पुस्ता होइन, संस्कार परिवर्तन
पाको पुस्ताका नेताहरूबाट आश मरेपछि नेतृत्वमा युवा पुस्तालाई अवसर दिनुपर्ने आवाज उठिरहे पनि संस्कार परिवर्तन नभई केही हुँदैन।
चाहे पनि नचाहे पनि हाम्रो जीवनमा राजनीतिको प्रत्यक्ष वा परोक्ष प्रभाव परिरहेको हुन्छ। स्यानिटरी प्याडमा लगाइने कर, सडकका खाल्डाहरू पुर्न लाग्ने समय, ढलभित्र खसेर एउटा अबोध बालकको ज्यान गएको घटनादेखि कोभिड-१९ विरुद्ध कुन मितिमा कुन खोप लगायौं भन्ने कुरा राजनीतिसँग जोडिएका छन्।
राजनीतिले हाम्रो जीवन निर्दिष्ट गरिरहेको हुन्छ। हामीलाई आफ्नै सङ्घर्षसँग जुधिरहेका छौं भन्ने लाग्छ, तर देशको राजनीतिक पद्धतिले रिँग्याइरहेको हुन्छ। तसर्थ, हामी सबैले राजनीतिमा चासो राख्नैपर्छ।
जुनसुकै आस्था वा विचार बोकेका भए पनि हामीले वडादेखि केन्द्रसम्म सही व्यक्ति छनोट गर्न सक्यौं भने मात्र राजनीतिको माध्यमबाट बाँकी सबै थोक ठीकठाक हुन्छ।
नेताहरूको स्वार्थ, अहं र खिचातानीका कारण हाम्रो देशको राजनीतिक वातावरण दिशाहीन, लथालिङ्ग र अस्थिर छ। राजनीति आफैं सप्रिने वा बिग्रिने विषय होइन। नेतृत्वमा हुने व्यक्तिहरू राजनीतिको मूल मर्ममा इमानदार रहेर सेवाभाव प्रति कटिबद्ध हुन्छन् कि हुँदैनन् भन्ने कुराले फरक पार्छ। जुनसुकै आस्था वा विचार बोकेका भए पनि हामीले वडादेखि केन्द्रसम्म सही व्यक्ति छनोट गर्न सक्यौं भने मात्र राजनीतिको माध्यमबाट बाँकी सबै थोक ठीकठाक हुन्छ।
देशमा व्यवस्था परिवर्तन त भयो, तर नागरिकको जीवनमा अनुभूति गर्न सकिने किसिमको परिवर्तन आएन। नेताहरूको सोच, आचरण र संस्कारमा परिवर्तन हुन सकेन। नेतृत्व तहमा भएकाहरू राज्य सञ्चालन गर्ने कुशल संयन्त्र निर्माण गर्नुको सट्टा बिचौलियाको चङ्गुलमा परे। व्यक्तिगत स्वार्थ र नातावाद हाम्रा नेताहरूको सबैभन्दा ठूलो कमजोरी हो।
पाको उमेरका नेताहरूले धेरै बेइमानी गरे, अब पार्टीको जिम्मा दोस्रो पुस्तालाई दिनुपर्छ भन्ने आवाज उठिरहेको छ। तर, मलाई के लाग्छ भने, पुस्ता परिवर्तनभन्दा पनि महत्त्वपूर्ण कुरा संस्कारमा परिवर्तन हो। युवा पुस्ता नेतृत्व तहमा पुग्दा समाज प्रति बढी जिम्मेवार र जवाफदेही हुन्छ भन्ने अपेक्षा चाहिं राख्न सकिन्छ। कारण, नयाँ पुस्ता ऊर्जाशील र अहिलेको विश्व परिवेश प्रति बढी जानकार हुने हुँदा योग्यता र क्षमता बढी हुन्छ भन्ने आशा राख्नु स्वाभाविक हो। तर, नेतृत्वमा पुस्ता फेरिंदैमा जादू भइहाल्ने हैन।
हाम्रा राजनीतिक दलहरू जुट्ने/फुट्ने क्रम धेरै भयो। नेताहरू पदमुखी हुनु र विभिन्न स्वार्थ पूरा गर्न विदेशी शक्तिलाई चलखेल गर्ने ठाउँ दिनु दलहरू फुट्ने मूल कारण हो जस्तो लाग्छ। हाम्रो भूराजनीतिक अवस्था अनुसार विदेशी शक्तिहरू सलबलाउनु अस्वाभाविक नभए पनि बाह्य प्रभाव र हस्तक्षेपलाई एउटा हदसम्म सीमित गर्न नेपाली राजनीतिक शक्तिहरूले नै निर्णय गर्नुपर्छ।
नेताहरूले हामीलाई धेरै पटक धेरै थरी आश्वासन दिइसके। तिनका कुरा पत्याएर अब पनि बारम्बार बेबकुफ हुनु हुँदैन। सचेत नागरिकले चुनावमा मतको माध्यमबाट गलत नेतृत्वलाई सजाय, सही व्यक्तिलाई अवसर दिनुपर्छ र हरेक विषयमा प्रश्न गरेर जवाफदेही बनाइरहनुपर्छ। पेशागत र सामाजिक सङ्घसंस्थामा समेत पार्टीबाट टिकट दिने हदसम्मको राजनीति हुनु हुँदैन।
यसले ती सङ्घसंस्थालाई मूल उद्देश्यबाट विचलित गराई पार्टीको झोले सङ्गठनको तहमा खस्काइदिन्छ। तसर्थ, विद्यार्थी युनियन, कर्मचारी सङ्गठन, पत्रकार महासङ्घ, खेलकूद सङ्घहरूको चुनावमा पार्टीले टिकट दिए मात्र उम्मेदवार हुन पाउने अवस्था अन्त्य हुनुपर्छ।
कलाकारहरूले राजनीतिक आबद्धता जनाउनु हुँदैन भन्ने होइन। मन परेको व्यक्ति र विचारको पक्षमा उभिन अन्य नागरिकलाई जत्तिकै अधिकार कलाकारलाई पनि छ।
भ्रष्टाचारको मुख्य जरो नै राजनीतिक संरक्षण हो। त्यसो नहुँदो हो भने भ्रष्टाचार शून्यमा झरिसक्थ्यो। दुई-चार जना इमानदार व्यक्तिलाई छोडेर राजनीतिक दलका नेता-कार्यकर्ताहरूले भ्रष्टाचार गर्दैनन् भन्नेमा रत्तिभर विश्वास गर्न सकिने अवस्था छैन।
पछिल्लो पल्ट २०७४ सालको आम चुनावबाट बहुमतको सरकार आउँदा म आशावादी थिएँ। कम्तीमा राजनीतिक स्थिरता हुने भयो, सामान्य नागरिकका लागि आर्थिक रूपले सबल हुने न्यूनतम वातावरण बन्ने भयो भन्ने लागेको थियो। तर, त्यस्तो स्थिरता आएन।
हाम्रो कलाकारिता क्षेत्रमा पनि सरकारको उपस्थिति त देखिन्छ। तर, त्यो उपस्थितिको तात्त्विक प्रभाव देखिंदैन। कागजी जटिलता थप्न, कर उठाउन, आफू अनुकूल व्याख्या गरी कलाको स्वतन्त्रतामा बन्देज लगाउन र आश्वासन बाँड्न बरु सरकारको सक्रियता छ।
कतिपय कलाकारहरू विभिन्न दल र दलका भ्रातृ सङ्गठनमा आबद्ध छन्। निश्चित आस्था वा विचार बोके पनि कला मूलतः स्वतन्त्र हुनुपर्छ। कलाकारहरूले राजनीतिक आबद्धता जनाउनु हुँदैन भन्ने होइन। मन परेको व्यक्ति र विचारको पक्षमा उभिन अन्य नागरिकलाई जत्तिकै अधिकार कलाकारलाई पनि छ। उसको झुकावकै आधारमा उसको कला प्रति समाज पूर्वाग्रही हुनु हुँदैन।