपलें। उसले अरूलाई दिएर आलमारीमा लगेर थन्क्यायो, बोतल। म हेरेको हेर्यै भएँ।
सहकर्मीको अवकाश बिदाइको त्यस्तै अर्को जमघटमा 'अरू वेला त पिउँछु, तर आज बियर पिउँदिनँ' भनें। अरू सबै आ-आफ्नो खर्चमा प्याला ठड्याएर गफमा मस्त थिए, मैले केही स्न्याक्स मगाएँ। कसैले पनि 'हे यम, खा खा, मरिलानु के छ र' भनेर ढिपी गरेनन्। उनीहरूले 'तेरो नाटकै बढी, ल यो समा, चुप्प लागेर' भनेनन्। मेरो ‘आज नखाने’ तर हिजो-अस्ति र भोलि-पर्सि खाने ‘वैयत्तिक छनोट’ लाई सम्मान गरे। तर, ढिपी गरी गरी, थपी थपी खुवाउने हितैषीको जमर्को नहुँदा बसाइ अलिकता नेपालीपन रहित हुँदो रहेछ।
हामीकहाँ धेरै कुरा लजाउँदै, होइन होइन भन्दै गर्नुपर्छ। खाने-लाउने कुरामा, सम्बन्ध बनाउने कुरामा हामी आफ्ना लागि भन्दा अरूका लागि बढी सोचिदिन्छौं।
हामीकहाँ धेरै कुरा लजाउँदै, होइन होइन भन्दै गर्नुपर्छ। खाने-लाउने कुरामा, सम्बन्ध बनाउने कुरामा हामी आफ्ना लागि भन्दा अरूका लागि बढी सोचिदिन्छौं।
हामीकहाँ पिउने मान्छेले अझै उपहास र दिल्लगीको पात्र हुनुपर्छ, भलै नपिउने मान्छे सयमा पाँच-दश होलान्। कमेडी च्याम्पियनका निर्णायक कलाकार सन्तोष पन्तलाई उनको ह्विस्की पिउने जीवनशैली छ भनेर खेपैपिच्छे यति उडाए कि भनी साध्य छैन। रक्सी खाएर मातेको ढङ्ग निकाल्ने कलाकारको हाँसोखेती मनग्य बिक्दै छ, अझै। भलै त्यो कलाकार साँझ किन नजाओस्, भट्टीमा। लेखक, साहित्यकार, पत्रकार, नेताको रक्सी खान बसेको फोटो भेटेर जम्मै राम्रा कामलाई रक्सीको एकै कपले सखाप भएको देखाउने र ठान्ने, पत्याउने ठूलै जमात छ, अझै।
आदिवासी जनजातिका घर-संस्कारमा त पिउने कुरा घरघरको लघु कारखानामा बन्छ। उनीहरूको जन्म, मृत्यु, जीवन-उत्सव, दु:ख र दोख पन्साउने रीत, विश्वास र परम्पराका हरेक प्रसङ्गमा ‘पिउने कुरा’ नभई चोखिन्न, देउ मान्दैनन्। क्षेत्री, बाहुनलाई जस्तो पिउँदा मान, प्रतिष्ठा आफ्नो सहित परिवार, कुल, खलक र वंश परम्पराको बिग्रिने, खस्किने, खेर जाने पीर उनीहरूलाई हुन्न। हामीलाई जस्तो लुकेर, जोगिएर, खान्नँ खान्नँ लोकाचार, पिउन थाले माना चार गर्नुपर्ने ढोंग उनीहरूलाई छैन।
म लिम्बू गाउँमा जन्में-हुर्किएँ। गाउँमा देखें, बाबुले पिउन मन नगर्ने छोरालाई 'यति थोरै खा' भनेको सुन्दै हुर्किएँ।
पश्चिमाहरू मदिरा पिउने कुरालाई जात र धर्मसँग जोडेर 'यो खानु हुने र नहुने' भनेर हेर्दैनन्। उनीहरूका लागि थकान, तनावबाट मुक्ति पाउन वा पाइन्छ भन्ने बहानामा खाइने जिनिस हो, मदिरा। पाहुना घरमा बोलाउँदा म्यास पोटेटो, रोस्टेड बिफ, बार्बक्युड चिकेन, लजानिया, म्याक्रोनी सलाद आदिसँग पस्किन बिर्को खोलिने थप एक सर्वसुलभ परिकार मात्रै हो, मदिरा।
पिउने चाहिं रमाइलो गर्न जान्ने, जीवनको गुह्य बुझेको, दानी र नपिउने चाहिं लोभी, एकलकाँटे, कुनै स्वाद र शैलीको वैयत्तिकपन नभएको भनेर विभाजन गरिन्न, यता। १६ वर्ष नपुगी किन्न र खान नपाइने कानून बनाइदिएको छ। त्यस उप्रान्त उसको मर्जी।
हाम्रा बुबाआमालाई ‘मतवाली भक्ष’ गरेर सन्तानले मति र जिन्दगी बिगार्लान् भन्ने ठूलो पीर र डर थियो, उवेला। सँगै खेल्दै हुर्किएका साथी कालो सुँगुरको शिकार र एक डबका स्वाट्ट पार्थे। कहिले उनका घर आँगनमा पुग्दा देखिन्थ्यो, कहिले पर्व, चाड र खेताला पर्म पैंचोमा। बुबाआमाले साँझ-बिहानै जाँडरक्सी पारेको, खाएको, पाहुना आउँदा पस्केको, कोसेली ल्याएको, लगेको देखे-भोगेका मेरो पुस्ताका धेरै लिम्बू युवा-युवती त्यो जिनिस पटक्कै नछुने पनि थिए।
बुबाआमाको वैष्णव धर्म अनुष्ठानको संहितामा एक रत्ति दायाँबायाँ नगरी जीवनका पहिला २२ वर्ष बिताएँ। त्यसपछि घरबाट जसै लाखापाखा लागियो, अनि जीवनका तौरतरीका फेरिए।
बुवाआमाको वैष्णव धर्म अनुष्ठानको संहितामा एक रत्ती दायाँबायाँ नगरी जीवनका पहिला २२ वर्ष बिताएँ। त्यसपछि घरबाट जसै लाखापाखा लागियो, अनि जीवनका तौरतरिका फेरिए।
संसारलाई हेर्ने, बुझ्ने, मानव चोला र अन्य प्राणी वनस्पतिको उत्पति र अस्तित्वबारे सोच्न सिकियो। अरूलाई अप्ठ्यारो नहुने गरी जीवन चलाउने संहिता आफैं बनाउन सक्छु कि सक्दिनँ? पाउँछु कि पाउँदिनँ? मैले आफैंलाई चिनें- म कृष्ण, विष्णु र रामले यो भवसागर पार लाउँछन् र उता पारिपट्टि सुखभोग दिलाउँछन् भनेर विश्वास गर्ने ‘सद्गुण धर्म अनुयायी’ हुन र त्यस अनुसारको भोजन संहिता पालना गर्न जन्मेको होइन रहेछु।
त्यस उप्रान्त ‘पिउने कुरा’ नि चाखियो। मांस भोजन पनि सिकियो। 'दिमाग छिप्पिंदै गएपछि बुद्धि आउँछ भन्थे, झन् उल्टो मति पो हुँदो रहेछ कलिजुगमा त,' आमाले एक दिन मेरो खानपानबारे सुइँको पाएर स्वीकृति दिएको जस्तो भावमा भन्नुभयो। 'बाहिर दलेर हिंड्या होइन, भित्र खाएको कुराले आफ्नो छोरो माया मार्न सकिन्छ त?' अन्य उपाय नभएपछि आमाले परिस्थितिलाई आत्मसात् गर्दै कैयौं पटक भन्नुभएको छ। आमाबाट अर्को संकेत सुनिन्छ- आजभोलि नधोक्ने को पो भेटिन्छ र?
'फलानो त मातेर रल्लु भाको देख्या रे मान्छेले' आमाले अझै पनि सुनाउनुहुन्छ। पिउने मान्छेले मुख खोलेपछि खुट्टा टेक्न नसक्ने गरी ‘रल्लु’ नै भएको हुन्छ भन्ने लाग्छ आमालाई। आमाले भने जस्तो धोक्ने र रल्लु हुने गरिएको छैन। तर, बिस्तारै मदिराको शौखीन स्वभाव चाहिं विकसित हुँदै गएको छ।
भरसक कहिल्यै पिउँदै नपिउनु उत्तम हो। होइन भने, पिउने मामिलामा आफूलाई व्यवस्थापन गर्नु अति नै महत्त्वपूर्ण हो। कसैलाई पिकनिक, पार्टी, साथीभाइ जमघटमा त्यो छैन भने के पार्टी, के पिकनिक भन्ने लाग्छ। म भने कैयौं पिकनिक पार्टी मदिरा विना चलाउन सक्छु।
गाउँमा त एउटै जस्तै लाग्थ्याे, यता आएपछि थाहा भयो, मदिरा त कति हुन् कति! क्यानेडियन, अमेरिकन थरी थरी। अचेल त स्कच सिङ्गल माल्ट ह्विस्की, त्यो नि १२ वर्षमाथिको भए मात्रै खाए जस्तो हुन थाल्यो। स्कच ब्लेन्डेड ह्विस्कीमा रेड लेबललाई त कतिले गन्नै छाडे। ब्ल्याक लेबल हुँदै अब डब्बल ब्ल्याक लेबल, ट्रिपल ब्ल्याक लेबलतिर लागे मान्छे। लेबलका पनि रेडबाट शुरू भएर ब्ल्याक, डब्बल ब्ल्याक, ट्रिपल ब्ल्याक, ग्रीन, गोल्ड हुँदै ब्लु लेबल छन्।
कपमा आधा जति आइस भरेर त्यसको टाउकोबाट खन्याउँदा सेतो आइसमा ह्विस्कीको रङ्गले कपभित्र बनाउने गोधूली रङ्गको दृश्य कलाकृति जस्तो लाग्छ।
ह्विस्की पस्किने प्याला पनि ह्विस्कीकै भए राम्रो। अहिले भर्खर ६ वटा ह्विस्की कपको सेट ल्याएको छु। यो निकै राम्रो सौन्दर्य, ठिक्क उचाइ र आकारको छ। यो भिक्टोरियन एराको पातबुट्टे कला कुँदिएको र कपको आधाजसो भागसम्म धमिलो बादले प्रिन्टमा छ, जसले गर्दा आइस नहालीकन पनि कप बाहिर बादल लागे जस्तो देखिन्छ। कपमा आधा जति आइस भरेर त्यसको टाउकोबाट खन्याउँदा सेतो आइसमा ह्विस्कीको रङ्गले कपभित्र बनाउने गोधूली रङ्गको दृश्य कलाकृति जस्तो लाग्छ।
यी ब्रान्ड असाध्यै महँगा भने होइनन्। मध्यम वर्गीयका लागि भने महँगा नै हुन्। मदिरा पसलमा सिसाका आलमारीमा राखिएका ७५० एमएलका बोतल ४० डलरदेखि ५५ हजार डलरसम्मका देखियो।
किन खाने रक्सी?
मदिरापान गर्न थालेको २२ वर्ष नाघ्यो। तर, यो किन खाने, पिउने हो? कुनै गतिलो उत्तर पाएको छैन।
रक्सी पिउनुपर्ने कुनै खास कारण छैन। यसमा शरीरलाई जरुरत हुने पोषक तत्त्व पनि हुँदैन। धेरै खायो र सधैंभरि खायो भने बरु शरीरलाई असर गर्छ। शरीर चलाउने दिमागलाई लठ्याउँछ, रगतमा मदिराको मात्रा बढाउँछ, निद्रा खलबल्याउँछ, कलेजोको हुर्मत काढ्छ।
मदिरा सेवनबारे एउटा श्लोक यस्तो छ:
किन्तु मद्यं स्वभावेन यथैवान्नं तथा स्मृतम्।
अयुक्तियुक्तं रोगाय, युक्तियुक्तं यथाऽमृतं।।
यो श्लोकले भन्छ- किन्तु, मदिरा अन्न जस्तै प्राकृतिक कुरा हो, अधिक सेवन गर्नाले रोग निम्त्याउँछ, उचित मात्रामा खाने हो भने यो अमृत जस्तै हो।
संस्कृतमा लेखिएका सबै कुरालाई देववाणी, अमृतवचन र ढुङ्गाको अक्षर ठान्ने गरिन्छ। समकालीन भाषामा कवि–गजलकारले लेखेका आजका फुटकर गजल, गीत, मुक्तक र कविता जस्तै हुन्, संस्कृतमा लेखिएका त्यो वेलाका कतिपय कुरा पनि।
जो मान्छे पिउँदै पिउँदैन, त्यो मान्छेले जीवनमा एउटा सर्वोत्कृष्ट निर्णय गर्यो। मदिरा नपिएपछि त्यसका कारण हुने सबै टन्टाबाट मुक्त।
तथापि, मदिराको मामिलामा दुई कुरामा प्रस्ट छु। पहिलो, जो मान्छे पिउँदै पिउँदैन, त्यो मान्छेले जीवनमा एउटा सर्वोत्कृष्ट निर्णय गर्यो। मदिरा नपिएपछि त्यसका कारण हुने सबै टन्टाबाट मुक्त। न कसैलाई किन्नुपर्ने बाध्यता, न त्यसका बेफाइदाले बिताउने भो भनेर चिन्ता, न मापसे जाँचको डर। न कुन राम्रो, के सस्तो, के महँगोको मतलब, न त्यसका कारण हुने घर वा बाह्य झगडा, न आज खान मन थियो मौका मिलेन भन्ने थकथकी, न त्यो विनाको कुनै भोज खल्लो।
दोस्रो, जो मदिरा खान्छ, तर त्यसलाई उत्कृष्ट ढङ्गले व्यवस्थापन गर्न सक्छ र मदिराले उसलाई खानबाट जोगिएर बाँच्न सक्छ, त्यो पनि राम्रै जीवन व्यवस्थापन कौशल भएको व्यक्ति हो। मदिरा नशा हो। नशा सेवन कुनै नियममा बाँधिएर बस्न रुचाउने कुरा होइन, तर त्यसलाई लगाम लगाउन सक्नुपर्छ।
अटवा विश्वविद्यालयका प्राध्यापक एवं मिडिया अध्येता साथी भानुभक्त आचार्यको पाहुना हुन चार हजार किलोमिटर टाढाबाट सपरिवार पुगेको थिएँ, एक महीना अघि। उनको घर कृष्ण प्रणामी धर्म संहिता भएको घर हो। बिहान बेलुका नित्य पूजापाठ र भोजन शाकाहारी।
“आउने त भयौ, तर मेरोमा मांस–मदिरा हुन्न भन्ने त तिमीलाई थाहा छ नि?” आपसमा ठट्टामजाक चलिरहने भानुले फोनमै भनेका थिए।
अहिलेको दुनियाँमा यी दुई कुराको बन्दोबस्त नगर्नु र पाहुना बोलाउनु गान्धीवादी र लेनिनवादीलाई एउटै खोरमा थुनेर रमिता हेर्नु जस्तै हो भन्ने लाग्छ कि उनलाई। अथवा, समाजको चलता रथका पाङ्ग्रा अनुसारको गति मिलाउन आफूले नसकिनेमा उनलाई लागेको पीर हो यो।
“के चिन्ता गर्छौ यार, मलाई क्रमभङ्गता खूब मन पर्छ, मैले खोजेको पनि त्यही हो,” मेरो जवाफ थियो।
भानुको घरमा गरिएको एक रात बास र एक छाक भोजनमा मांस र मदिरा नहुँदा, ७५ वर्षकी आमाले पूजाको चन्दन, टीका र प्रसाद दिएर मात्रै भोजन खान दिंदा जति आनन्द भयो, त्यति आनन्द ‘मांस र मदिरा’ भएको भए हुने थिएन। परिवारजनलाई पनि खूब मन पर्यो, यो नेपाली घरको क्यानेडेली पारा।
यो प्रसङ्ग किन निकालें भने पिएर मात्रै रमाइलो हुन्छ भने सही होइन। अहिले दशैं मुखैमा छ। 'दशैंमा पनि नखाए, कहिले खानु' भन्ने कथन घरिघरि सुनिन्छ यो वेला। होशले पिउनुहोस्, जिम्मेवार भएर पिउनुहोस्। शुभ दशैं!
- क्यानडा