बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री कात्तिक पहिलो साता
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नवौं अधिवेशनमा विश्वासको मतको प्रस्ताव पेश गरेकी छन्। मुख्यमन्त्री शाक्यको विश्वासको मतका लागि आगामी ४ कात्तिकमा प्रदेश सभा बैठक बस्ने भएको छ।
प्रदेश सरकारले आइतबार बोलाएको प्रदेश सभाको नवौं अधिवेशनमा मुख्यमन्त्री शाक्यले विश्वासको मतको प्रस्ताव पेश गरेपछि सदन ४ कात्तिक दिउँसो १ बजेसम्म स्थागित गरिएको सभामुख सानुकुमार श्रेष्ठले बताए। संविधानको धारा १८८ (२) अनुसार शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेकी हुन्।
प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले आइतबार नै विश्वासको मत लिने सम्भावना रहेको चर्चा हुँदै गर्दा सदन स्थगन भएको थियो।
नेकपा (एमाले) विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन्। एमालेका १३ सांसदले विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत दिन लागेकी हुन्।
बागमती प्रदेश सभामा कुल ११० सदस्यमध्ये हाल १०९ सांसद छन्। जसमा एमालेका ४३, नेपाली कांग्रेसका २२, माओवादी केन्द्रका २३, एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र स्वतन्त्र सांसद एक जना छन्।